काठमाडौं। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले असार दोस्रो सातासम्म ३५० उद्यमीलाई २४ करोड स्टार्टअप उद्यम कर्जा वितरण गरिएको विवरण सार्वजनिक गरेको छ।
चालू आर्थिक वर्ष २०८१/८२ मा स्टार्टअप उद्यम कर्जाका लागि छनोट भएका ६६१ मध्ये असार दोस्रो सातासम्म ३५३ उद्यमीले २४ करोड १३ लाख ६० हजार ऋण लिएका हुन्।
असारभित्र छनोट भएका सबै उद्यमीलाई कर्जा प्रवाह गरिसक्ने योजना रहेको प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले बताए। नवउद्यमीलाई ३ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा वितरण गरिएको छ। छनोटमा परेकालाई न्यूनतम ५ देखि २५ लाख रुपैयाँसम्म कर्जा दिइँदै आएको गुप्ताको भनाइ छ।
ऋणका लागि सिफारिस भएका उद्यमीलाई सम्बन्धित जिल्लामा अवस्थित राष्ट्रिय वाणिज्य बैंकमार्फत तीन किस्तामा कर्जा वितरण गरिन थालेको छ।
स्टार्टअप उद्यम कार्यविधिमा बैंकले ५ लाखसम्म कर्जाको हकमा एक किस्ता, १५ लाखँसम्म दोस्रो किस्ता र त्यसमाथि तेस्रो किस्ता कर्जा वितरण गर्ने उल्लेख छ। छनोटमा परेका उद्यमीलाई स्थलगत निरीक्षण गरेर मात्र बैंकले कर्जा वितरण गर्छ। सरकारले चालू आवको बजेटमा स्टार्टअप कर्जा उपलब्ध गराउन १ अर्ब छुट्याएको छ।
स्टार्टअप उद्यम कर्जा सूचना प्रविधि, पर्यटन, फर्निचर, लघु उद्योग, निर्माण सामग्री, वर्कसप, गार्मेन्ट तथा ह्यान्डी क्राफ्ट उद्योग, फेब्रिकेसन, मेटल तथा ग्लास, क्याफे तथा रेस्टुराँ, स्पोर्टस् तथा संगीत, होस्टल, खाद्य प्रशोधन, कृषि तथा पशुपन्छी उद्यमका लागि दिइने गरेको छ ।
प्रतिष्ठानले गत आवमा १६५ उद्यमीलाई २१ करोड कर्जा प्रवाह गरेको थियो। आगामी आर्थिक वर्ष २०८२/८२ को बजेटमार्फत स्टार्टअप उद्यम कर्जा वितरणका लागि ७३ करोड रुपैयाँ छुट्याइएको छ।