काठमाडाैं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादकत्व वृद्धि र रोजगारी सृजना गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्ने बताए।
ललितपुर महानगरपालिकाद्वारा आज एकान्तकुनामा आयोजित चौथो महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले अरु देशका बजार नेपाल बन्ने समस्यालाई हामीले नेपालभित्रै साना, लघु र घरेलु उद्योगको प्रर्वद्धनबाट समाधान गर्नुपर्ने बताए।
उनले भने, “हामी मेड इन नेपालको उत्पादनलाई खरिद गर्नेछौँ, हरेक जनप्रतिनिधि र कर्मचारीले पाउने पोसाक भत्ताले नेपाली उत्पादनहरु खरिद गर्नुपर्छ, हाम्रो दैनिक जीवनमा नेपालका उत्पादनले प्राथमिकता पाउनुपर्छ, हाम्रो उत्पादनको ब्राण्डिङ पहिलो प्राथमिकता हो, बजेटमा उद्यमशीलतालाई प्राथमिकतामा राखिएको छ, कानुन, विधि र नीतिगत रुपमा सम्बोधन गरेर उपलब्धि हासिल गर्नुछ, थुप्रै कानुनका सुधारहरु सरकारले गरेको छ, लगानीमा क्षेत्रहरु पहिचान गरेर प्राथमिकतामा राख्न सरकारले जोड दिएको छ।”
महिलाले सञ्चालन गर्ने उद्योगमा सरकारले कर छुटको सहुलियत दिएको छ भन्दै उद्योग मन्त्रालय नेपालको जिडिपीमा उद्योगको योगदान बढाउन नीति र कानुनमा सहुलियत दिने कुरामा ध्यान दिएर लागेको उनकाे भनाइ छ।
“बजेटमा रोजगारी सृजना गर्ने, उद्यमशीलता वृद्धि गर्ने, राष्ट्रिय आवश्यकता पूरा गर्ने विषयलाई समेटिएको छ, स्टार्टअप र रचनात्मक उद्यमशील परियोजनालाई २५ लाखसम्म दिने कार्यक्रम समावेश गरेका छौँ, महिलालाई उद्यमशीलतातर्फ आकर्षित गर्नुपर्छ”, उनले भने।