काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी ऐनसेलले लैनचौरस्थित मुख्य कार्यालय ‘एनसेल आइकन’मा जेनजी आन्दोलनका क्रममा गत भदौ २४ मा भएको तोडफोड, आगजनी र डकैती प्रकरणबारे सिसीटिभी फुटेजसहित जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएको छ।
जेनजी आन्दोलनको नाममा अपराधी समूहले कार्यालयमा आक्रमण गरी ठूलो भौतिक र आर्थिक क्षति पुर्याएको एनसेलले जनाएको छ।
आगलागी र तोडफोडमा संलग्न अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन, डकैतीमा हराएका सामान फिर्ता दिलाउन र क्षतिपूर्ति दिलाउन एनसेलले माग गरेको छ।
सुरक्षाकर्मीलाई धम्की दिई कोठामा थुनेर भवनमा तोडफोड र आगजनी गरिएको, ग्राहक सेवाकेन्द्रदेखि कार्यालयका विभिन्न तलामा रहेका कागजात, कम्प्युटर, इलेक्ट्रोनिक उपकरण, फिटनेस सामग्री, गाडीमा आगलागी गरिएको, बहुमूल्य सम्पत्ति नष्ट वा डकैती गरिएको उजुरीमा उल्लेख छ।
लुटपाट आगजनी गरिँदा कर्मचारीका व्यक्तिगत सामान र गहनासमेत लुटिएको एनसेलले बताएको छ।
प्रहरीको अनुसन्धानलाई सघाउन सम्पत्तिको क्षति विवरण र लुटिएका सामग्रीको सूची उपलब्ध गराएको एनसेलले जनाएको छ।