कोसी प्रदेश पूर्वी नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो। प्राकृतिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक महत्त्व र साहसिक पर्यटन सम्भावनाले यो प्रदेश स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्न पुगेको छ । यहाँबाट देखिने हिमशृंखला, हरिया चियाबगान, ऐतिहासिक तथा धार्मिक स्थल र विविध जैविक विविधताले पर्यटन विकासका लागि उर्बर भूमि तयार पारेको छ।
कोसीमा पर्यटक आकर्षित गर्न सक्ने थुप्रै गन्तव्य छन्। धार्मिक आस्था राख्नेका लागि यहाँ पाथीभरा देवीको मन्दिर प्रमुख गन्तव्य हो, जहाँ नेपाल तथा भारतका विभिन्न भागबाट भक्तजन दर्शनका लागि आउँछन्। विशेषगरी नेपाल बाहिरबाट पनि दर्शनार्थीको ठूलो संख्यामा आगमन हुने गर्दछ।
त्यस्तै, बराहक्षेत्रलाई भगवान् विष्णुको अवतार मानिन्छ र यसको धार्मिक महत्त्व उच्च छ। रामधुनीले भगवान् रामको ऐतिहासिक कथा बोकेको छ भने बूढासुब्बा, दन्तकाली र पण्डेश्वरीजस्ता अन्य महत्त्वपूर्ण धार्मिक स्थल पनि यस प्रदेशमा अवस्थित छन्। यी स्थलले धार्मिक पर्यटनको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
सम्भावना
कोसी प्रदेश धार्मिक महत्त्वका साथै प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ। विश्वको सर्वोच्च शिखर सगरमाथा यसै प्रदेशमा अवस्थित छ, जसले पर्वतारोहण र हिमाल आरोहणमा रुचि राख्ने पर्यटकलाई आकर्षित गर्दछ। यस क्षेत्रका अन्य हिमशृंखला र मनोरम दृश्य पदयात्रा एवं अवलोकनका लागि उत्कृष्ट छन्। यस प्रदेशको अर्को महत्त्वपूर्ण आकर्षण भनेको यहाँका चियाबगान हुन्।
इलाम र कन्यामजस्ता ठाउँमा फैलिएका हरिया चियाका बुट्यानले जोकोहीलाई पनि आकर्षित गर्छ। यहाँ चिया पर्यटनको विकासको ठूलो सम्भावना छ। पर्यटकले यी बगान भ्रमण, चिया उत्पादन प्रक्रिया अवलोकन र ताजा चियाको स्वाद चखाउँदै आकर्षित गर्न सकिन्छ।
प्रदेशका सुन्दर सहर भेंडेटार, जहाँबाट मनोरम प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ। पछिल्लो समय भेंडेटारमा निर्माण भएको स्काईवाकले पनि पर्यटक बढाइरहेको छ। कोसी टप्पु वन्यजन्तु आरक्षमा पक्षी अवलोकन र दुर्लभ वन्यजन्तु अर्ना अवलोकनका लागि पनि ठूलो संख्यामा पर्यटक ल्याउन सकिन्छ। यहाँ विभिन्न प्रकारका स्थानीय तथा बसाइँसराइ गरी आउने चराचुरुंगी देख्न सकिन्छ। खोटाङको हलेसी महादेव गुफा हिन्दु र बौद्ध धर्मावलम्बीका लागि पवित्र स्थल मानिन्छ एवं यसको धार्मिक तथा सांस्कृतिक महत्त्व दुवै रहेको छ।
इलाम र कन्यामजस्ता ठाउँमा फैलिएका हरिया चियाका बुट्यानले जोकोहीलाई पनि आकर्षित गर्छ। यहाँ चिया पर्यटनको विकासको ठूलो सम्भावना छ।
कोसी प्रदेशले आफ्नो पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न भ्रमण वर्ष २०८२ आयोजना गरेको छ। यहाँको पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमबाट २० लाखभन्दा बढी पर्यटक ल्याउने अपेक्षा गरिएको छ। यस प्रकारका पहलकदमीले प्रदेशको पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन मद्दत गर्ने विश्वास छ। भ्रमण वर्षले पर्यटक आगमन बढाउन, नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्न र पर्यटनसँग सम्बन्धित पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्न एवं लगानी आकर्षित गर्न सकिन्छ।
कोसी प्रदेशमा पर्यटन विकासका लागि सम्भावनाका स्रोत अथाह छन्। यहाँ धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको त्रिवेणी रहेको छ, जसलाई उचित रूपमा विकास गर्न सके यो प्रदेश नेपालको प्रमुख पर्यटकीय केन्द्र बन्न सक्छ। चिया पर्यटन यहाँको एक विशिष्ट पहिचान बन्न सक्छ । यदि यहाँ उत्पादित उच्च गुणस्तरको चियालाई विश्व बजारमा प्रभावकारी रूपमा पु¥याउन सकियो भने यसले आर्थिक लाभ मात्र नदिएर पर्यटकलाई चिया उत्पादन प्रक्रियाको जानकारी गराउने, चिया बगानमा घुम्ने र चियाको स्वाद लिने अनुभव दिन सकिन्छ ।
पर्यटनसँग सम्बन्धित पूर्वाधार विकास कोसीको अर्को महत्त्वपूर्ण सम्भावना हो। स्तरीय होटल, यातायात, सञ्चार र अन्य आवश्यक सुविधाको विकासले पर्यटकका लागि सहज एवं सुरक्षित वातावरण सिर्जनामा मद्दत गर्दछ। यसले थप पर्यटकलाई आकर्षित गर्न र तिनको बसाइँलाई लम्ब्याउन सहयोग पुर्याउँछ। यसले गर्दा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्दछ र रोजगारीका अवसर सिर्जना हुन्छन् ।
चुनौतीहरू
कोसी प्रदेशमा पर्यटन विकासका थुप्रै सम्भावना भए पनि केही महत्त्वपूर्ण चुनौती भने विद्यमान छन्। सबैभन्दा प्रमुख चुनौती भनेको पर्यटन पूर्वाधारको कमी हो। धेरैजसो पर्यटकीय गन्तव्यमा स्तरीय यातायात, आवास र अन्य आवश्यक सुविधा अभाव रहेको छ। यसले पर्यटकको अनुभवलाई नकारात्मक रूपमा प्रभावित गर्न सक्छ।
अर्को चुनौती भनेको यहाँका पर्यटकीय स्थलको पर्याप्त प्रचार–प्रसार हुन नसक्नु हो। धेरै स्वदेशी तथा विदेशी पर्यटक यस प्रदेशका सुन्दर गन्तव्य र तिनको महत्त्वबारे अनभिज्ञ छन्। प्रभावकारी बजारीकरण र प्रवद्र्धन अभावले पर्यटनको अपेक्षित विकास हुन सकेको छैन ।
पर्यावरण संरक्षण र दिगो पर्यटनको विकास गर्नु पनि महत्त्वपूर्ण चुनौती हो। बढ्दो पर्यटनले प्राकृतिक स्रोतमा नकारात्मक प्रभाव पार्न सक्छ। त्यसैले पर्यटन विकासलाई पर्यावरणमैत्री बनाउनु र स्थानीय संस्कृति तथा परम्परालाई संरक्षण गर्नु आवश्यक छ।
कोसी प्रदेशले आफ्नो पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न भ्रमण वर्ष २०८२ आयोजना गरेको छ। यहाँको पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको कमी पनि चुनौतीका रूपमा रहेको छ। पर्यटकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न तालिमप्राप्त गाइड, होटल कर्मचारी र अन्य सेवाप्रदायक आवश्यक पर्दछ। यस क्षेत्रमा लगानी गरी दक्ष जनशक्ति तयार पार्नु आवश्यक छ ।
अतिथि सत्कारको महत्त्वलाई अझ बढाउनु आवश्यक छ। पर्यटकलाई सम्मानजनक व्यवहार र आवश्यक सहयोग दिन नसके उनीहरूले नकारात्मक अनुभव लिएर आफ्नो देश फर्किन सक्छन्, जसले भविष्यमा पर्यटन विकासमा बाधा पु¥याउन सक्छ। पर्यटकलाई स्थानीय संस्कृति र परम्पराबारे जानकारी गराउनु र उनीहरूको आवश्यकताअनुसार सेवा प्रदान गर्नु जरुरी छ। यदि हामीले उनीहरूलाई राम्रो सेवा दिन सकियो भने खर्च बढी गर्छन् भने एउटा पर्यटकले कम्तीमा १० जना पर्यटक पठाउन सक्छ। तर, त्यसका लागि हामीले गुणस्तरीय सेवा दिन सक्नुपर्छ।
एउटा गन्तव्यमा आएका पर्यटकलाई अन्य नजिकका पर्यटकीय स्थलबारे जानकारी गराएर उनीहरूको बसाइलाई लम्ब्याउन र थप गन्तव्य भ्रमणका लागि प्रोत्साहित गर्न सकिन्छ। सूचना केन्द्र स्थापना र प्रभावकारी प्रचार सामग्री विकासले यसमा मद्दत गर्न सक्छ। छिमेकी प्रदेश र देशका पर्यटकीय क्षेत्रसँग समन्वय गरी संयुक्त पर्यटन प्याकेज विकास गर्न सकिन्छ। उदाहरणका लागि, भारतको सिक्किम वा पश्चिम बंगालबाट आउने पर्यटकलाई कोसी प्रदेशका गन्तव्यसँग जोड्न सकिन्छ ।
अवसर
कोसी प्रदेशमा पर्यटन विकासका लागि थुप्रै अवसर छन्। पर्यटनको विकास गरी यस प्रदेशको आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउन सकिन्छ। पर्यटनले स्थानीय स्तरमा रोजगारी अवसर सिर्जना गर्छ, साना व्यवसायलाई बढावा दिन्छ र समग्रमा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ।
यस प्रदेशको अनुपम प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधतालाई विश्वसामु चिनाउने यो एक उत्कृष्ट अवसर हो। यहाँका धार्मिक स्थल, हिमाल, चियाबगान र वन्यजन्तु आरक्षले अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सक्ने क्षमता राख्छन्। पर्यटनको माध्यमबाट स्थानीय संस्कृति, कला र परम्परालाई संरक्षण एवं प्रवद्र्धन गर्न सकिन्छ। यसले स्थानीय पहिचानलाई बलियो बनाउँछ र सांस्कृतिक आदान–प्रदानलाई बढावा दिन्छ।
पर्यटनले स्थानीय स्तरमा रोजगारी अवसर सिर्जना गर्छ, साना व्यवसायलाई बढावा दिन्छ र समग्रमा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ।
पर्यटनको विकासले स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्दछ। पर्यटनबाट प्राप्त आम्दानीलाई शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासजस्ता क्षेत्रमा लगानी गर्न सकिन्छ। यसले स्थानीय बासिन्दाको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउँछ।
अन्तरदेशीय पर्यटन विकासमा पनि प्रदेशले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। सीमानाका हुँदा यहाँ भारतीय पर्यटक आगमन सहज छ। उनीहरूलाई आकर्षित गर्न विशेष पर्यटन प्याकेज र सुविधा विकास गर्न सकिन्छ। यदि एक जना खुसी पर्यटकले अरू दुई वा १० जनालाई यहाँ भ्रमण गर्न प्रेरित गरे यसले पर्यटन क्षेत्रमा ठूलो सकारात्मक प्रभाव पार्न सक्छ।
पर्यटकले खोजेअनुसारको सेवा–सुविधा दिन सके उनीहरूले राम्रो अनुभव लिएर आफ्नो देश फर्किन्छन् र सकारात्मक प्रचार गर्छन्। जबसम्म पर्यटकलाई उच्च प्राथमिकता दिँदैनौं र उनीहरूको आवश्यकतालाई सम्बोधन गर्दैनौं, तबसम्म पर्यटन क्षेत्रको अपेक्षित विकास हुन सक्दैन। पर्यटक जस्तो भए पनि उनीहरू पैसा खर्च गर्न आउने हुँदा सम्मानजनक व्यवहार गर्नु हाम्रो कर्तव्य हो।
अन्त्यमा
कोसी प्रदेश पर्यटनको अपार सम्भावना बोकेको सुन्दर क्षेत्र हो। यहाँका पर्यटकीय गन्तव्यको उचित पहिचान, पूर्वाधार विकास, प्रभावकारी प्रचार–प्रसार, पर्यावरण संरक्षण र दक्ष जनशक्ति तयार पार्न सके यो प्रदेश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन मानचित्रमा विशिष्ट स्थान बनाउन सफल हुनेछ। यसका लागि सरकार, निजी क्षेत्र र स्थानीय समुदाय सबैको सक्रिय सहभागिता र सहकार्य आवश्यक छ ।