काठमाडौं। गत कात्तिक ५ गते सितापाइलामा सेरेस ब्राण्डको सेरेस-३ विद्युतीय गाडीमा आगलागी भयो। प्रारम्भिक अनुसन्धानको क्रममा गाडीमा सर्ट सर्किटको कारणले आगलागी भएको भन्दै कम्पनीले थामथुम पार्ने प्रयास गरे पनि विस्तृत रिपोर्ट सार्वजनिक गरेको छैन।
नेपाली बजारमा यो गाडीको बिक्री वितरण एमएडब्लु वृद्धिले गर्दै आइरहेको छ। कम्पनीको दाबीअनुसार गाडी नेपाली बजारमा पाँच सय वटा बिक्री भएको छ। गाडी खरिद गर्ने ग्राहकको सुरक्षाका लागि कम्पनीले वास्तविक रिपोर्ट सार्वजनिक गर्नुपर्नेमा कम्पनीले त्यसलाई ढाकछोप गरिरहेको छ।
कम्पनीले प्रारम्भिक अनुसन्धानमा गाडीको ब्याट्री र मोटरमा कुनै क्षति नभएको र आगलागी के कारणले भयो? भन्नेबारे थप अनुसन्धान जारी राखिएको जनाएको थियो। तर, त्यो अनुसन्धान आठ महिनासम्म सकिएको छैन। यो घटनालाई सरकारी निकायले छानबिन गरिरहेको छैनन्।
सरकारी निकायले नेपालमा आइरहेका गाडीको गुणस्तर र त्यसले दिने सुरक्षाको प्रत्याभूतिका विषयमा मापदण्ड बनाएर छानबिन गर्न सक्छ। तर, सरकारी निकायको ‘लुपहोल’मा गाडी व्यवसायीहरुले फाइदा उठाइरहेका छन्।
एमएडब्लु वृद्धिले कम्पनीका प्राविधिक टोली र चिनियाँ टोलीबीच सेरेस-३ ईभीमा पुगेको क्षतिसँगै समस्याका विषयमा छलफल भइरहेको जनाएको थियो।
एमएडब्लू वृद्धिले यस सम्बन्धमा विज्ञप्ति प्रकाशित गरी गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडीमा शर्ट सर्किट भएर धुँवा डिस्चार्ज भएको उल्लेख गरेको थियो। ‘उक्त ईभी गाडी विगतमा अनधिकृत सेवा केन्द्रहरूमार्फत मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको थियो।
एमएडब्लु वृद्धिले कम्पनीका प्राविधिक टोली र चिनियाँ टोलीबीच सेरेस-३ ईभीमा पुगेको क्षतिसँगै समस्याका विषयमा छलफल भइरहेको जनाएको थियो। तर, गाडीमा आगलागी भएको लामो समय हुँदा पनि आधिकारिक रुपमा आगलागीको कारण पत्ता लागेको छैन।
अहिलेसम्म एमएडब्लु वृद्धिले यस घटनाको आधिकारिक अनुसन्धान प्रतिवेदन सार्वजनिक नगरेका कारणले गाडीका मालिक र ईभी प्रयोगकर्तालाई चिन्तित बनाएको छ। रिपोर्ट सार्वजनिक नहुँदा कम्पनीले आफ्नो गल्ती ढाकछोप गरेको अनुमान गर्न सकिन्छ।
पहिले पनि सेरेस ब्राण्डको मिनी ईभी गाडीमा ब्रेक, रेञ्ज, पिकअप र स्टेरिङमा समस्या देखिएपछि ग्राहकले गाडी फिर्ता गरेको घटना थिए। ग्राहक रुष्ट भएपछि सेरेस ब्राण्डका आधिकारिक बिक्रेताले ग्राहकबाट आधा दर्जन बढी गाडी फिर्ता लिएको थियो।
गाडी पार्किङमा राखेकाले आगलागीबाट मानवीय क्षति हुन पाएन। तर, गाडी पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले ८ महिनादेखि गाडी कसरी जलेको र किन जलेको भन्ने विषय उपभोक्तामा गुमनाम राख्नु गलत भएको बताए। ‘सरकारी निकायले यो विषयमा गम्भिर रुपमा अध्ययन गर्नुपर्छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘उपभोक्तालाई गुमनाममा राखेर जोखिम मोल्नु गलत हो, तत्कालै प्रतिवेदन सार्वजनिक गर्नुपर्छ।’
सेरेस-३ मा आगलागी कहिले भएको थियो?
२०८१ कात्तिक ५ गते काठमाडौंको सितापाइलामा पार्किङ गरेर राखिएको सेरेस ब्राण्डको सेरेस-३ ईभीमा आगलागी भएको थियो। विश्वास स्पोर्टस सर्भिस सेन्टरमा रोकिराखेको बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको सेरेस-३ ईभीमा आगलागी भएको हो।
गाडी पार्किङमा राखेकाले आगलागीबाट मानवीय क्षति हुन पाएन। तर, गाडी पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो। आगो दमकलको सहायताले निभाइएको थियो।
गाडीमा के कारणले आगलागी भएको थियो?, रिपोर्ट के आयो? यस विषयमा एमएडब्लू वृद्धि मोटर्सका सिईओ प्रशन्न पन्तलाई सम्पर्क गर्दा उनले यस विषयमा कुनै प्रतिक्रिया दिन सक्ने अवस्थामा नरहेको बताए।