काठमाडौं। सौरभ ग्रुपअन्तर्गतको लक्ष्मी स्टीलले ९ महिनामै पौने ७ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। स्टील बजारको सबैभन्दा ठूलो उद्योगको रुपमा स्थापित लक्ष्मी स्टीलले सन् २०२५ को ९ महिनामा ६ अर्ब ८१ करोड ४० लाख रुपैयाँ (अपरिस्कृत) कुल आम्दानी गरेको हो।
कम्पनीले बैंकिङ कर्जा प्रयोजनका लागि गराएको इन्फोमेरिक्स रेटिङको रिपोर्टअनुसार सन् २०२४ मा स्टील व्यापारमार्फत ८ अर्ब ५ करोड ३० लाख रुपैयाँ (परिस्कृत) आम्दानी गरेको थियो। यसलाई प्रतिमहिना औासत ६७ करोड रुपैयाँ आम्दानी गर्दा १० महिनामा ६ अर्ब ७१ करोड आम्दानी गरेको थियो। कम्पनीले सन् २०२३ मा ९ खर्ब ४४ करोड र सन् २०२२ मा ८ अर्ब ५४ करोड रुपैयाँ बढीको व्यापार गरेको थियो।
रेटिङ रिपोर्टअनुसार कम्पनीले बैंकिङ कर्जाका लागि त्रिपलबी रेटिङ पाएको छ। यो रेटिङ कम्पनीको मध्यम स्तरको क्रेडिट जोखिम रहेको संकेत हो भने कम्पनीले अल्पकालीन कर्जाका लागि रेटिङमा सुधार गरी ‘एथ्रीप्लस’ पाएको छ। यसले कम्पनी बैंकको कर्जा समयमै तिर्न सक्ने क्षमता राख्ने संकेत गर्छ।
रेटिङमा सुधार भएसँगै कम्पनीको कर्जा लिमिटसमेत ३ अर्ब २० करोडबाट ३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। उक्त रेटिङअनुसार कम्पनीले बैंकबाट छोटो समयका लागि पौने ४ अर्ब रुपैयाँसम्म कर्जा लिन सक्ने क्षमता राख्छ। लक्ष्मी स्टीलले ३ अर्ब ७७ करोड रुपैयाँ नै चालू पुँजी कर्जा लिने गरी लिमिट पाएको हो।
रेटिङमा सुधार भएसँगै कम्पनीको कर्जा लिमिटसमेत ३ अर्ब २० करोडबाट ३ अर्ब ७७ करोड पुगेको छ। उक्त रेटिङअनुसार कम्पनीले बैंकबाट छोटो समयका लागि पौने ४ अर्ब रुपैयाँसम्म कर्जा वहन गर्ने क्षमता राख्छ।
कम्पनीले कर्जा तिर्ने सक्ने आधारमा सन् २०२५ को चौथो त्रैमासमा इक्विटीमा प्रिमियम सेयर जारी गर्ने र त्यसबापत प्राप्त रकमबाट ऋण तिर्न सक्ने देखिन्छ।
नवलपरासीको सुनवलमा रहेको लक्ष्मी स्टीलको वार्षिक उत्पादन क्षमता १ लाख ८० हजार मेट्रिक टन छ भने यसले ‘ब्याकवर्ड इन्टिग्रेसन’ रणनीति अपनाउँदै आफ्नै बिलेट उत्पादन युनिट स्थापना गरेको छ। यसले कम्पनीलाई कच्चा पदार्थमा अन्यत्र निर्भर रहनुपर्ने बाध्यता हटेको छ भने लागत खर्च बचत भएको छ। यसले गर्दा कम्पनीको सञ्चालन खर्च समेत धेरै घटेको छ।
साथै, सौरभ ग्रुपले लक्ष्मीसँगै सर्वोत्तम स्टील, जगदम्बा स्टील, सर्वोत्तम सिमेन्ट, स्पिनिङ मिल, चिया उद्योगलगायतमा लगानी गरेको छ। उक्त ग्रुपअन्तर्गतका अन्य कम्पनीको उत्पादन तथा व्यापारसमेत बजारमा राम्रो रहेको हुँदा लक्ष्मी स्टीलको कर्जा भुक्तानी क्षमता बढाउन सघाउ पुग्ने देखिन्छ।
यद्यपि, लक्ष्मी स्टील चालू पुँजीमा निर्भर हुने उद्योग भएका कारण ग्राहकबाट भुक्तानीमा ढिलाइ भए नगद प्रवाहमा समस्या चाँडै देखिन्छ। साेही कारण कम्पनीले चालू पुँजी कर्जा लिएर दैनिक सञ्चालन खर्च व्यवस्थापन गर्नुपरेको छ।