काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट केही घन्टापछि सार्वजनिक गर्दै छन्। जेठ १५ मा बजेट ल्याउनैपर्ने कानुनी व्यवस्थाका कारण आज सरकारले राजस्व र व्ययको वार्षिक अनुमान संसद्बाट सार्वजनिक गर्न लागेको हो।
बजेट संसद्बाट सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद्ले अनुमाेदन गर्नुपर्ने कानुनी व्यवस्थाका कारण केही बेरपछि सिंहदरबारमा बैठक बस्दै छ।
सत्तापक्ष/प्रतिपक्षबीच भिजिट भिसा प्रकरणका कारण संसद् अवरुद्ध हुँदै आए पनि बजेटका लागि आजको बैठक सुचारु हुने वचन विपक्षी दलले दिइरहेका छन्। यसका लागिग अपरान्ह ३ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ।
आजको संसद् बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण र बजेट एकै दिन सार्वजनिक गर्नेछन्। विद्युतीय सवारीको आयात कर र निजामती कर्मचारीको तलब बढाउने गरी बजेट सार्वजनिक गर्ने अन्तिम तयारीमा यतिबेला अर्थमन्त्री पौडेलले गृहकार्य गरिरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
निजी क्षेत्रको मनोबल बढाउने गरी बजेट ल्याउने भनिए पनि ईभी सवारी आयातमा कर बढ्ने हल्लासँगै व्यवसायीले आर्थिक वर्ष अन्त्यतिर हजारौंको संख्यामा बिजुली सवारीसाधन भित्र्याइसकेका छन्।
काठमाडौंबाट प्रचारित/प्रसारित सञ्चार माध्यम केहीले ईभीमा १० प्रतिशत र केहीले २० प्रतिशत कर बढ्ने अनुमानसहितका खबर छापेका छन्। यस्तै, निजामती कर्मचारीको तलब पनि १० देखि १५ प्रतिशतसम्म बढ्ने स्रोतलाई उद्धृत गर्दै पूर्वानुमान गरिएका छन्।
सरकारले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा जलविद्युत् आयोजनालाई राखेकाले विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीलाई थप विश्वसनीय बनाउन निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गरिने घोषणा हुनेछ।
बजेटमा सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यावसायिकीकरण गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिनेछ। रासायनिक मलको सहज आपूर्ति व्यवस्था र प्रांगारिक मलको उत्पादनलाई प्रोत्साहित गरिने भएको छ।
आधा दर्जन बढी नीतिमार्फत वित्तीय क्षेत्रको सुदृढीकरण कार्ययोजना बनाइने घोषणा सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
बजेट अनुमान पनि सञ्चार माध्यमअनुसार फरक-फरक सार्वजनिक गरिएका छन्। कतै २० अर्ब हाराहारी बजेट ल्याइने भनिएकाे छ भने कतै १९ अर्ब वरपरकाे अाउने भनिएकाे छ।