काठमाडौं। २००८ साल माघ २१ मा कांग्रेस नेता तथा तत्कालीन अर्थमन्त्री सुवर्णशमशेर जबराले नेपालको पहिलो बजेट सार्वजनिक गरेको इतिहास छ। २००८ पछि इतिहास पछ्याउँदै हालसम्मका सरकारले चालू आर्थिक वर्षको खर्च, आम्दानी सार्वजनिक गर्दै आएका छन्।
२००८ अघि सरकारी आम्दानी र खर्चको आधिकारिक विवरण प्रस्तुत गर्ने अभ्यास थिएन। अतः सुवर्णशमशेरले पेस गरेको बजेट नै नेपालको पहिलो आधिकारिक आय–व्यय विवरण मानिएको हो।
सुवर्णशमशेरको पहिलो बजेट वक्तव्यमा भनिएको थियो– ‘यसअघि, मुलुकको आम्दानी र खर्चको विषय कसैलाई जानकारी थिएन भन्ने कुरा तपाईंहरूलाई विदितै छ। अब त देशमा प्रजातान्त्रिक सरकार गठन भएकाले देशभर के–केमा खर्च हुन्छ भन्ने जानकारी सरकारबाट पाउने हक जनतालाई छ। त्यसैअनुरुप हामी नेपाली कांग्रेसको सरकारले यो बजेट ल्याएको हो।’
बजेट पेस गर्दा अर्थमन्त्री जबराले भनेका थिए, ‘प्रजातन्त्र स्थापना भएपछि अर्थमन्त्रीको हैसियतमा आज नेपालको इतिहासमा सर्वप्रथम बजेट तपाईंहरूको सामुन्ने पेस गर्न पाउँदा आफूलाई गौरवान्वित सम्झन्छु। विगतमा बजेटसम्बन्धी तथ्यांक नहुँदा देशको आर्थिक पारदर्शिता अभावमा परेको थियो। अब त्यस्तो हुँदैन।’
अर्थमन्त्रीका रुपमा सुवर्णशमशेरले बजेट प्रस्तुत गरे पनि बजेट लेखनको भूमिकामा हिमालयशमशेर जबरा थिए। उनी उबेला अर्थसचिव थिए। उनी पनि नेपालकै पहिलो अर्थसचिव हुन्।
नेपाल राष्ट्र बैंकका पहिलो गर्भनरसमेत रहेका जबराको २०७९ माघमा निधन भइसकेको छ। नेपालमा आधुनिक बैंकिङ र आर्थिक प्रणाली विकासमा जबराले भूमिका अहिले पनि सम्झिइने गरिन्छ। जबराले तयार गरेको पहिलो बजेटको आकार ५ करोड २५ लाख रुपैयाँको थियो।
प्रधानमन्त्री मातृकाप्रसाद कोइराला नेतृत्व सरकारले ल्याएको उक्त बजेट केवल ३ हजार ४ सय ८९ शब्दको थियो।
यस्ताे थियाे २००८ काे बजेट