काठमाडौं। नेपालमा पहिलोपटक आयोजना हुन लागेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ विभिन्न अटो ब्रान्डको आकर्षण केन्द्र बन्ने देखिएको छ। नेपाल अटोमोबाइल इम्पोर्टस् एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा सञ्चालन हुने एक्स्पोमा दर्जनौं नयाँ मोडलका गाडी प्रदर्शनीसँगै ब्रान्डबीच प्रतिस्पर्धा हुने देखिएको हो।
‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ आगामी साउन २१ देखि २५ सम्म भृकुटीमण्डपमा सञ्चालन हुँदै छ। नाइमा मोबिलिटी एक्स्पोको मिति नजिकिँदै गर्दा नेपाली अटो बजारमा प्रतिस्पर्धी ब्रान्ड भित्रिने क्रम तीव्र छ। एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी), हाइब्रिड र डिजेल÷पेट्रोल सवारीसाधन प्रदर्शनी हुने व्यवसायीले बताएका छन्।
पहिलो पटक हुन लागेको नाइमा मोबिलिटी एक्स्पोमा पनि नाडा अटो शोजस्तै ईभी गाडीको वर्चस्वको सम्भावना उच्च छ। नाइमा मोबिलिटी एक्स्पोमा अधिकांश चिनियाँ ब्रान्ड देखिनेछन्। एक्स्पोमा विगतमा लोकप्रिय बनेका ब्रान्डसँगै नयाँ उत्पादनबीचको रोचक उपस्थिति र प्रतिस्पर्धाले नेपाली अटो बजारलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।
नाइमा मोबिलिटी एक्स्पोमा दर्जन नयाँ मोडलका गाडी आउनेछन्। व्यवसायीका अनुसार नाइमा मोबिलिटी एक्स्पोमा ‘सोकेस’ गरिने केही नयाँ मोडल नेपाल आइसकेका छन् भने केही आउने क्रममा छन्। गाडी आयातकर्ताले नाइमा मोबिलिटी एक्स्पोलाई विशेष बनाउन नयाँ गाडी लन्चलाई प्राथमिकतामा राखेका छन्।
नाइमाका अनुसार एक्स्पोमा लगभग ५० वटा ब्रान्डका चारपांग्रे र दुईपांग्रे सवारी सहभागी हुनेछन्। यसपटक पुराना नाडा अटो शोमा वर्षौंदेखि भाग नलिएका ब्रान्ड पनि सहभागी हुनेछन्। प्रायः सबै आयातकर्ताले स्टल बुकिङ गराइसकेका छन्न्।
कुन ब्रान्डले के ल्याउँदै छन्?
लिपमोटर बी–१०
पहिलो पटक हुन लागेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा लिपमोटर बी–१० आउने भएको छ। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले लिपमोटर बी–१० ल्याउने घोषणा गरेको छ।
लिपमोटर बी–१० मा दुई ब्याट्री अप्सन पाउन सकिन्छ। यसमा ५६.२ किलोवाट र ६७.१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री उपलब्ध छ। बी–१० मा उपलब्ध ५६.२ किलोवाट आवरको ब्याट्रीले ५१० किलोमिटर र ६७.१ किलोवाट आवरको ब्याट्रीले ६०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
बी–१० मा १४.६ इन्चको सस्पेन्डेड टचस्क्रिन, ८.८ इन्चको एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर र टु–स्पोक डी आकारको स्टेयरिङ ह्वील छ। सेन्टर कन्सोलमा दुई वायरलेस चार्जिङ प्याड समावेश छन्। गाडीमा क्वालकम स्न्यापड्रागन ८२९५ चिप र क्लाउडमा आधारित एआई भ्वाइस असिस्टेन्ट प्रयोग गरिएको छ। बी–१० मा १.८३–वर्ग–मिटर सनरुफ र १२ स्पिकर समावेश छन्।
जेक्को जे–५
नेपालका लागि जेक्को गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नाइमा मोबिलिटी एक्सपोमा जे–५ ईभी प्रदर्शन गर्ने भएको छ। सांघाई अटो सोमा प्रदर्शन गरिएको जे–५ अफरोड तथा एडभेन्चर राइडिङका लागि डिजाइन गरिएको छ। यो गाडीको एक्स्टेरियर (बाहिरी आवरण) को डिजाइन प्रकृति–प्रेरित छ।
जे–५ मा ६९.८ किलोवाट आवरको लिथियम आयन ब्याट्री दिइएको छ। यसमा २०८ किलोवाटको मोटर जडान गरिएको छ, जसले २८३ पीएस पावर र ३८५ एनएम टर्क दिन्छ। जे–५ एक पटकको फुल चार्जमा ५०१ किलोमिटर सम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ।
जे–५ मा १३.२ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, ३६० डिग्री क्यामेरा दिइएको छ। यसमा १३२० एमएम चौडाइ भएका सिटसहित प्रशस्त स्पेस उपलब्ध छ। ४८० लिटरको स्ट्यान्डर्ड ट्रङ स्पेस रहेको गाडीको स्पेस ११८० लिटरसम्म बढाउन सकिन्छ। कम्पनीले जे फाइभलाई आउटडोर÷अफरोड राइडरका साथै ‘पेट फ्रेन्ड्ली’ एसयूभीको रुपमा प्रस्तुत गरेको छ।
भी–२३
नाइमा मोबिलिटी एक्सपो २०२५ मा नेपाली बजारमा आउने ईभी गाडी जेक्को भी–२३ हो। यो गाडी नेपाली बजारमा जेक्को गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ल्याउनेछ। सहरी क्षेत्र र केही अफरोड बाटामा पनि सहजै चलाउन सकिने भी–२३ लाइफ स्टाइल प्रोडक्टको रुपमा बजारमा आउनेछ।
जेको भी–२३ मोडलमा ५९.९३ र ८१.७६ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिइएको छ। सानो ब्याट्री एलएफपी हो भने ठूलो ब्याट्री टर्नरी लिथियम हो। यी ब्याट्रीको रेन्ज क्रमशः ४०१ र ५०१ किलोमिटर रहेको सीएलटीसीले प्रमाणित गरेको छ।
एलईभी–०५
एलएस अटोले दोस्रो मोडलको रुपमा बनाएको एलईभी–०५ आगामी नाइमा अटो शोमा नेपाल आउने भएको छ। नेपालका लागि एलएस अटोका आधिकारिक वितरक नेक्सन भेन्चर प्रालीले आगामी नाइमा अटो शोमा एलईभी–०५ ल्याउने घोषणा गरेको हो। एलईभी–०५ प्रिमियम ह्याचब्याक सेग्मेन्टको इलेक्ट्रिक कार हो।
एलईभी–०५ मा ५६ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिइएको छ। यसले सिंगल चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीले जनाएको छ। यसको लम्बाइ ४२०० एमएम, चौडाइ १७७० एमएम र उचाइ १६१० एमएम छ। यो कारमा २६५० एमएम लामो ह्विलबेस छ। यसको ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहेको छ।
यसमा १७ इन्चको एलोय ह्वील रहेको छ। कम्पनीले यसलाई ५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटरमा ल्याउनेछ। यसको अधिकतम टर्क १८० न्यूटन मिटर छ। यो कारमा सबैभन्दा ठूलो साइजको ब्याट्रीप्याक छ। यो कारलाई ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिन्छ।
एलईभी एक्स
एलएस अटोले बनाएको तेस्रो मोडल एलईभी एक्स हो। एलईभी एक्स पनि नाइमा अटो सोमा आउने कम्पनीले जनाएको छ। क्रसओभर एसयूभी डिजाइनको यो ईभी यसअघि नेपाली बजारमा बिक्री भइरहेको एलईभी ०१ को फोर ह्वील ड्राइभ भर्सन हो।
एलईभी एक्समा मोटर पावरका साथै, केही फिचरहरु थप भएर आउने कम्पनीले जनाएको छ। एलईभी एक्समा फ्रन्ट र रियर गरी २०० किलोवाटको मोटर रहनेछ। यसमा ७७ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। एलईभी एक्सको ड्यासबोर्डमा नयाँ डिजाइनको एसी भेन्ट आएको छ। गाडीको फ्रन्टमा हाइड्रोलिक बोनेट र थप लगेज स्टोरेजका लागि फ्रङ्सनसमेत थपिएको छ।
प्रिमियम डिजाइन रहेको एलईभी ०१ मा होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ। लेदरेट स्टेरिङ ह्वील तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टिकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्स्ट्रमेन्टल क्लस्टर, प्यानोरोमिक सनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता सुविधा छन्।
सुरक्षाका लागि यसमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल आदि सुविधा दिइएको छ। युरो एनक्यापबाट क्रयास टेस्टमा ५ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। गाडीमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ।
फरथीङ फ्राइडे
चिनियाँ ब्रान्ड डोङफेङको फरथीङ फ्राइडे लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले नेपाल ल्याइसकेको छ। फरथीङ फ्राइडे परीक्षण भइरहेको कम्पनीले जनाएको छ। फ्राइडे एसयूभीमा ६४.४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक दिइएको छ। यसमा ९९ किलोवाटको मोटर जडान गरिएको छ। डोङफेङमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ।
ब्याट्रीलाई ११ किलोवाटको एसी चार्जर र १२० किलोवाटसम्मको डिसी चार्जरले चार्ज गर्न सकिन्छ। उक्त ब्याट्री प्याकलाई ११ किलोवाटको एसी चार्जरले ५.५ घन्टामा फुल चार्ज गर्ने कम्पनीले जनाएको छ। त्यस्तै, १२० किलोवाट आवरको डीसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
फरथीङ फ्राइडेको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम छ। यसको ह्वीलबेस २७१५ एमएम छ। प्रिमियम लाग्ने एसयूभीमा १९ इन्च ठूलो ह्वील पाउन सकिन्छ। फरथीङ फ्राइडेमा भेन्टिलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध गराएको छ।
८.८ इन्चको एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६ स्पिकरसहितको म्युजिक सिस्टमलगायत फिचर पाउन सकिन्छ।
महेन्द्रा बीई–६ र महेन्द्रा एक्सईभी–९ ई
नेपालका लागि महेन्द्रा गाडीको आधिकारिक वितरक अग्नि इन्कर्पाेरेट प्रालिले महेन्द्रा बीई–६ र महेन्द्रा एक्सईभी–९ नेपाली बजारमा ल्याइसकेको छ। कम्पनीले यी दुई मोडलका गाडी नेपाली बजारमा परीक्षण गरिरहेको छ। नेपालमा परीक्षण भइरहेको बीई–६ नाइमा मोबिलिटी एक्स्पोमा प्रदर्शनी गर्ने कम्पनीले जनाएको छ।
बीई–६ का दुई भेरियन्ट नाइमा मोबिलिटी एक्स्पोमा देख्न सकिन्छ। महेन्द्रा बीई–६ दुई ब्याट्री अप्सनमा उपलब्ध छ। यो ५९ किलोवाट र ७९ किलोवाट आवरको ब्याट्री प्याकमा पाउन सकिन्छ।
कम्पनीले भन्सार प्रयोजनका लागि ५९ किलोवाट आवरको ब्याट्री अप्सनको मूल्य ७६ लाख ३० हजार र ७९ किलोवाट आवर ब्याट्री भएको भेरियन्टको मूल्य ८३ लाख ८० हजार रुपैयाँ तोकेको छ। दुवै भेरियन्ट ९९ किलोवाट पिक पावरको इलेक्ट्रिक मोटरमा उपलब्ध हुनेछ।
त्यसैगरी एक्सईभी–९ ई का तीन भेरियन्ट नेपालमा उपलब्ध हुनेछन्। यी तीन भेरियन्टको मूल्य क्रमशः ७७ लाख ६५ हजार, ८७ लाख १५ हजार र १ करोड ७ लाख रुपैयाँ हुनेछ। यद्यपि यो मूल्यमा केही परिवर्तन हुन सक्ने कम्पनीले जनाएको छ। दुवै गाडीमा ९९ किलोवाटको मोटर छ भने एक्सईभी–९ ईको एउटा भेरियन्टमा १९९ किलोवाटको मोटर छ।