काठमाडौं। पछिल्लो समय भारत र टर्किबीचको सम्बन्धमा दरार आएको छ। पाकिस्तान प्रशासित काश्मिरमा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानमाथि कारबाही गरेसँगै टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले पाकिस्तानलाई समर्थन जनाउँदै भारतको कदमको आलोचना गरेपछि दुई देशबीचको सम्बन्धमा दरार आएको हो।
दुई देशबीच चिसिएको कूटनीतिक सम्बन्धले व्यापार, पर्यटन र उद्योग क्षेत्रहरूमा प्रत्यक्ष असर पारेको देखिएको छ। पाकिस्तानप्रति टर्कीको खुला समर्थन र भारतीय सुरक्षामा चिन्तासँगै भारतले टर्कीविरुद्ध कडा कूटनीतिक, आर्थिक र सांस्कृतिक कदम चाल्न थालेको छ।
भारतमा टर्कीका वस्तुहरूको बहिष्कार अभियानले तीव्रता पाएको छ। टर्कीबाट आयात हुने स्याउ, मार्बललगायतका वस्तु बहिष्कारमा परेका छन्। भारतको वाणिज्य मन्त्रालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो ११ महिनामा भारत–टर्की व्यापार करिब १५ प्रतिशतले घटेको छ। त्यस्तै, टर्कीबाट आयात १७.२५ प्रतिशतले घटेको जनाइएको छ।
नेपाललाई हुन सक्छ फाइदा
भारत र टर्कीबीचको सम्बन्ध चिसिरहेको बेला नेपालले कूटनीतिक पहल गरी टर्कीबाट आयात हुँदै आएको कृषिजन्य उत्पादनहरु नेपालबाट निर्यात गर्न सक्छ। खासगरी टर्कीबाट भारतमा आउने स्याउको बजार नेपालले सहजै लिन सक्ने व्यवसायीहरुको भनाइ छ।
भारतीय बजारमा पाइने टर्कीको स्याउको ठाउँमा नेपालबाट निर्यात गर्ने विषयमा कूटनीतिक पहल गर्न आवश्यक रहेको मुस्ताङका व्यवसायी सोनाम लामाको भनाइ छ।
‘सरकारले कूटनीतिक पहल गरेर भारतले नेपालको स्याउ सतप्रतिशत लिने सहमति गरे हामी निर्यातका लागि तयार छौं’, व्यवसायी लामाले भने, ‘अहिले दुई मुलकबीच सम्बन्ध चिसिरहेको बेला फाइदा लिने बेला हो, हामी निर्यातका लागि तयार छौं।’
डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, रुकुम, मनाङ र मुस्ताङ जिल्लामा सबैभन्दा बढी स्याउखेती हुन्छ। ती जिल्लामा उत्पादन हुने स्याउहरु भारत निर्यात गर्न सके ठूलो मात्रामा आम्दानी गर्न सकिने व्यवसायीहरु बताउँछन्।
सरकारले नै निर्यातको लागि पहल गरे अझै अरु किसानहरु समेत स्याउखेतीमा आकर्षित हुनसक्ने स्याउ किसान सुमन थकालीको भनाइ छ। राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ५२ हजार ७ सय ८४ टन स्याउ उत्पादन भएको थियो।
केन्द्रको तथ्यांकअनुसार मधेस प्रदेशबाहेक सबैतिर स्याउको उत्पादन हुने गर्छ। तर, वर्षमा चार महिना मात्रै स्याउ उत्पादन हुने गरेको छ। सय हेक्टरभन्दा बढी क्षेत्रफलमा स्याउखेती हुने १६ जिल्ला रहेका छन्।