काठमाडौं। पछिल्ला केही वर्षदेखि निरन्तर बढ्दै आएको विद्युतीय सवारी साधन (इभी)को आयात यस वर्ष स्थिर देखिएको छ। पछिल्लो केही वर्ष बढ्दै आएको सवारी साधनको आयात गत आर्थिक वर्षमा स्थिर देखिएको हो।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा इभी गाडी आयात अघिल्लो वर्षकै हाराहारीमा देखिएको हो। समग्रमा सवारी साधन आयात स्थिर देखिए पनि दुई पांग्रेको आयात दोब्बर बढीले वृद्धि भएको छ। यसले नेपाली अटो बजारमा दुई पांग्रे सवारी साधन प्रयोगकर्ता संख्या बढ्दै गएको देखाउँछ।
आर्थिक वर्ष २०८१/८२ को एक वर्षमा साढे १३ हजार इभी नेपाल भित्रिएको छ। भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनदेखि असारसम्म १३ हजार ५७८ युनिट इभी गाडी नेपाल भित्रिएको हो।
आर्थिक वर्ष २०८१/८२ को एक वर्ष अवधिमा ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको १३ हजार ५७८ युनिट विद्युतीय गाडी नेपाल भित्रिएको छ। उक्त आयातबाट सरकारले १९ अर्ब ७० करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा ८७८ युनिट बढी विद्युतीय गाडी आयात भएको हो।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २९ अर्ब ४७ करोड ४३ हजार रुपैयाँ बराबरको १२ हजार ७०० युनिट विद्युतीय गाडी आयात भएको थियो। उक्त आयातबाट सरकारले १३ अर्ब ६० करोड ७३ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।
कुन सेग्मेन्टका आयात कति?
गत आर्थिक वर्ष सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट मोटर क्षमताका गाडी आयात भएका छन्। यस अवधिमा ५१ देखि १०० किलोवाट क्षमताका सात हजार ४३१ युनिट विद्युतीय कार, जीप, भ्यान आयात भएको विभागको तथ्यांक छ।
त्यस्तै, ५० किलोवाटसम्मको चार हजार ७३२ युनिट, १०१ देखि २०० किलोवाटसम्मको एक हजार ३६२ युनिट, २०१ देखि ३०० किलोवाटसम्मको ४२ युनिट र ३०० किलोवाटमाथिको दुई युनिट कार, जीप भ्यान आयात भएको छ।
पछिल्लो ६ वर्षको विद्युतीय गाडीको आयात

कमर्सियल इभीको आयात
आर्थिक वर्ष २०८१/८२ को एक वर्ष (साउनदेखि असारसम्म) मा ९ अर्ब ४८ करोड रुपैयाँ बराबरको तीन हजार १३२ युनिट विद्युतीय माइक्रोबस र बस आयात भएको छ। उक्त आयातबाट सरकारले दुई अर्ब १० करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब ९५ करोड रुपैयाँ बराबरको एक हजार ३३० युनिट कमर्सियल ईभी गाडीको आयात भएको थियो उक्त आयातबाट सरकारले ९६ करोड ३४ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।
गत आर्थिक वर्ष कमर्सियल इभीको आयातमा ११ देखि १४ सिटसम्मको एक हजार ८३० आयात भएको छ भने १५ देखि २५ सिटसम्मको एक हजार २६० युनिट र १६ युनिट बस आयात भएको तथ्यांकमा देखिएको छ।
दुई पांग्रे सवारीको आयातमा ५० प्रतिशत वृद्धि
पछिल्लो समय दुई पांग्रे सवारी आयात निरन्तर बढ्न थालेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा दुई पांग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) आयातमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ को एक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ को अवधिमा ५०.१ प्रतिशतले बढेको हो।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा दुई लाख एक हजार ९५२ युनिट दुई पांग्रे सवारी साधन आयात भएका छन्। एक वर्षको अवधिमा नेपालमा २४ अर्ब ५० करोड ६४ लाख रुपैयाँ बराबरको दुई पांग्रे इन्धन सवारी साधन आयात भएका हुन्।
उक्त मोटरसाइकल तथा स्कुटर आयातबाट सरकारले २४ अर्ब ७३ करोड ३६ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ५९ करोड रुपैयाँ बराबरको एक लाख ३४ हजार ५३४ युनिट दुई पांग्रे सवारी आयात भएको थियो। उक्त आयातबाट सरकारले १६ अर्बभन्दा बढी बराबरको राजस्व संकलन गरेको छ।
कोभिडपछि खस्कदै गएको दुई पांग्रे अटोमोबाइल बजार गत वर्षदेखि पुनः पुरानो लयमा फर्किने प्रयास गरिरहेको छ।
पछिल्लो ५ वर्षको दुई पांग्रे सवारीको आयात

विद्युतीय मोटरसाइकल तथा स्कुटर कति आयो?
एक वर्षको अवधिमा नेपालमा दुई पांग्रे मोटरसाइकल तथा स्कुटरको आयात पनि बढेको छ। गत आर्थिक वर्ष साउनदेखि असारसम्म एक अर्ब ६ करोड ४४ लाख मूल्य बराबरको ११ हजार ३१९ युनिट विद्युतीय बाइक तथा स्कुटर आयात भएको छ। उक्त आयातबाट सरकारले ३७ करोड ६४ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
पछिल्लो ५ वर्षको विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात
