काठमाडौं। तपाईहरु साना तथा घरेलु उद्यम गर्दै हुनुहुन्छ। र, आफ्नो उत्पादन बजारसम्म पुर्याउने, आफूलाई चाहिने सामान लिनका लागि सानो रिक्साको खोजीमा हुनुहुन्छ? यदि, हुनुहुन्छ भने तपाईहरुको समस्या समाधान गर्न तरकारी, फलफूल, पानीको ट्यांकरसमेत रहेको विद्युतीय रिक्सा नेपालमै बन्न थालेको छ।
मेड इन नेपालको रुपमा सामुराई ई‑रिक्सा अहिले जारी नाइमा मोबिलिटी एक्स्पो २०२५ मा देख्न पाइन्छ। छोटो दूरीको यात्रा गर्न उपयुक्त मानिने तीन पांग्रे सवारी ई-रिक्सा एमजीपीएल (मेगाटेक प्रालि)ले उत्पादन गरेको हो। मेगाटेक कम्पनीले नेपाली उत्पादन समुराई ब्रान्डको ई-रिक्साका विभिन्न मोडलहरु सोकेश गरिएको छ।
एक्स्पोमा ६ मोडलका ई-रिक्सा सोकेश गरेको छ। कम्पनीले सोकश गरेको वाटर ट्यांकरको मूल्य नौ लाख रुपैयाँ तोकेको छ। गार्बेज कार्टको मूल्य ६ लाख ५० हजार रुपैयाँ छ भने स्कुल भ्यानको रुपमा प्रयोग गर्न मिल्ने ई-रिक्साको मूल्य ६ लाख रुपैयाँ तोकिएको छ। त्यसैगरी फुड भ्यान पाँच लाख ५० हजार रुपैयाँ र भेज कार्टको मूल्य चार लाख ५० हजार रुपैयाँ तोकेको छ।
कम्पनीले हाल देशभर ३ देखि ४ सय डिलरहरूमार्फत आफ्नो उत्पादनहरू बिक्री गर्दै आएको जनाएको छ। अहिले कम्पनी नाइमामा आफ्नो उत्पादनहरू प्रदर्शन मात्र गरिरहेको छ। जसमा समुराई ब्रान्डका ई-रिक्सा स्कुटल भ्यान, समुराई पानी ट्यांकर, गार्बेज कार्ट (फोहोरको गाडी), समुराई लाइभस्टक कार्ट, भेग कार्ट मोडल रहेको छ।
समुराई ब्रान्डका ई-रिक्सा विशेष गरी नेपालमै केही गरौँ भन्ने साना उद्यमी तथा कृषकका लागि लक्षित गरी एसेम्बल गरेको मेगाटेकका प्रबन्ध निर्देशक सुजन थापा बताउँछन्। ‘कम्पनीले नेपाली कृषक र साना उद्यमीलाई लक्षित गरी समुराई ब्रान्डका ई-रिक्सा उत्पादन सुरु गरेको हो,’ उनले भने, ‘अहिले कृषकहरु बिचौलियाको कारण मारमा परिरहेका छन्। त्यसकारण आफ्नो उत्पादन आफै बजारसम्म पुर्याउन सक्ने हिसाबले यो रिक्सा उत्पादन सुरु गरेको हो।’
यसले उनीहरूलाई बिचौलियाको भर नपरी आफ्नोे उत्पादन सीधै बजारसम्म पुर्याउन र सानो लगानीमै दैनिक आम्दानी गर्न सहयोग पुग्ने उनको विश्वास छ।
‘मेड ईन नेपाल’ समुराई ब्रान्डका ई-रिक्सा मानिस बोक्न, स्कुलको भ्यानको रुपमा प्रयोग गर्न, पानी ट्यांकरको रुपमा प्रयोग गर्न, फोहोर बोक्न, सफारीमै पसल सञ्चालन गर्न, होटल सञ्चालन गर्न र ढुवानीका लागि प्रयोग गर्न मिल्ने खालका मोडल छन्।

मेगा टेक कम्पनी नेपालमा पूर्ण रूपमा इलेक्ट्रिक रिक्सा उत्पादन गर्ने पहिलो कम्पनी रहेको प्रबन्ध निर्देशक थापा बताउँछन्। उनले भने, ‘अन्य कम्पनीले चीन वा भारतबाट पार्टस ल्याएर नेपालमा एसेम्बल गर्छन्, तर, हामीले मोरङमै डिजाइनदेखि निर्माणसम्म गर्ने गरेका छौँ।’ मेगा टेक कम्पनीको सातै प्रदेशमा ब्रान्च रहेको उनको भनाइ छ।
ई-रिक्सा उत्पादनको सुरुवात
मेगाटेक कम्पनी मोरङको बुढीगंगामा १५ वर्ष अगाडि स्थापना भएको हो। सुरुवाती चरणमा कम्पनीले सफारीमा प्रयोग हुने एसियन ब्राण्डका ब्याट्री उत्पादन गर्दै आएको थियो। तर, मेगाटेक प्रा.लि.ले पछिल्लो चार वर्षदेखि नेपालमै ई-रिक्सा उत्पादन गर्दै आएको छ।
करिब १५ वर्षअघि मोरङको बुढीगंगामा ब्याट्री उत्पादन गर्ने कम्पनीको रूपमा स्थापना भएको यस कम्पनीले ठूलो लगानीमा ई-रिक्सा उत्पादन सुरु गरेको थापा बताउँछन्।
हालसम्म कम्पनीले ९०० देखि एक हजार युनिट ई-रिक्सा उत्पादन गरिसकेको छ। कम्पनीको उत्पादन क्षमता दैनिक १० देखि १५ युनिट रहेको छ। ई-रिक्सा बनाउन आवश्यक ब्याट्री र धातुका सामग्रीहरू नेपालमै उत्पादन गरिन्छ भने इलेक्ट्रोनिक्स पार्टपुर्जा र डिफ्रेन्सियल जस्ता सामग्रीहरू विदेशबाट आयात गरिने थापा बताउँछन्।
हाल मेगाटेकका ई-रिक्साहरू तराईका प्रायः सबै भेगमा सञ्चालनमा रहेको छ। विशेषगरी धनगढी, नेपालगन्ज र वीरगन्जलगायत क्षेत्रमा यसको राम्रो बजार रहेको प्रबन्ध निर्देशक थापाको भनाइ छ। मेगाटेक कम्पनीमा ३ सय मानिसले प्रत्यक्ष रोजगारी पाएका छन्।
एक्स्पोमा सोकेश गरेका मोडल र तीन विशेषता
समुराई स्कुल भ्यान
मेगा टेक ग्रुप प्रा.लि.ले उत्पादन गरेको ई-रिक्सा स्कुल भ्यानमा १२ भोल्टको ब्याट्री दिइएको छ। कम्पनीले यसमा दुई हजार वाटको मोटर जडान गरेको छ। कम्पनीका अनुसार यसले ८० किलोमिटरसम्म रेन्ज दिनेछ।
स्कुल भ्यानको रुपमा प्रयोग हुने समुराई ई-रिक्साको लम्बाई ३१२० एमएम, चौडाई १२०५ एमएम र चौडाई २१८० एमएम रहेको छ। यसको ग्राउन्ड किल्यरेन्स १६५ एमएम छ। यो नौं सिट क्षमताको रिक्सा हो। यसको मूल्य कम्पनीले ६ लाख रुपैयाँ तोकिएको छ।
समुराई पानी ट्यांकर
‘मेड इन नेपाल’ समुराई पानी ट्यांकरमा ६० भोल्टको लिथिएम ब्याट्री दिएको छ। यसमा दुई हजार वाट तथा ६० भोल्टको मोटर जडान गरिएको छ। यो रिक्साले एक पटकको फुल चार्जमा लोडसहित ८० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। यस रिक्साको क्यापासिटी १०२६ लिटर रहेको छ।
यसको लम्बाई १७१० एमएम, चौडाई एक हजार एमएम र उचाई ६७०० एमएम रहेको छ। यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ। कम्पनीले यसको मूल्य ९ लाख रुपैयाँ तोकेको छ।
समुराई गार्बेज कार्ट (फोहोरको गाडी)
एमजीपीएल कम्पनीले ई-रिक्सामा फोहोर बोक्ने गाडी पनि उत्पादन गरेको छ। कम्पनीले यसमा हाइड्रोलिक सिलिन्डर दिएको जनाएको छ। लिड एसिड ब्याट्री प्रयोग गरेको गारब्याग कार्टमा एक हजार ५०० वाटको मोटर जडान गरिएको छ। यो ई-रिक्साले एक पटकको फुल चार्जमा ७० देखि ८० कलिोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ।
यसको लम्बाई १५२५० एमएम चौडाई १०७० एमएम र उचाई १२१० एमएम रहेको छ। यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ। कम्पनीले यसको गार्बेज भ्यानको मूल्य ६ लाख ५० हजार रुपैयाँ तोकेको छ।
समुराई लाइभस्टक कार्ट
यसको लम्बाई ३१९० एमएम, चौडाई ११८० एमएम र उचाई २००० एमएम रहेको छ। रिक्साको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ। यसमा १२ भोल्टको लिड एसिड ब्याट्री प्रयोग गरिएको छ। कम्पनीले यसमा १ हजार ५०० वाटको मोटर जडान गरेको छ। कम्पनीले यसको मूल्य ५ लाख ५० हजार रुपैयाँ तोकेको छ।
सुमराई भेज कार्ट (तरकारी बोक्ने रिक्सा)
कम्पनीले तरकारी बोक्ने रिक्सा पनि एसेम्बल गरेको छ। एमजीपीएलले उत्पादन गरेको तरकारी बोक्ने रिक्सामा २५० केजीभन्दा धेरै बोक्न सक्ने कम्पनीले जनाएको छ। यसमा १ हजार १०० वाटको मोटर जडान गरेको छ। यसले पनि एक पटको फुल चार्जमा ७० देखि ८० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ।
यसको लम्बाई ३०१० एमएम, चौडाई ११२० एमएम र उचाई २०३० एमएम रहेको छ। यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ। कम्पनीले यसको मूल्य चार लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ।