काठमाडौं। उद्योग विभागले चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा ६० अर्ब रुपैयाँ बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विवरण सार्वजनिक गरेको छ।
चालू आव साउनदेखि जेठसम्म ७१७ परियोजनामार्फत ६० अर्ब ६० करोड ९४ लाख ४३ हजार रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जानकारी दिएको हो।
विभागका अनुसार यसमध्ये ३० अर्ब ४४ करोड ७७ लाख सेवा क्षेत्रमा लगानी प्रतिबद्धता प्राप्त भएको छ। सेवा क्षेत्रमा सबैभन्दा बढी लगानी प्रतिबद्धता प्राप्त भएकाे हाे।
यस्तै, पर्यटनमा २३ अर्ब ९४ करोड ४२ लाख ६० हजार, कृषि तथा वन पैदावार क्षेत्रमा १ अर्ब ४४ करोड ६० लाख, उत्पादनमूलक क्षेत्रमा ३ अर्ब १२ करोड २० लाख वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ।
विभागका अनुसार सूचना प्रविधिमा १ अर्ब ९७ करोड ३९ लाख, ऊर्जामा दुई करोड ५५ लाख र पूर्वाधारमूलक क्षेत्रमा ५ करोड लगानी प्रतिबद्धता आएको छ। वैदेशिक लगानी प्रतिबद्धता आउनेमा सबैभन्दा धेरै ७०२ साना उद्योग, ९ मझौला र ६ वटा ठूला उद्योग छन्।
यद्यपि प्रतिबद्धताअनुसार लगानी नभित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। चाालू आवको १० महिनामा साढे १० अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। गत वर्ष सो अवधिमा ७ अर्ब ५ करोड रुपैयाँ लगानी भित्रिएको थियो।
सरकारले वैदेशिक लगानी भित्र्याउन अध्यादेशमार्फत कानुन संशोधन गरिसकेको छ।