काठमाडौं। नेपाल राष्ट्र बैंकले डिजाइन परिवर्तन गरेर हजार दरका नोट छपाइ गर्ने भएको छ। भारतीय नोट छपाइ कम्पनीसँग सम्झौता रद्द भएपछि पुरानो डिजाइन परिवर्तन गरेर नोट छपाउने प्रक्रिया अघि बढाएको हो।
बजारमा हजार दरका नोट अभाव हुँदै गएपछि राष्ट्र बैंकले नयाँ छपाइ प्रक्रिया अघि बढाएको छ भने अघिल्लो छपाइ ठेक्का सम्झौता रद्द भएका कारण नयाँ डिजाइनमा नोट छपाउन सरकारसँग अनुमति लिन लागेको हो।
राष्ट्र बैंकले २०७९ भदौमा हजार दरका नोट छपाइका लागि बोलपत्र आह्वान गर्दै मंसिरमा भारत सरकार स्वामित्वको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पाेरेसन अफ इन्डिया)लाई ठेक्का दिएको थियो। राष्ट्र बैंकले भारतीय कम्पनीसँग ११ लाख ३४ हजार अमेरिकी डलर अर्थात् त्यतिबेलाको विदेशी विनिमय दरअनुसार १ अर्ब ४५ करोड ८६ लाख रुपैयाँमा हजार दरका ४३ थान नोट डिजाइन, छपाइ र ढुवानीको काम गर्ने सम्झौता गरेको हो।
उक्त समय चीनको बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, कासा, डा मोइडा डु ब्राजिल र ओभरथुर फिड्युसियरे एसएएस फ्रान्सले समेत नोट छपाइ ठेक्काका लागि बोलकबोल पेस गरेका थिए। तर, आर्थिक र प्राविधिक रुपमा उपयुक्त रहेको भन्दै राष्ट्र बैंकले भारतीय कम्पनी छनोट गरेको थियो।
मापदण्डअनुसारको नोट नछापेपछि राष्ट्र बैंकले सम्झौता रद्द गरी कम्पनीलाई कालोसूचीमा राखेको छ। भारतीय नोट छपाइ कम्पनीलाई राष्ट्र बैंकले पुरानै डिजाइनमा नोट छपाउन दिएको थियो। पुरानो ठेक्का रद्द भएपछि डिजाइ परिवर्तन गरेर नयाँ छपाइ ठेक्का दिन लागिएको राष्ट्र बैंकका उच्च अधिकारीले बताए।
‘बजारमा हजार दरका नोटको उपलब्धता कम हुँदै गएको गुनासो आइरहेको हुँदा त्यसलाई सम्बोधन गर्ने नोट छपाइ प्रक्रिया अघि बढाइएको छ,’ राष्ट्र बैंक स्रोतले क्यापिटल नेपालसँग भने, ‘अब छपाउँदा यसअघि रद्द भएको भारतीय छपाइ कम्पनीलाई दिएको डिजाइन परिवर्तन गर्नुपर्ने हुन्छ। नोटको डिजाइन र परिवर्तन प्राविधिक इपिसिफिकेसन परिर्वतन गर्नेबारे बोर्डले निर्णय गरिसकेको छ।’
राष्ट्र बैंकले भारतीय कम्पनीसँग ११ लाख ३४ हजार अमेरिकी डलर अर्थात् त्यतिबेलाको विदेशी विनिमय दरअनुसार १ अर्ब ४५ करोड ८६ लाख रुपैयाँमा हजार दरका ४३ थान नोट डिजाइन, छपाइ र ढुवानीको काम गर्ने सम्झौता गरेको हो।
राष्ट्र बैंकको गत साता बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो। बोर्डले हजार दरका नोटको डिजाइन परिवर्तन स्वीकृति सरकारसँग लिनेबारे निर्णय गरेको स्रोत बताउँछ।
‘एक हजार दरका नयाँ नोटको डिजाइन र प्राविधिक इपिसिफिकेसन स्वीकृतिका लागि सरकारसमक्ष पठाउने निर्णय बोर्ड बैठकले गरिसकेको छ। पहिलेकै डिजाइनमा छाप्न स्वीकृति लिनुपर्ने थिएन तर, पहिलेको बिड रद्द भएको हुँदा डिजाइन परिवर्तन गरेर छपाउनुपर्नेछ। नोटको डिजाइन परिवर्तन गर्न त्यसको स्वीकृति सरकारबाटै लिनुपर्ने हुन्छ,’ स्रोतले भन्यो।
प्राविधिक इपिसिफिकेसन राष्ट्र बैंकको बोर्डले नै स्वीकृत गर्ने हो। नोटमा नदेखिने सुरक्षणलाई प्राविधिक इपिसिफिकेसन भनिन्छ। तर, हजार दरका नोट झट्टा हेर्दा नै परिवर्तित देखिने गरी डिजाइन परिवर्तन गरेर छपाउन भने मन्त्रिपरिषद् बैठकले नै पारित गर्नुपर्ने हुन्छ। राष्ट्र बैंकले हाल चलनचल्तीमा रहेका हजार दरका नोटको थे्रड, रंग, जनावर, चित्रलगायत डिजाइन परिवर्तन गर्न लागिएको हो।
तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले समेत आफ्नो बिदाइ समारोहमा एक हजार रुपैयाँ दरका नोट छपाइ यसअघि रद्द गरिएको हुँदा सो दरका नोट छपाइ नयाँ डिजाइन तय गरेर मात्र गर्नुपर्ने बताएका थिए। सोहीअनुसार राष्ट्र बैंकले डिजाइन परिवर्तन गरेर नयाँ नोट छपाइका लागि अर्थ मन्त्रालयमार्फत सरकारसँग स्वीकृति लिन लागेको हो।
अर्थ मन्त्रालयले राष्ट्र बैंकले पठाएको डिजाइन मन्त्रिपरिषद् बैठकमा पेस गरेर स्वीकृत भएपछि मात्रै राष्ट्र बैंकले हजार दरका नोट स्वीकृति डिजाइनमा छपाउन आवश्यक अन्य प्रक्रिया सुरु गर्छ।
बोर्डको निणर्यअनुसार मुद्रा व्यवस्थापन विभागले आवश्यक काम गरिरहेको छ। त्यसपछि नयाँ डिजाइनका नोट छपाइको स्वीकृतिका लागि गभर्नरको हस्ताक्षरसहितको पत्र अर्थ मन्त्रालय पठाउनुपर्छ। स्वीकृत भएपछि छपाइका अन्य प्रक्रिया सुरु भएको १३ महिनापछि मात्रै नोट छापिन्छ।
राष्ट्र बैंकले २०७६ असार १२ मा हजार दरका नोट छपाइका लागि बोलपत्र आह्वान गरी असोजमा चिनियाँ कम्पनीलाई जिम्मा दिएको थियो। विभागले हजार दरका ४० करोड थान नोट चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनसँग ९१ लाख ९० हजार अमेरिकी डलर (उक्त समयको विदेशी मुद्रा सटही दरअनुसार) नेपाली १ अर्ब ५ करोड रुपैयाँ खर्चिएर छपाएको थियो।
राष्ट्र बैंकले ७ वर्षअघि नोट छपाइ गरेको ४ खर्ब १० अर्बबराबरको ४० करोड थान हजार दरका नोट हालसम्म सर्वसाधारणका हातमा छन्। उक्त समय छपाइ गरिएका यी नोट राष्ट्र बैंकले यसबीचको चाडपर्वमा सर्वसाधारणलाई सटही गरेको थियो भने अहिले पनि बैंक काउन्टर र एटीएमबाट पाइने हजार दरका नोट त्यतिबेलै छापिएका हुन्।