काठमाडौं। पहाड, हिमाल, तराई भूगोलको नेपालभर यतिबेला गर्मीले हायलकायल पार्दो छ। तराईमा त गर्मीको पारो उकालिँदा जनजीवन नै प्रभावित भइरहेका समाचार सुनिन्छन्। पहाडमा पनि गर्मी उखरमाउलै छ। गर्मी मौसम आउनेबितिक्कै बजारमा शरीरलाई फ्रेस राख्ने फलफूलको माग बढ्दै जान्छ। गर्मी लागेसँगै तरबुजा माग बढिरहेको फलफूल बिक्री आँकडाले पनि देखाउँछ।

तरबुजा क्युकवाइटिक परिवारको सदस्य हो, जसको वैज्ञानिक नाम सिटरुल्लस ल्यान्टुस हो। यो वर्गअन्तर्गत काँक्रा, फर्सी,स्कुसलगायत शरीरलाई चिसो बनाउने बिरुवा पर्छन्। तरबुजा अफ्रिकाको रैथाने बाली हो। नेपालमा तरबुजा खेती झापा, कपिलवस्तु, सिराहा, सर्लाही, धनुषा, महोत्तरी, पश्चिम पहाडलगायत स्थानमा हुँदै आएको छ। नेपालमा मौसमी तरबुजा खेती गर्दा यसको सरदर उत्पादकत्व करिब २५ मेटन प्रतिहेक्टर रहेको कृषि मन्त्रालयको पछिल्लो तथ्यांक छ।
तरबुजामा फाइबर पनि पाइन्छ, जसले पाचनशक्तिको विकास गर्न मद्दत पुर्याउँछ। सरस्वती, लक्ष्मी, किरण, सुगर कुइनलगायत प्रजाति नेपालमा लोकप्रिय छन्। तरबुजा मान्छेको शरीरका लागि धेरै फाइदाकारी मानिन्छ।
यसले शरीरमा पानीको मात्रा पूर्ति गर्नुका साथै छालामा चमक ल्याउने स्वास्थ्यविद् बताउँछन्। तरबुजामा भिटामिन, क्याल्सियम, सोडियम, म्याग्नेसियम, पोटासियम, क्लोरिन, भिटामिन बी ६, सुक्रोज, फ्रुक्तोज, ग्लुकोजलगायत तत्त्व प्रशस्त मात्रामा पाइन्छन्।

तरबुजा खाँदाका फाइदा
छालामा चमक
खरबुजा खानाले शरीरिक फाइदा पुर्याउनुका साथै छालामा चमक ल्याउँछ। यसमा पाइने एन्टी एक्सिडेन्टले त्वचामा आउने रुखोपनलाई हटाउनुका साथै थकान मेटाउँछ। खरबुजाको टुक्रा अनुहारमा वा छालामा लगाउनाले चमक आउँछ।
तौल घटाउँछ
खरबुजाले तौल घटाउनमा पनि मद्दत गर्छ किनकि यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ। यसमा पानीको मात्रा धेरै हुने हुनाले पेट भरिनुका साथै तौल पनि बढ्दैन।
क्यान्सरबाट जोगाउँछ
खरबुजाले शरीरका धेरै प्रकारका क्यान्सर निको बनाएको विभिन्न शोध र अनुसन्धानले पत्ता लगाएको छ। यो फलफूल प्रोटेस्ट क्यान्सर, ब्रेस्ट क्यान्सरलगायत पेटको क्यान्सरमा धेरै फाइदाकारी मानिन्छ।
मृगौलाका लागि
खरबुजाले मृगौला बिरामीका लागि पनि फाइदा दिन्छ। यसमा रहेका अनेक प्रकारका भिटामिनले किड्नी रोगीलाई फाइदा पुर्याउँछ। त्यसकारण गर्मीमा कोल्ड ड्रिंक्स पिउनुभन्दा खरबुजा खानु उत्तम हुन्छ।
आँखाका लागि फाइदा
तरबुजा बेटा क्यारोटीनले भरिपूर्ण हुन्छ, जसले शरीरमा ‘भिटामिन ए’ को कमी पूरा गर्छ। भिटामिन ए’े आँखाको ज्योति बढाउनुका साथै आँखामा आउने धेरै प्रकारका इन्फेक्सनबाट बचाउँछ। यही कारण गर्मीमा नियमित रुपमा तरबुजा खानु स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छ।
-1747466517.webp)
यसरी गर्नुस् खेती
तरबुजाको बिरुवा पिट्मोस अथवा पोली ब्यागमा जमाइन्छ। पिट्मोस तरबुजाका बिजको अंकुरणका लागि राम्रो माध्यम हो। यसले बिरुवालाई चाहिने पोषक तत्त्व ३५ दिनसम्म दिन सक्छ। सामान्यतया एक कठ्ठामा बिरुवा उब्जाउन १.५ केजी पिट्मोस चाहिन्छ। यसलाई बिरुवा उब्जाउने ट्रेमा राखेर प्रयोग गर्न सकिन्छ। बेर्ना २०–२५ दिनमा सार्न तयार हुन्छ ।
बिउ
तरबुुजा खेती गर्न एक हेक्टरका लागि ३०० देखि ३५० ग्राम बिउ आवश्यक पर्दछ। बिउलाइ एक रातभरि पानीमा भिजाउने र छायामा सुकाउनाले बिरुवा छिटो उम्रने सम्भावना बढाउँछ। बिज अंकुरण हुन ५–६ दिन चाहिन्छ। उचित सूर्य किरण र सिंचाइको तालमेल मिलाउनुपर्छ।
माटो

तरबुजाका लागि प्रांगारिक वस्तुमा प्रशस्त बलौटे दोमट माटो सबैभन्दा राम्रो मानिन्छ। योसँगै बेर्ना सारिएको जमिनमा जल निकासको उचित व्यवस्था हुनु जरुरी हुन्छ। यो बिरुवाबाट १८ देखि ३५ डिग्रीभित्रको तापक्रममा राम्रो उत्पादन लिन सकिन्छ
रोप्ने समय
तरबुजा गर्मीयामको लोकप्रिय फल हो। त्यसकारण यसलाई विशेषतः फागुन–चैतभित्र लगाइन्छ। एउटा ड्याङदेखि अर्को ड्याङसम्मको दूरी ४ फिट र एउटा बोटदेखि अर्को बोटसम्मको दूरी २ फिट हुन्छ । तरबुजा धेरै हाँगा फैलिने फल हो। यसको बोटमा विभिन्न किसिमका हाँगा हुन्छन्, जुन ४ मिटर उचाइसम्म पनि पुग्न सक्छ।
तसर्थ, बिरुवामा लाग्ने पौष्टिक तथा प्राविधिक जुनसुकै किसिमको खर्च बचाउन, तरबुजामा काँटछाँट आवश्यक क्रियाकलाप मानिन्छ। काँटछाँट गरिँदा अन्य हाँगामा लाग्ने अनावश्यक खर्च जोगाउन सकिन्छ।
छिटो समयमा उत्पादन हुने र राम्रो आम्दानी दिने भएका कारण पछिल्लो समयमा तरबुजा खेती फस्टाएको छ। उचित मलजलको व्यवस्थापन र समयमै किरा र रोग नियन्त्रण गर्ने हो भने यो खेतीबाट किसानले धेरै लाभ लिन सक्छन्।