काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय गाडी (इभी)मा कर बढाउने भएको छ। सरकारले विद्युतीय गाडीमा औसतमा १५ प्रतिशत हाराहारी कर वृद्धि गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।
त्यसैगरी, व्यक्तिगततर्फको आयकरको सीमा तथा स्ल्याब फेरबदल गर्ने भएको हो। सरकारले ३९ प्रतिशतको सीमालाई घटाउने र ६ लाखसम्म १ प्रतिशत मात्रै कर लाग्ने सीमालाई बढाउने गृहकार्य भइरहेको छ।
खास गरी, मध्यम वर्गलाई लक्षित गरी सरकारले आयकरको स्ल्याब बढाउन लागेको हो। भारतले १२ लाख रुपैयाँसम्म आम्दानी गर्दा शून्य कर निर्धारण गरेपछि नेपाल सरकारले पनि मध्यम वर्गलाई राहत हुने गरी छुटको स्ल्याब वृद्धि गर्न लागेको हो।
त्यसैगरी, व्यक्तिगततर्फको आयकरको ३९ प्रतिशत सीमा पनि अत्यधिक भएको भन्दै सरकारको आलोचना भइरहेका बेला त्यसमाथि पनि हेरफेरको तयारी भइरहेको हो।
त्यसैगरी, सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत घरजग्गा र सेयरमा पनि क्यापिटल गेन ट्याक्स बढाउने भएको हो। सेयर कारोबारमा अहिले ५ प्रतिशत र साढे ७ प्रतिशत क्यापिटल गेन लाग्दै आएको छ। त्यसलाई बढाउने योजानमा सरकार छ।
अहिले पाँच वर्षभन्दा पुरानो घरजग्गा बिक्री गर्दा ५ प्रतिशत क्यापिटल गेन लाग्छ भने त्यसभन्दा मुनी अवधिमै कारोबार गर्दा ७.५ प्रतिशत कर लाग्छ। तर, कम्पनीका हकमा भने १.५ प्रतिशत लाग्छ।
सरकारले राजस्वका नयाँ क्षेत्र खोज्ने बताए पनि आगामी आर्थिक वर्षको बजेटमा त्यस्तो कुनै छनक आउने देखिँदैन। सरकार नयाँ क्षेत्र खोज्न्भन्दा पनि भइरहेकै क्षेत्रमा करका दर हेरफेर गर्ने तयारीमा छ।