काठमाडौं। रूपन्देहीको शुद्धोधन ४ मैनहियामा २ अर्ब लागतमा फर्स्ट च्वाइस फुड्सले फ्रेन्चफ्राई उद्योग ‘हिमालयन क्रिस्प’ सञ्चालनमा ल्याएको छ। नेपालकै एक युरोपियन प्रविधिमा आधारित आधुनिक आलु प्रशोधन उद्योग रुपमा खुलेको उद्योग करिब ५ बिघा क्षेत्रफलमा फैलिएको छ।
उत्पादन सुरु गरेको छोटो समयमै भारत निर्यात सुरु गरिसकेको उद्योगले केहि वर्ष भित्रै तेस्रो मुलुक अमेरिका, दुबई, मलेसिया, साउदी अरेबिया लगायतमा पठाउने तयारीमा लागिएको अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिए।
‘हाम्रो लक्ष्य अब नेपाललाई खाद्य सुरक्षा, रोजगारी, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन गर्दै अनुसन्धानमा आत्मनिर्भर बनाउने हो र हामी त्यो सपना साकार पार्न प्रतिबद्ध छौं,’ अध्यक्ष पौडेलले भने, ‘पछिल्लो तीन महिनामा १० कन्टेनर फ्रेन्च फ्राई भारत निर्यात भइसकेको छ। नेपालमा पूर्ण रुपमा आयातमा निर्भर फ्रेन्च फ्राइज अब हामीले उत्पादन सुरू गरेका छौं।’

अमेरिका निर्यातका लागि त्यहाँको खाद्य तथा औषधि प्रशासनमा दर्ता प्रक्रिया पूरा गरिसकेको तथा नेपालमै पहिलोपटक ब्रान्ड रेपुटेसन कम्प्लायन्स ग्लोबल स्ट्यान्डर्ड (बीआरसीजीएस) प्रमाणपत्र प्राप्त गरेको छ। बीआरसीजीएस जुन खाद्य सुरक्षा र गुणस्तर क्षेत्रको संसारकै सबैभन्दा कडा मापदण्डमध्ये एक हो।
‘विगत पाँच वर्षदेखि हामीले तराई, पहाड र हिमाली क्षेत्रमा प्रसोधन योग्य आलुको अनुसन्धानको लागि करोडौ रकम खर्च गरिसकेका छौं,’ अध्यक्ष पौडेलले भने, ‘यसैको प्रतिफलस्वरुप यो वर्ष किसानबाट लगभग २,००० मेट्रिक टन आलु हाम्रो उद्योगले खरिद गरेको छ।’ उद्योगमा कैलाली, नवलपुर, सिन्धुली, काभ्रेपलाञ्चोकलगायतका १९ जिल्लामा सफल परीक्षण गरी १०औं हजार किसानमार्फत आलु उत्पादन गरिरहेको उनले बताए।
‘अहिले सरकारबाट हामी आलुबालीमा अनुसन्धान तथा विकास गर्न र बिउ आलु उत्पादन गर्न स्वीकृति पाइसकेका छाैं,’ अध्यक्ष पौडेलले भने, ‘हाम्रो टिममा आलुबाली विशेषज्ञ, खाद्य वैज्ञानिक, आलु बाली रोग विज्ञ, इन्जिनियर, सीए सबै विशेषज्ञ समावेश छन्। हामीलाई थाहा छ, प्रतिस्पर्धा सजिलो छैन। सस्तो गुणस्तरहीन आयात, बजारले नेपाली प्रोडक्ट प्रतिको हेर्ने नजर र कतिपय अवस्थामा अवैध रुपमा भित्रिने फ्रेन्च फ्राइज साथै नीतिगत चुनौतीले हाम्रो उद्योगमाथि कतै गम्भीर संकट निम्त्याउने त होइन? हामी गुणस्तरमा सम्झौता गर्दैनौं। हामी नेपाली उपभोक्तालाई स्वस्थ, सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आलुका परिकार दिन चाहन्छौं।’
काठमाडौं, पोखरा, चितवन, बुटवल, ईटहरी, दाङ, नेपालगञ्जजस्ता मुख्य सहरमा ५ वटा डिष्टिव्युटर, १२ चेन रेस्टुरेन्ट, १५० सप्लायर्स, ४०० भन्दा बढी रेस्टुरेन्ट, १७१ मोर्डन मार्टमार्फत बिक्री भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा भारत उत्तराखण्डको पाल फ्रोजन ग्रुपले नेपाली फ्रेन्चफ्राइज भारतीय बजारमा बिक्री वितरण गरिरहेको छ।