काठमाडौं। पछिल्लो केही वर्षदेखि नेपाली बजारमा राज गरिरहेको विद्युतीय सवारी साधन (ईभी)को आयातमा गिरावट आएको छ। ईभी आयातमा गिरावट आएसँगै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा उल्लेखनिय वृद्धि भएको हो।
चालू आर्थिक वर्ष २०८२/८३ को सात महिना (साउनदेखि माघसम्म)को अवधिमा १६ हजार ९३५ युनिट कार, जीप, भ्यान आयात भएको छ। सो अवधिमा आयात भएको यो संख्या ईभी र पेट्रोल कार दुवैको संख्या हो। जसमा सबैभन्दा ठूलो हिस्सा अनएसेम्बल रहेको छ।
डिजेल पेट्रोल गाडीको आयातमा उछाल
चालू आर्थिक वर्षमा ईभी कारको आयात घटेसँगै यसको विपरीत पेट्रोल कार आयातमा उछाल आएको छ। सात महिनाको अवधिमा ११ हजार ३९ युनिट डिजेल/पेट्रोल कार आयात भएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष ८ हजार ७६९ युनिट बढी डिजेल/पेट्रोल कार आयात भएको हो।
यस वर्ष आयात भएका गाडीमा सबैभन्दा ठूलो हिस्सा अनएसेम्बलको छ। कुल आयातमा ८२ प्रतिशत हिस्सा अनएसेम्बल रहेको विभागले जनाएको छ। सात महिनाको अवधिमा कुल ११ हजार ३९ युनिट इन्धन कार आयात हुँदा ९ हजार ५५ युनिट अनएसेम्बल गाडी आयात भएको विभागको तथ्यांक छ। गत वर्ष ३०६ युनिट अनएसेम्बल गाडी आयात भएको थियो।
हाल नेपालमा हुन्डाईले मात्रै चार पांग्रे सवारी एसेम्बल गर्ने भएकाले यो सबै कार सोही कम्पनीको हो। हुन्डाईले नेपालमा क्रेटा र भेन्यू उत्पादन गर्दै आएको छ।
चालू आर्थिक वर्षको सात महिनामा कूल ४ अर्ब १४ करोड ४६ लाख रुपैयाँ बराबरको ११ हजार ३९ युनिट डिजेल/पेट्रोल गाडी आयात भएको भन्सार विभागको तथ्यांकले जनाएको छ। डिजेल/पेट्रोल गाडीको आयातबाट सरकारले ९ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्ष २०८१/८२ को सात महिनाको अवधिमा ३ अर्ब २२ लाख रुपैयाँ बराबरको २ हजार २७० युनिट डिजेल/पेट्रोलका इन्धन गाडी आयात भएको थियो। उक्त आयातबाट सरकारले ७ अर्ब ४४ करोड ४५ लाख रुपैयाँ बराबरको राजस्व संकलन प्राप्त गरेको थियो।
ईभी आयात घट्यो
चालू आर्थिक वर्ष २०८२/८३ को सात महिना (साउनदेखि माघसम्म)को अवधिमा ५ हजार ८९६ ईभी भित्रिएका छन्। सात महिनाको अवधिमा १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको ५ हजार ८९६ युनिट ईभी नेपाल भित्रिएको हो। उक्त आयातबाट सरकारले ८ अर्ब ४६ करोड २६ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमो १४ अर्ब ७५ करोड रुपैयाँ बराबरको ६ हजार २५६ युनिट ईभी आयात भएको थियो। उक्त आयातबाट सरकारले ९ अर्ब ८ करोड ४२ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो। गत वर्षको तुलनामा यस वर्ष भित्रिएको ईभी ३६० युनिट कम हो।