काठमाडौं। विदेशबाट हुने निर्यात निरुत्साहन र स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले मदिरा बनाउन प्रयोग हुने स्प्रिटको कच्चा पदार्थमा कर बढाएको छ।
विदेशमा सस्तोमा स्प्रिट ल्याउँदा मुलुकभित्रका उद्योग संकटमा परिरहेका बेला सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा करको दर हेरफेर गरेको हो।
अब स्प्रिटको कच्चा पदार्थ आयातमा प्रतिलिटर ९० रुपैयाँ लाग्ने भएको छ। यसअघि स्प्रिटको कच्चा पदार्थ आयात गर्दा प्रतिलिटर ५० रुपैयाँ लाग्दै आएको थियो।
उद्योगी शशिकान्त अग्रवालले सरकारले स्प्रिटको कच्चा पदार्थ आयातमा बढाएको करले स्वदेशी उद्योगलाई ठूलो फाइदा हुने बताए। ‘विदेशबाट सस्तोमा आयात हुँदा मुलुकभित्र उत्पादन हुने स्प्रिटले बजार पाउन सकिरहेको थिएन,’ उद्योगी अग्रवालले भने, ‘सरकारको यो निर्णयले स्वदेशी उद्योगलाई ठूलो राहत पुग्छ।’
सरकारको अहिलेको निर्णयले वर्षौंदेखि खेर गइरहेको चिनी उद्योगबाट उत्पादन हुने मोलासिसले पनि बजार पाउने उद्योगीको भनाइ छ। हाल नेपालमा स्प्रिट उद्योग ६ देखि ८ वटा सञ्चालनमा छन्। तर, ती उद्योगले स्वदेशी उत्पादनको मूल्य महँगो पर्ने हुँदा बाहिरबाट ल्याउँदा सस्तो भएकाले संकटमा परिरहेका थिए।
मदिराको मूल्य बढ्छ– मदिरा उत्पादक संघ
यता मदिरा उत्पादक संघका पूर्वअध्यक्ष रवि केसीले भने स्प्रिटको कच्चा पदार्थमा बढाइएको करले मदिराको मूल्य बढ्ने बताए। नेपालमा उत्पादन हुने स्प्रिट प्रिमियम खाले नहुने हुँदा विदेशबाट आयात भइरहेकाले महँगो हुँदा मदिराको मूल्य बढ्ने निश्चित भएको उनको भनाइ छ।
‘स्वदेशमा उत्पादन हुने मदिरा उद्योगमा सरकारको यो निर्णयले ठूलो असर गर्छ,’ पूर्वअध्यक्ष केसीले भने,‘आयातकर्तालाई ठूलो घाटा लाग्छ।’ खासगरी स्प्रिट भोड्का र ह्वीस्कीलगायतका मदिरामा प्रयोग हुँदै आएको छ।