काठमाडौं। सरकारले बिहीबार सार्वजनिक गर्न लागिएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारी साधन (ईभी)मा कर बढ्ने सम्भावना रहेको अड्कलबाजीसँगै मंगलबार राजधानीका प्रमुख कार शोरूममा ईभी खरिदकर्ताको भीड देखिएको छ।
बिवाईडी, एमजी, टाटा, डिपाल, क्रेटा, नामी, ओमोडा, एक्सपेङलगायतका ईभी ब्रान्डका शोरूममा कार खरिद गर्ने र बुक गर्ने ग्राहकको अत्याधिक चाप परेको हो।
अर्थ मन्त्रालयबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार यो वर्ष ईभी कारको भन्सार तथा अन्तःशुल्क दर समायोजन गर्ने तयारी भइरहेको छ। गत वर्ष भित्रिएका सस्तो मूल्यका चिनियाँ ईभी कारहरूले नेपाली बजारमा उल्लेखनीय हिस्सा ओगट्न थालेपछि सरकारले कर संरचना परिमार्जन गर्ने संकेत दिएको छ।
‘आज एकै दिनमा हाम्रो शोरूममा ५० भन्दा बढी गाडी बुक भए,’ काठमाडौं नक्सालस्थित एक ईभी बिक्रेताले भने, ‘सबैले कर बढ्न सक्छ भनेर आजै किन्न आतुर देखिए।’
बजेटमा कर बढ्न सक्ने भन्दै अधिकांश ईभी कार बिक्रेताहरुले प्रिबजेट अफरसमेत सार्वजनिक गर्दै क्याम्पिएन गरेको थियो। त्यसैको फलस्वरुप बजेट सार्वजनिक हुनु एक दिनअघि उपभोक्ताहरु गाडी खरिद र बुकिङका लागि सोरुममा पुगेका हुन्।
सबैभन्दा बढी गाडीको सोरुम रहेको नक्साल र थापाथली क्षेत्रमा बुधबार दिनभरि ग्राहकको आवातजावत बाक्लो रहेको व्यवसायीहरुको भनाइ छ। ‘अन्तिम समयमा आएर बुक गर्ने र डेलिभरी गर्नेहरुको संख्या धेरै थियो,’ थापाथलीमा संचालित एक ईभी सोरुमका प्रतिनिधिले भने, ‘गाडीपछि डेलिभरी गर्ने भए पनि बिल काट्नेहरुको संख्या पनि धेरै थियो।’
ईभी क्षेत्रमा सक्रिय व्यापारीका अनुसार कर बढ्ने संकेतले तत्कालका लागि ईभी बजार तातिएको छ। आगामी दिनमा मूल्य बढ्ने सम्भावनाले बिक्री प्रभावित हुन सक्ने चिन्ता पनि व्यापारीले व्यक्त गरेका छन्।
सरकारले ईभीलाई प्रवद्र्धन गर्ने नीति लिइरहे पनि राजस्व संकलनको चापसँगै बजेटमा केही समायोजन आउन सक्ने अनुमान गरिएको छ। अब बिहीबार संसद्मा सार्वजनिक हुने बजेटले यो अड्कललाई पुष्टि गर्छ कि खण्डन भन्ने स्पष्ट हुनेछ।