काठमाडौं। इरानले कतारमा रहेको अमेरिकी सैनिक क्याम्पलाई लक्षित गरी मिसाइल आक्रमण गर्न पूर्वसूचना लगत्तै हवाई उडान बन्द गर्यो। कतारले आफ्नो मुलुकमा हवाई उडान तत्कालका लागि रोकेसँगै नेपालसहित विश्वभरिबाट कतार जाने जहाजले उडान भरेनन्।
सोमबार राति एक्कासी कतारले उडान रोकेपछि नेपालबाट कतार हुँदै अन्य मुलुक जाने यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमै रोकिए। खासगरी हिमालय एयरलाइन्सको तीन र नेपाल एयरलाइन्सको एक उडानले उडान भर्न सकेनन्। उडान रोकिएपछि दुवै एयरलाइन्सले आफ्ना यात्रुहरुलाई होटलमा बस्ने वा घरमा फर्किने दुवै सुविधा दिए।
एयरलाइन्सको अनुरोधअनुसार हिमालयका केही यात्रुहरु घरमा गए। केही होटलमा गएर बसे। तर, नेपाल एयरलाइन्सका यात्रुहरु विमानस्थलभित्रै बस्न बाध्य भए। अर्थात, कतार सरकारले हवाई उडान रोकेको विश्वास यात्रुहरुले गर्दै गरेनन्। बरु उल्टै विमानस्थलमा नाराबाजी गरे।
टिकट लिइसकेको अवस्थामा उडान बन्द भएको सूचना पाएपछि आक्रोशित यात्रुहरुले विमानस्थलभित्रै होहल्ला र नाराबाजी गरेपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो। यात्रुलाई विमानस्थल बाहिर निकाल्नुपर्ने स्थिति आएको थियो।
नेपाल एयरलाइन्सले अन्तिम चरणमा उडान रोकेको घटना यो पहिलो पटक हैन। यसअघि जहाज बिग्रिएको, पाइलट र कर्मचारीका कारण पटक–पटक उडान रोकिँदै आएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमानस्थलको संवेदनशिल क्षेत्रमा यात्रुहरुले होहल्ला गरेपछि प्रहरीले बाहिर निकालेको जानकारी आफूहरुले पाएको बताए। ‘कतार सरकारले उडान रोकेको भन्ने विश्वास यात्रुहरुले गर्दै गरेनन,’ सूचना अधिकारी भुलले भने, ‘नेपाल एयरलाइन्सले बाहना बनाएर दुःख दिएको भन्दै यात्रुहरुले होहल्ला गरेका रहेछन्, पछि बुझे।’
नेपाल एयरलाइन्सले अन्तिम चरणमा उडान रोकेको घटना यो पहिलो पटक हैन। यसअघि जहाज बिग्रिएको, पाइलट र कर्मचारीका कारण पटक–पटक उडान रोकिँदै आएको छ। त्यही भएर सोमबार युद्धका कारण उडान रोकिँदासमेत यात्रुहरुले नेपाल एयरलाइन्सप्रति विश्वास गर्न नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको भनाइ छ।
‘यात्रुहरुबाट नेपाल एयरलाइन्सप्रतिको विश्वास गुमिसकेको छ,’ विमानस्थलका एक उच्च अधिकारीले भने, ‘यस अघि पनि यात्रुहरुले होहल्ला गर्ने र गाली गलोज गर्ने घटनाहरु धेरै हुने गरेको छ, सार्वजनिक मात्र नभएको हो।’
अन्य एयरलाइन्सको तुलनामा नेपाल एयरलाइन्सको उडान पनि निश्चित समयमा नहुने गरेको गुनासो यात्रुहरुको छ। ‘नेपाली ध्वजाबाहक भएकाले यात्रुहरु अहिलेसम्म चढिरहेका छन्,’ एक यात्रुले भने, ‘नेपालीले नेपालको हो भनेर गर्व गर्ने खालको भने नेपाल एयरलाइन्स छैन।’ नेपाल एयरलाइन्सले दुई वटा वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।