काठमाडाैं। तपाईं काठमाडौं उपत्यकाभित्र कुनै पनि विशेष वस्तु वा सामान खोजीमा अनेकौं ठाउँ भौतारिँदै हुनुहुन्छ? या एकथरी सामान किन्न हरेक ठाउँ पुगेर हैरानीमा पर्नुभएको त छैन। यदि, त्यसो भए आफूलाई चाहिएको सामान एकै ठाउँ पाइयोस् भन्ने चाहना राख्नुभएको छ भने काठमाडौंका यी ठाउँ हुन सक्छन्, तपाईंका लागि उपयुक्त किनमेल (बिजनेस) गन्तव्य।
कुनै ठाउँ अटो व्यवसायले भरिएका छन् भने कुनै ठाउँ कपडाका लागि गुल्जार मानिन्छ। केही ठाउँले वर्षांैदेखि तरकारी बजारको रुपमा मानक बनाउँदा केही पार्टपुर्जाका लागि उपयुक्त मानिन्छन्।
हरेक क्षेत्रमा भिन्न/भिन्न व्यवसायले आफ्नो प्रभुत्व जमाएर बसेका छन्, काठमाडौंमा। एक ठाउँमा एउटा व्यवसाय हबको एकछत्र राज देख्न सकिन्छ। एक ठाउँ मोबाइल हबको रुपमा परिचित हुँदा अर्काे ठाउँ लत्ताकपडा रुपमा परिचित छ।
विशेषगरी हबमा किनबेचका लागि जाँदा विकल्प धेरै हुन्छन्। अर्थात्, आफूले चाहेको सामग्री छानीरोजी लिन सकिन्छ। मूल्यदेखि गुणस्तरसम्मका विकल्प धेरै हुन्छन्। एकै ठाउँ एकै किसिमका व्यवसाय हुँदा ग्राहकलाई सामान खरिद र अवलोकन गर्न सहज हुन्छ।
थापाथली/नक्साल अटो
पछिल्लो समय काठमाडौं उपत्यकाको अटोमोबाइल हबको रुपमा परिचित छन्, थापाथली र नक्साल। यी ठाउँमा धेरै ब्रान्डका सोरुम, सर्भिस सेन्टर, चार्जिङ स्टेसन छन्। नेपालमा उपलब्ध अधिकांश ब्रान्डका सोरुम थापाथली र नक्सालमा छन्।

डिजेल/पेट्रोल र ईभीका नयाँ तथा पुरानो सबै ब्रान्डका सोरुमका लागि रोजाइमा थापाथली र नक्साल पर्दै आएका छन्। सडक नजिकका अधिकांश सटर अटो ब्रान्डले नै ओगटेका कारण यी ठाउँलाई अटो हबको रुपमा चर्चा गर्न थालिएको छ। एक हिसाबले दर्जनौं ब्रान्डका क्रेता र बिक्रेतालाई हरेक प्रकारका ‘अप्सन’ त्यहाँ छन्।
चारपांग्रे सवारीसाधनका दुई दर्जन ब्रान्डको सोरुम थापाथलीमा उपलब्ध छन्। नयाँ ब्रान्ड होस् या पुरानो। अधिकांश सोरुम थापाथलीमा भएकाले यो क्षेत्रलाई अटो हबको रुपमा लिने गरिएको छ। एउटा सोरुममा गाडी हेर्न आएको मानिस नजिकै अर्काे सोरुम छ भने त्यहाँ पनि जाने भएकाले अधिकांश कम्पनीले एकै ठाउँ सोरुम विस्तार गरिरहेका छन्।
सडक नजिकका अधिकांश सटर अटो ब्रान्डले नै ओगटेका कारण यी ठाउँलाई अटो हबको रुपमा चर्चा गर्न थालिएको छ।
थापाथलीमा आयोन, एक्सपेङ, स्मार्ट, नेटा, दायुन, रिडारा, फोर्ड, काई, निसान, हुन्डाई, टाटा, लिपमोटर, सिट्रोन, स्कोडा, एमजी, सुजुकी, महिन्द्रा, किया, जीकर, जीएमडब्लु, रेनल्टलगायत गाडीका सोरुम छन्। थापाथलीमा सिजी मोटर्सले मात्रै बिक्री गर्ने पाँच वटा सोरुम छन्। उक्त सोरुममा ३० लाखदेखि सवा १ करोड रुपैयाँसम्मका गाडी पाउन सकिन्छ।
थापाथलीपछि नक्साल क्षेत्र अटो हबको रुपमा विस्तारित हुँदै गएको छ। नक्सालमा नेपाल भित्रिएका करिब सबै ब्रान्डका सोरुम सञ्चालनमा छन्। नक्साल क्षेत्रमा चारपांग्रे सवारीसाधनका मात्र नभई दुईपांग्रेका पनि धेरै सोरुम सञ्चालनमा छन्। नक्सालमा बिवाईडी, डिपल, सेरेस, नामी, एमजी, सुबारु, बीएडब्लु ब्रम्बीलगायत ब्रान्डका सोरुम नक्सालमा छन्। नेपालमा ईभी गाडीको वर्चस्व बढेसँगै अधिकांश कम्पनीले सोरुम विस्तार गर्न थापाथली र नक्साललाई रोज्दै आएका छन्। थापाथलीमा चारपांग्रे सवारीका मात्र सोरुम उपलब्ध छन् भने नक्सालमा दुईपांग्रे सवारीसाधनका सोरुम छन्।
थापाथली र नक्सालपछि भक्तपुरको राधेराधे क्षेत्र अटो व्यवसायीको रोजाइमा पर्न थालेको छ। अटो मोबाइल्स बजार विस्तार हुँदै जाँदा उपत्यकाका अन्य ठाउँ पनि अटो हबको रुपमा विकसित भइरहेका छन्। त्यसैमध्येमा एक हो– भक्तपुरको राधेराधे। आजका दिनमा नयाँ सवारीसाधन खरिदका लागि नक्साल र थापाथली स्थापित एवं व्यवस्थित गन्तव्य बनिरहेको अवस्थामा नयाँ अटो हबको रुपमा राधेराधे पनि थपिएको छ, जहाँ अधिकांश अटो ब्रान्ड उपस्थित छन्।
अझ विद्युतीय गाडीको सोरुम खुल्नेको लर्को देख्न सकिन्छ। सहरका अन्य ठाउँमा भीडभाड बढ्दै गएपछि आफ्नो ब्रान्डको नेटवर्क विस्तार गर्न तथा सहज ठाउँको खोजीमा एकपछि अर्को गर्दै दर्जनौं ब्रान्ड भक्तपुरको राधेराधे पुगिसकेका छन्।
दरबार/कुमारीपाटी ‘ब्रान्डेड सप’
कुनै ब्रान्डेड कपडा वा सामान खरिद गर्नुपरे तत्कालै दिमागमा आउने पहिलो गन्तव्य हो, दरबारमार्ग। खासगरी ब्रान्डेड कपडा, जुत्ताचप्पलसहित घडी खरिद गर्न चाहनेका लागि दरबारमार्ग लोकप्रिय बनिरहेको छ। तिनै ग्राहकलाई लक्षित गरी दरबारमार्ग क्षेत्रमा विभिन्न ब्रान्डका रेस्टुरेन्टसमेत सञ्चालनमा छन्।
पछिल्लो समय ललितपुरको कुमारीपाटी क्षेत्र पनि ब्रान्डेड सपको हबको रुपमा विस्तार भइरहेको छ। ब्रान्डप्रति सचेत हुने एवं त्यहीँ खाले सामान खरिद गर्न चाहनेका लागि दरबारमार्ग र कुमारीपाटी परिचित छ।
नारायणचौर ‘मोटरसाइकल/स्कुटर’
काठमाडौंको नक्साल नारायणचौर क्षेत्रमा मोटरसाइकल र स्कुटर सोरुम व्यवसाय अहिले निकै लोकप्रिय भएको छ। यस क्षेत्रमा दुईपांग्रे सवारीका सोरुम छन्, जसले विभिन्न ब्रान्डका मोटरसाइकल र स्कुटर बिक्री गरिरहेका छन्।
नारायणचौर क्षेत्र दुईपांग्रे सवारी व्यापारका दृष्टिकोणले अनुकूल रहेका कारण अटो व्यवसायीको रोजाइमा पर्दै आएको छ। यहाँ मोटरसाइकल र स्कुटरका पुराना स्थापितदेखि नयाँ ब्रान्डका विभिन्न सोरुम उपलब्ध छन्। यहाँ एउटै क्षेत्रमा नेपाल भित्रिएका अधिकांश मोटरसाइकल तथा स्कुटरका सोरुम पाउन सकिन्छ।
नेपालमा दुईपांग्रे सवारीसाधन ब्रान्ड थपिँदै जाँदा नक्सालको नारायणचौर क्षेत्र सोरुम विस्तारका लागि सबैको रोजाइमा परेको छ।
स्थापित ब्रान्डदेखि नयाँ भित्रिएका ब्रान्डको यस क्षेत्रमा सोरुम देख्न सकिन्छ। यहाँ होन्डा, यामाहा, सुजुकी, हिरो, टीभीएस, बजाजलगायत नेपालमा उपलब्ध ठूला र स्थापित ब्रान्डदेखि केही वर्षअघि मात्र भित्रिएका नयाँ ब्रान्ड गोगोरो, एथर, लुयान, निउ, रोयल इन्फिल्ड आदिका सोरुम खोलिएका छन्।
नेपालमा दुईपांग्रे सवारीसाधन ब्रान्ड थपिँदै जाँदा नक्सालको नारायणचौर क्षेत्र सोरुम विस्तारका लागि सबैको रोजाइमा परेको छ। यस क्षेत्रको सोरुमले नयाँ एवं पुराना मोटरसाइकल र स्कुटर बिक्री, भाडामा दिने, सर्भिसिङ र पार्टस् सप्लाइ पनि गर्छन्। ग्राहकले रोजीछानी धेरै ब्रान्ड हेर्न र खरिद सुविधा पाउँछन्। साथै, नारायणचौरको नजिकैका अन्य व्यापारिक क्षेत्र र ट्राफिक कनेक्टिभिटीले पनि सोरुम व्यवसायलाई लाभ पुर्याउँछ।
ग्राहक आकर्षित गर्न र प्रतिस्पर्धामा रहन यहाँका सोरुमले प्रायः आकर्षक अफर, डिस्काउन्ट र सर्भिस वारेन्टी पनि दिइरहेका हुन्छन्। यस क्षेत्रमा मोटरसाइकल र स्कुटर सोरुम व्यवसायका लागि बजार सम्भावना राम्रो देखिएको छ।
टेकुमा हेलमेट/पार्टस्
टेकु हेलमेट तथा पार्टस् व्यवसाय हबको रुपमा परिचित छ। यस क्षेत्र हेलमेट र यससँग सम्बन्धित पार्टस् व्यवसायका लागि प्रमुख केन्द्रको रुपमा स्थापित भएको छ। यहाँ मोटरसाइकल पार्टस्का थोक बजार र पसल ठूलो संख्यामा छन्। टेकुमा हेलमेट, टायर, मोटरसाइकल तथा स्कुटरका पार्टस् पाउनुका साथै बाइक मोडिफाइ गर्न पनि यो क्षेत्र परिचित छ।

दुईपांग्रे सवारीका लागि आवश्यक पर्ने पार्टस्का सामान खरिदका लागि टेकु उपयुक्त रहेको छ। टेकु क्षेत्रमा दर्जनौं सटरमा दुईपांग्रे सवारीका पार्टस् देख्न सकिन्छ। दुईपांग्रे सवारीको बजार बढ्दै जाँदा पार्टस् बिक्रेता व्यवसायी पनि बढ्दै गएका छन्।
पार्टस् व्यवसायका लागि सबैको रोजाइमा टेकु क्षेत्र पर्ने गरेको छ। यो स्थान व्यावसायिक दृष्टिकोणले अन्य ठाउँमा फैलिएका पसल र गाडीका पार्टस् आपूर्तिका लागि महत्त्वपूर्ण केन्द्रको रुपमा परिचित छ।
बागबजार/पुतलीसडक ‘कन्सल्टेन्सी’
पछिल्लो समय विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीका लागि अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापान प्रमुख गन्तव्य बनेका छन्। विशेषगरी ती कलेजसँग सम्झौता गरी विद्यार्थीलाई विदेश अध्ययनका लागि उपयुक्त परामर्श दिन कन्सल्टेन्सी धेरै सञ्चालनमा छन्।
पुतलीसडकदेखि बागबजारसम्मको क्षेत्र कन्सल्टेन्सी हबको रुपमा परिचित छ। एउटै घरमा ५–७ वटासम्म कन्सल्टेन्सी सञ्चालन हुँदै आएकाले विदेशमा उच्च शिक्षा हासिल गर्न भाषा पढ्ने र आइएलटीएस गर्ने विद्यार्थीको भीड पुतलीसडक क्षेत्रमा बाक्लै देखिने गरेको छ।
कुनै पनि विद्यार्थीले विदेशका लागि प्रक्रिया गर्न टाढाटाढादेखि पनि पुतलीसडक नै आउने गरेको पाइन्छ। त्यहाँ विद्यार्थीलााई दिने सुविधा भनेको स्टुडेन्ट भिसा, गार्जेन भिजिट भिसा, केही रिलेटिभको भिसालगायत मानिसलाई कुनै पनि देशमा भिजिट भिसा अप्लाइका लागि कन्सल्टेसीले काम गरिरहेका हुन्छन्।
कालीमाटी ‘तरकारी’
दशकौं लामो इतिहास बोकेको कालीमाटी क्षेत्र तरकारी हबको रुपमा परिचिति छ। यो काठमाडौंको एक प्रमुख व्यापारिक क्षेत्र हो, जहाँ तरकारी र फलफूलको ठूलो होलसेल बजार छ। कालीमाटी बजार वि.सं २०४३ असोज १५ गतेदेखि तत्कालीन खाद्य तथा कृषि बजार सेवा विभागअन्तर्गत सञ्चालनमा आएको थियो।

बजार सञ्चालनका क्रममा बजार आगमन र कारोबार स्थितिमा भएको विस्तार एवं बजार प्रयोगकर्ताको बढ्दो चापलाई लक्षित गरेर नेपाल सरकार तथा संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोषको सहयोगमा हालका अधिकांश संरचना निर्माण भएका हुन्।
त्यसपछि कालीमाटी तरकारी बजारको निर्माण तथा व्यवस्थापनका लागि एउटा स्वायत्त निकायको आवश्यकता महसुस गरी सरकारद्वारा विकास समिति ऐन, २०१३ अन्तर्गत २०५१ फागुन १ गते कालीमाटी फलफूल तथा तरकारी थोक बजार विकास समिति गठन आदेश, २०५१ जारी गरियो।
दशकौं लामो इतिहास बोकेको कालीमाटी क्षेत्र तरकारी हबको रुपमा परिचिति छ। यो काठमाडौंको एक प्रमुख व्यापारिक क्षेत्र हो, जहाँ तरकारी र फलफूलको ठूलो होलसेल बजार छ।
समितिको कार्यक्षेत्रलाई विस्तार गर्ने उद्देश्यसहित सरकारले २०५८ चैत १९ गते साविकको आदेश खारेज गरी सोही ऐनअन्तर्गत कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति गठन आदेश, २०५८ जारी गरी सोही अनुसार संघीय संरचना बमोजिमयस समितिलाई संघअन्तर्गतको निकाय कायम गरिएको छ। सरकारबाट निर्माण भएको कृषि उपज बजार बालाजु २०६२ असार महिनादेखि समितिले सञ्चालन गर्दै आएको छ।
कालीमाटी फलफूल बजार तरकारीका लागि सस्तो बजार हो। यहाँ बिहान १ बजेदेखि नै तरकारी तथा फलपूmल किन्न आउने व्यापारीको भीड लाग्ने गर्छ। कालीमाटी विशेषगरी तरकारीको होलसेलका लागि परिचित छ। यहाँ होलसेल तथा रिटेल दुवैका लागि पसल छन्।
यहाँ अन्य तरकारी बजारभन्दा सस्तोमा सबै प्रकारका तरकारी पाइन्छ। कालीमाटी तरकारी बजारबाटै काठमाडौं उपत्यकाका बजारमा तरकारी जाने गरेको छ। सबै फलफूल तथा तरकारीका लागि कालीमाटी तरकारी बजार परिचित छ। तरकारी तथा फलफूल कालीमाटी तरकारी बजारमा गएर सस्तोमा खरिद गर्न सकिन्छ।
ताम्राकार ‘मोबाइल’
ताम्राकार कम्प्लेक्स नेपालको सबैभन्दा पुरानो व्यापारिक क्षेत्र हो। अहिले यहाँ लगभग १ सय पसल छन्। यो कम्प्लेक्समा नेपाल आउने लगभग सबै ब्रान्डका मोबाइल सामसुङ, आइफोन, एमआई, रियलमी, भिभो, ओप्पो, वानप्लसलगायत उपलब्ध छन्।
यस कम्प्लेक्समा मोबाइल बिक्री, मोबाइल एक्सचेन्ज र मर्मतको काम सबै हुन्छ। यहाँका लगभग सबै पसलमा सर्भिस सेन्टर छन्। पछिल्लो चरणमा हाल यस कम्प्लेक्समा ल्यापटप पनि उपलब्ध हुन थालेका छन्। पहिले ग्राहक ल्यापटपका लागि पुतलीसडक वा अन्य ठाउँमा पुग्नुपर्ने स्थिति थियो भने हाल यही कम्प्लेक्समै विभिन्न ब्रान्डका ल्यापटप उपलब्ध छन्। ल्यापटप व्यवसाय पनि वृद्धि हुँदै जाँदा यो एउटा मल्टिकम्प्लेक्सका रूपमा विकसित हुँदै गएको छ।

हाल कम्प्लेक्समा मुख्यगरी सामसुङ, आइफोन, रियलमी, वानप्लस, रेडमी, भिभो, ओप्पोजस्ता ब्रान्डका मोबाइल बढी मात्रामा बिक्री हुने गरेका छन्। नेपालमा जति पनि मोबाइल बिक्री हुन्छ, त्यसको लगभग ६० प्रतिशत हिस्सा ताम्राकार कम्प्लेक्समा छ।
पछिल्लो समय ताम्राकारसँगै त्यसको वरपर पनि मोबाइल फोन व्यवसाय विस्तार हुँदै
गएको छ। मोबाइल फोनको व्यवसाय बढ्दै जाँदा स्मार्ट फोन प्रयोगमा वृद्धि, अनलाइन सपिङ र मोबाइल एप्स प्रयोगको लोकप्रियतासँगै यो व्यवसाय फस्टाइरहेको छ। मोबाइल फोनको व्यवसाय विभिन्न ठाउँमा भए पनि विशेषगरी ताम्राकार क्षेत्रलाई भने मोबाइल हबको रुपमा लिने गरिन्छ।
मोबाइल हबको व्यवसायमा बढ्दो माग र यसको विविधता नेपाली बजारमा पनि देखापरेको छ। न्युरोडको ताम्राकार क्षेत्रलाई मोबाइल बिक्री तथा रिपेयर स्थानको रुपमा लिने गरिएको छ। विभिन्न ब्रान्डका स्मार्ट फोन किन्ने, पुराना फोन अपग्रेड गर्ने वा रिपेयर गर्न ग्राहकको पहिलो रोजाइ ताम्राकार हाउस पर्ने गरेको छ।
नयाँ मोबाइल होस् या सेकेन्ड ह्यान्ड। मोबाइल किन्ने ग्राहकको पहिलो रोजाइमा ताम्राकार र त्यस वरपर क्षेत्र पर्ने गरेको छ।
यो ठाउँ मोबाइल किनबेच गर्ने तथा रिपेयर गर्न परिचित रहँदै आएको छ। ताम्राकार कम्प्लेक्स बाहिरका हरेक सटरमा मोबाइल, चार्जर, ब्याट्री, टिभी, ल्यापटपलगायत सामानको होलसेल तथा रिटेलका पसल देखिन्छन्। ताम्राकारमा हेडफोन, चार्जर, स्क्रिन प्रोटेक्टरजस्ता मोबाइल एसेसरिज बिक्री हुने गरेको छ।
यहाँ मोबाइल नेटवर्कका सेवाप्रदायकसँग साझेदारी गरेर मोबाइल हबले सिम कार्ड, रिचार्ज र डेटा योजना बिक्रीका साथै मोबाइल एप्स र सफ्टवेयर सेवामा मोबाइल एप्स डाउनलोड, अपडेट वा सफ्टवेयरजस्ता सेवा पनि पाउन सकिन्छ।
न्यूरोडमा ‘लत्ता कपडा’
उपत्यकाको न्यूरोड लत्ता कपडाका लागि विशेष क्षेत्र हो। हाल न्यूरोड लत्ता कपडा हबको रुपमा परिचित छ। यहाँ होलसेल तथा खुद्रा पसल ठूलो संख्यामा छन्। यहाँ होलसेल तथा रिटेल सामान पसल पनि धेरै छन्। यी पसलमा ५०० देखि लाखौं रुपैयाँसम्मका सारी तथा कुर्था पाइन्छन्।
न्यूरोड बजारमा भएजति सबै चीज पाउन सकिन्छ। सामान्यदेखि लक्जरी कलेक्सन न्यूरोडमा उपलब्ध भएकाले सबै खाले मानिसका लागि सपिङ गर्ने उत्तम विकल्पको रुपमा न्यूरोडलाई लिन थालिएको छ।
यहाँ ह्यान्डपिक सारी, शुद्ध टस्सर, सिल्क, बनारसी, कतान, जर्जेट, टिसु, फेन्चनट, चिकेन कारी, पतानसिल्क, कटवर्क, बनारसी, कञ्जीवरमलगायत ब्रान्डेड सारी राखिएको छ।
यी सामान अन्य ठाउँका पसल तथा बुटिकमा पनि न्यूरोडदेखि नै लैजाने गरिएको व्यवसायीको भनाइ छ। न्यूरोड क्षेत्रमा महिला, पुरुष, बच्चा, वृद्ध सबै उमेर समूहका मानिसका लागि कपडा पाइने भएकाले यो क्षेत्रमा निकै भीडभाड हुने गरेको पाइन्छ। यहाँ जुनसुकै वर्गको मानिसका लागि पनि कपडा पाइने हुँदा आफ्नो रोजाइका छान्न न्यूरोड पुग्ने गर्छन्।
असन ‘सस्तो बजार’
व्यापारिक हब मानिँदै आएको असन क्षेत्र सस्तो बजारको रुपमा परिचिति भएकाले मानिसको धेरै भीड लाग्ने गरेको छ। यहाँ नुनदेखि सुनसम्मका सबै सामान पाइन्छन्।

असन क्षेत्र सस्तो बजारको रुपमा पनि परिचित छ। असन काठमाडौंको पुरानो बजार हो। तर, यो बजार कहिलेदेखि सुरु भयो, त्यो इतिहास कसैलाई थाहा छैन। न त त्यसमाथि कतै लेखिएकै पाइन्छ। असनमा अझै पनि तीन–चार पुस्ता अघिदेखि सञ्चालनमा रहेका पसल धेरै छन्।
हाल पसल चलाइरहेका नाति पुस्तालाई पनि हजुरबाले पसल चलाएकोसम्म थाहा छ। त्यसअघि आफ्नो पसल थियो वा थिएन भन्ने कुरा थाहा छैन भन्छन्। असनको पूरै चोक विभिन्न वस्तुका पसलले भरिएका छन्।
पहिले–पहिले सामान थोकमा बेच्ने काठमाडौंकै एक मात्र बजार पनि असन नै थियो। यहाँ चामल, चिउरा, पिठो, दाल, गेडागुडीजस्ता खाद्यान्न थोकमा बिक्री वितरण हुन्थ्यो। यहाँबाट किनेर लगेकै सामान इन्द्रचोक, मरु टोलजस्ता बजारमा खुद्रामा बेच्ने गरिन्थ्यो।
ती खाद्यान्न कतिमा बेच्ने भन्ने भाउ पनि असनमै तोकेर पठाइन्थ्यो। असन क्षेत्र सस्तो बजारको रुपमा परिचित भएकाले मानिसलाई आवश्यक पर्ने हरेक सामान किन्न यो ठाउँमा भीड लाग्ने गर्छ।
त्रिपुरेश्वर ‘सर्जिकल’
उपत्यकाको मुटुमा अवस्थित त्रिपुरेश्वर क्षेत्र पछिल्ला वर्षमा सर्जिकल हबको रुपमा तीव्र गतिमा विकास हुँदै गएको छ। दर्जनौं सर्जिकल अस्पताल, नर्सिङहोम तथा विशेषज्ञ क्लिनिकको संख्या दिनानुदिन बढ्दै जाँदा त्रिपुरेश्वर अब आधुनिक शल्यचिकित्सा सेवाका लागि प्रमुख गन्तव्य बन्न थालेको छ।
यहाँ शल्यचिकित्सा तथा मेडिकलका लागि आवश्यक सामग्री होलसेल तथा रिटेलमा पाउन सकिन्छ। पछिल्लो समय त्रिपुरेश्वर सर्जिकल व्यवसायका लागि परिचित बनेको ठाउँ हो। धेरै वर्षदेखि त्रिपुरेश्वर शल्यक्रियाका सामान खरिद र बिक्री गर्ने मुख्य क्षेत्र बनेको छ।

केही समय अघिबाट धेरै सर्जिकल व्यवसायीको रोजाइमा यो ठाउँ पर्दा त्रिपुरेश्वर सर्जिकल हब बन्यो। त्रिपुरेश्वरमा अवस्थित सर्जिकल कोभिडको समय बढी लोकप्रिय भए। यहाँ फार्मेसी तथा हस्पिटलका लागि आवश्यक सामान होलसेलमा बिक्री गर्ने हिसाबमा सर्जिकल सञ्चालन गरिएको छ। त्रिपुरेश्वर क्षेत्रमा सटरैपिच्छे सर्जिकलका पसल÷व्यवसाय देख्न सकिन्छ।
टंगाल ‘थकाली खाना’
नेपालको समृद्ध पाक संस्कृतिभित्र विशेष स्थान राख्ने थकाली खाना पछिल्ला वर्षमा लोकप्रिय बन्दै गएको छ। यस्तैमा काठमाडौंको टंगाल क्षेत्र थकाली खानाको व्यवसायका लागि मुख्य गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ। अहिले टंगाल क्षेत्रको कुनै पनि कुनामा उभिएर आँखा डुलाउँदा जताततै थकाली खाना अंकित बोर्ड देख्न सकिन्छ। दुई–चार पाइलाको फरकमा थकाली भान्छा देख्न सकिन्छ।
नेपाली स्वादलाई चिनाउने थकाली खाना अब थकाली समुदायमा मात्र सीमित छैन। अरु समुदायमा पनि यो उत्तिकै लोकप्रिय बन्दै गएको छ। नेपालका प्रायः सबैजसो प्रमुख सहरमा थकाली रेस्टुरेन्ट खुलेका छन्। त्यसमा पनि सबैभन्दा बढी टंगालमा खुलेका छन्। थकाली खानाको व्यवसाय गर्ने हरेक व्यवसायीको रोजाइमा टंगाल पर्न थालेको छ।
पछिल्लो समय आन्तरिक पर्यटक मात्र नभई, विदेशी पर्यटकले समेत यो स्थानलाई आफ्नो खानाको रोजाइमा राख्न थालेका छन्। यसै कारणले टंगाल क्षेत्र विस्तारै थकाली खानाको हबको रूपमा चिनिन थालेको छ। यहाँ विभिन्न थकाली रेस्टुरेन्ट धमाधम खुलिरहेका छन्।
कुलेश्वर खाद्यान्न
कुलेश्वर विशेषगरी खाद्यान्न सामग्रीका लागि परिचित ठाउँ हो। कुलेश्वर खाद्यान्नका हरेक सामान कुलेश्वरमा होलसेलमा बिक्री हुँदै आएका छन्। कुलेश्वरका खाद्यान्न पसलबाट उपत्यकाका विभिन्न ठाउँमा चामल, दाल, तेल बिक्रीका लागि लगिने गरेको छ।