अमेरिका। अमेरिकाले चिप निर्यात नियन्त्रण कडा बनाएपछि तीन महिनाको अवधिमा कम्तीमा एक अर्ब अमेरिकी डलर बराबरको एनभिडियाको उच्चस्तरको कृत्रिम बौद्धिक क्षमता (एआई) चिप चीनमा तस्करी भएको फाइनान्सियल टाइम्सले जनाएको छ।
समाचारअनुसार, एनभिडियाद्वारा डिजाइन गरिएका उच्चस्तरीय बी२०० प्रोसेसरहरू (जुन चीनमा बिक्रीमा प्रतिबन्ध छ) चीनका कालो बजारमा सजिलै पाइन्छन्। यो जानकारी बिक्री सम्झौता, कम्पनी दस्तावेज र यस्ता कारोबारबारे प्रत्यक्ष जानकारी राख्ने विभिन्न व्यक्तिहरूको जानकारीका आधारमा दिइएको समाचारमा उल्लेख छ।
एनभिडियाले समाचार संस्था रोयटर्सलाई जानकारी दिँदै तस्करी गरिएका उत्पादनमार्फत डेटा सेन्टर बनाउनु प्राविधिक र आर्थिक रूपमा दुवै हिसाबले अप्ठ्यारो हुने बताएको छ। कम्पनीले केवल आधिकारिक उत्पादनहरूलाई मात्र सेवा र समर्थन दिन्छ।
अमेरिकी वाणिज्य विभाग, ह्वाइट हाउस र थाई सरकारबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन। समाचारअनुसार, मे महिनामा धेरैजसो चिनियाँ वितरकले बी२०० चिप चिनियाँ एआई समूहहरूलाई सेवा दिने डेटा सेन्टर आपूर्तिकर्ताहरूलाई बिक्री गर्न थालेका थिए।
अमेरिका र चीन कृत्रिम बौद्धिकता र अन्य अत्याधुनिक प्रविधिमा नेतृत्वका लागि प्रतिस्पर्धामा छन्। जसले एनभिडिया जस्ता कम्पनीहरूलाई विश्वका दुई ठूला अर्थतन्त्रबीच सन्तुलन कायम गर्न कठिन बनाएको छ।
गत साता एनभिडियाले ट्रम्प प्रशासनले एच २० जस्ता चिपको बिक्रीमा लगाएको निर्यात प्रतिबन्ध फिर्ता लिएपछि फेरि चीनमा बिक्री गर्न अनुमति पाएको जनाएको थियो। ती प्रतिबन्ध अप्रिलमा लगाइएको थियो।
त्यसअघिका तीन महिनामा चीनका ग्वाङ्डोङ, झेज्याङ र आनहुइ प्रान्तका वितरकहरूले एनभिडियाको बी२०० सँगै एच१०० र एच२०० जस्ता अन्य प्रतिबन्धित प्रोसेसरहरू पनि बेचेको समाचारमा उल्लेख छ।
समाचारअनुसार, दक्षिणपूर्वी एसियाली देशहरू चिनियाँ समूहहरूका लागि प्रतिबन्धित चिप प्राप्त गर्ने प्रमुख बजार बनेका छन्। उद्योग विज्ञहरूलाई उद्धृत गर्दै समाचारले भनिएको छ। अमेरिकी वाणिज्य विभागले सेप्टेम्बरभित्र थाइल्याण्ड लगायतका देशहरूमा उच्चस्तरीय एआई उत्पादनहरूको निर्यातमा थप प्रतिबन्ध लगाउने विषयमा छलफल गरिरहेको छ।