काठमाडौं। बेलायतको लन्डनस्थित नेपाली दूतावासमा नेपाल–युके टेक फोरम आयोजना गरिएको छ। दुवै देशका नीति निर्माता, कूटनीतिज्ञ, व्यावसायिक नेता र प्रविधि उद्यमीले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी तथा सहकार्यका थुप्रै सम्भावना रहेकाले नेपालमा बेलायती लगानीकर्तालाई आमन्त्रण गरिएको आयोजक नेपाल जर्मन उद्योग वाणिज्य संघले जनाएको छ।
कार्यक्रममा बेलायतमा मुख्यालय रहेको सूचना प्रविधिसम्बन्धी कम्पनी जेनेस सलुसनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपाली युवा जनशक्तिले विश्व बजारमा गुणस्तरीय सेवा दिइरहेकाले नेपालमा लागत कम र गुणस्तर उच्च रहेको तथ्यांक प्रस्तुत गरिन्। उनले नेपालका सबै प्रदेशमा प्रविधि पूर्वाधार विस्तार गर्दै लैजानुपर्ने धारणा व्यक्त गरिन्।
नेपालका सूचना प्रविधिसम्बन्धी कम्पनीको प्रतिनिधि संस्था, नास आईटीका अध्यक्ष सन्तोष कोइरालाले अहिले करिब ९० हजार युवा सूचना प्रविधि क्षेत्रमा कार्यरत रहेको जानकारी दिए।
हाल वार्षिक करिब ८० करोड अमेरिकी डलर बराबरको आम्दानी आईटी क्षेत्रबाट नेपालले लिँदै आएको उनको भनाइ छ। ‘हाम्रो कुल निर्यातको ७५ प्रतिशतभन्दा बढी अमेरिका जान्छ। अबको चार÷पाँच वर्षमा हामी ब्रिटेनमा पनि बजार विस्तार गर्न चाहन्छौं’, उनले भने।
यस्तै, डोल्मा इम्प्याक्ट फन्डका संस्थापक टिम गोचरले नेपालको हिमाली भेगको चिसो मौसम, स्वच्छ ऊर्जा र डिजिटल जनशक्तिलाई विश्वस्तरीय डेटा सेन्टर निर्माण गर्न सकिने धारणा व्यक्त गरे।
लन्डनस्थित नेपाली दूतावासका अनुसार बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपाल दक्षिण एसियाको सबैभन्दा लोकतान्त्रिक र समावेशी मुलुकमध्ये एक भएको बताए। पछिल्लो समय भएको आर्थिक तथा नीतिगत सुधारको उल्लेख गर्दै नेपाल अहिले ऊर्जा निर्यात गर्ने देश बनेको छ र जीवन्त आईटी बजार रहेको उनको भनाइ छ।
राजदूत घिमिरेले बेलायती कम्पनीलाई नेपालको आईटी सेवा आउटसोर्स र नेपालमा लगानी गर्न आग्रह गरे। नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालमा ब्रिटिस लगानी लगानी भित्र्याउन र द्विपक्षीय व्यापार वृद्धि गर्न अहिले उपयुक्त समय आएको बताए। उनले आईटी र नवीकरणीय ऊर्जामा लगानीका लागि आधार तयार भएको बताउँदै नेपाल र युकेबीच दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको पनि जनाए।
नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सूचना प्रविधि, डिजिटल सेवाजस्ता उदाउँदो क्षेत्रको रहे पनि डिजिटल र सेवा क्षेत्रमा नेपालले विश्वस्तरीय प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाएको बताए। ‘हामी संयुक्त लगानी उद्यम, ई–शासन र अन्य साझेदारीका लागि खुला छौं। डिजिटल भविष्य निर्माणमा हामी तपाईंलाई सहकार्य गर्न आमन्त्रण गर्छौं’, उनले भने।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालले ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउँदै नेपालले सूचना प्रविधिमा शतप्रतिशत प्रत्यक्ष विदेशी लगानी गर्न अनुमति, सात वर्षसम्म कर छुट र मुनाफा फिर्ता लैजान सक्ने सुविधा दिएको जानकारी गराए।
उनले सातै प्रदेशमा आईटी पार्क निर्माण र प्रधानमन्त्रीको अध्यक्षतामा आईटी प्रवर्द्धन बोर्ड स्थापना गर्ने योजना रहेकोसमेत सुनाए। उनले विदेशी लगानीकर्तालाई सहजीकरण गर्न बोर्ड तयार रहेको जनाए।
डोल्मा इम्प्याक्ट फन्डका संस्थापक टिम गोचरले कृत्रिम बुद्धिमत्ता र डेटा सेन्टरमार्फत नेपालको उत्पादनशीलता बढाउने अपार सम्भावना रहेको बताए। नेपालको हिमाली भेगको चिसो मौसम, स्वच्छ ऊर्जा र डिजिटल जनशक्तिलाई परिचालन गरी विश्वस्तरीय डेटा सेन्टर निर्माण गर्न सकिने उनको भनाइ छ।
ब्रिटिस संसद्मा ‘अल नेपाल पार्लियामेन्टरी ग्रुप’ की अध्यक्ष सांसद एलेक्स बेकरले नेपाल तथा युकेबीच सीधा हवाई सेवा सुरु गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा आइएमई ग्रुपका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल क्लियरिङ हाउसका सीईओ नीलेशमान सिंह प्रधान, जेनेस सलुसका ग्लोबल सिटिओ निरञ्जन कुँवर, बेलायतमा कार्यरत युवा उद्यमी रुवि राउत, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा कपिल रिजाललगायतले नेपाल तथा युकेबीच व्यापार तथा लगानी बढाउन थुप्रै सम्भावना रहेको औंल्याए।