काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत होटललाई उद्योगसरह मान्यता दिने उल्लेख गरेपछि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक वर्गमा रुपान्तरण गर्न विद्युत् नियमन आयोगलाई पत्राचार गर्ने भएकाे छ।
व्यवसायीले लामो समयदेखि होटललाई उद्योगसरह मान्यता दिन माग गर्दै आइरहेका थिए। सरकारले यो क्षेत्रको आवश्यकता र यसले अर्थतन्त्रमा पारेको सकारात्मक प्रभावको विश्लेषण गरेर वर्गीकरण परिवर्तन गरेको हो।
सोहीअनुसार, प्राधिकरण नेतृत्वले असार मसान्तदेखि नयाँ दरअनुसार विलिङ गर्नुपर्ने भन्दै नियामक निकाय आयोगलाई पत्राचार गरेको हो। ‘बजेटले होटललाई उद्योगसरह मान्यता दिने उल्लेख गरेपछि हामीले सोहीअनुरुप वर्गीकरण परिवर्तन गरिदिन आयोगलाई पत्र पठाइसकेका छौँ,’ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले क्यापिटल नेपालसँग भने, ‘अहिलेसम्म होटल कमर्सियलमा थिए। आयोगले त्यसबाट हटाएर औद्योगिक वर्गमा राख्नुपर्छ। त्यसका लागि प्राधिकरणले आवश्यक प्रक्रिया थालिसकेको छ।’
बिजुलीमा छुट दिएको भए अर्थ मन्त्रालयबाट बाँकी रकम माग्ने गरी काम हुन्थ्यो। यसमा त्यस्तो व्यवस्था नगरिएकाले आयोगबाट वर्गीकरण परिवर्तन गर्नु परेको प्राधिकरणको भनाइ छ।
होटललाई औद्योगिक वर्गमा राख्ने वित्तिकै होटललाई ८ रुपैयाँ प्रतियुनिटमा बिजुली महशुल बुझाउँदा हुन्छ। अहिले होटलले प्रतियुनिट १२ रुपैयाँ बुझाइरहेका छन्। सरकारले होटललाई बिजुलीमा छुट दिएको होइन। वर्गीकरण परिवर्तन गरेकाले सोहीअनुरुप आयोगबाट आउनुपर्छ। त्यसपछि प्राधिकरणले सोहीअनुसार बिलिङ गर्छ।
बिजुलीमा छुट दिएको भए अर्थ मन्त्रालयबाट बाँकी रकम माग्ने गरी काम हुन्थ्यो। यसमा त्यस्तो व्यवस्था नगरिएकाले आयोगबाट वर्गीकरण परिवर्तन गर्नु परेको प्राधिकरणको भनाइ छ।
पछिल्ला केही वर्षयता नेपालमा अन्तर्राष्ट्रिय चेन होटलको बाक्लो उपस्थिति छ। विदेशी ब्रान्डको नेपाल रोजाइँ परेसँगै नेपालको अर्थतन्त्रमा उनीहरूको उल्लेखनिय योगदान छ। सरकारले होटलको प्रवर्द्धन गर्न नीतिगत रुपमा नयाँ व्यवस्था गरेको हो।
अन्तर्राष्ट्रिय चेन होटल बढेसँगै पर्यटक आवागमन पनि वृद्धि भइरहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार जनवरीदेखि मेसम्म ५ लाख एक हजार २६४ जना पर्यटन नेपाल भित्रिएका छन्। यद्यपि, यो गत वर्षको सोही अवधिको तुलनामा केही कम हो। गत जनवरीदेखि मेसम्म ५ लाख ६ हजार २८० पर्यटन नेपाल आएका थिए।