काठमाडौं। फुर गेल्जे शेर्पाका लागि हिमाल र हिमाली क्षेत्र नयाँ हैन। तीन दशकदेखि हिमाली क्षेत्रमा हिमालयन शेर्पा एडभेन्चर नामक संस्थाबाट अनवरत रुपमा काम गरिरहेका उनी शेर्पा सामाजिक संजाल र मिडियामा विरलै देखिने व्यक्ति हुन्।
कामसँगै सामाजिक क्षेत्रमा क्रियाशिल रहेका शेर्पा आफ्नो कर्ममा मात्र विश्वास गर्ने व्यक्ति हुन्। कर्म गर्ने तर प्रचार नचाहने व्यक्तिमध्येका फुर गेल्जेको पछिल्लो दैनिकी केही फेरिएको छ। अर्थात, उनी अहिले दैनिक रुपमा मिडियामा छाइरहेका छन्। आफ्नो विगत र भविष्यमा गर्ने कामको फेरिस्ता लिएर विभिन्न मिडियासँगै सामाजिक संजालमा छाइरहेका छन्।
तीन दशकदेखि सामाजिक संजालमा नदेखिए पनि पर्वतारोहण क्षेत्रका लागि उनको अनुहार परिचित हो। अहिले तीनै अनुहार मिडियामा आइरहनु र सार्वजनिक कार्यक्रममा दैनिक जसो देखिनुको एउटै कारण हो, नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचन।
आगामी भदौ ७ गते काठमाडौंमा हुने पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जेले उम्मेदवारी घोषणा गरेका छन्। दशकौंदेखि नेतृत्वको पछाडि रहँदै हिमाल, हिमाली क्षेत्र र त्यस क्षेत्रमा काम गर्नेको हकहितमा बुलन्द आवाज उठाउँदै आएका उनै शेर्पा अहिले नेतृत्वको दाबेदारमा उत्रिएका छन्।
आफ्नो साथीसंगीलाई साथमा लिँदै राजनीतिभन्दा माथि रहँदै आफ्नो क्षेत्रको विकाश र हक अधिकारलाई राज्यसामू राख्ने र हिमाललाई अन्तर्राष्ट्रिय रुपमा प्रचार गरी संरक्षण र सम्वद्र्धनमा अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने मुख्य उद्देश्य बोकेर अहिले उनी चुनावी माहोलमा होमिएका हुन्।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ३ मा जन्मिएका शेर्पा सानैदेखि ट्रेकिङ र आरोहण क्षेत्रमा काम गर्दै पढ्दै आरोहण क्षेत्रमै सक्रिय भए। उनले पढाई र कामलाई समानन्तर रुपमा अगाडि बढाए। पढाई सकेपछि आफ्नै कम्पनी खोलेर व्यवसायिक यात्रामा लम्किरहे।
उनले ६ हजारभन्दा माथिको एक हिमाल आरोहण गरेका छन्। ‘सगरमाथा आरोहण गर्ने सपना भए पनि चार दशकअघि अहिलेको जस्तो हिमाल आरोहण गर्दा पर्याप्त सामाग्री नभएको र वर्षेनी ठूलो संख्यामा हिमाल चढ्न जाने शेर्पाहरुको ज्यान जाने भएकाले परिवारबाट त्यो बेलामा अनुमति पाइनँ,’ उनले भने, ‘बा–आमाको एक्लो सन्तान भएकाले पनि हिमाल चढ्नका लागि रोक्नु भयो।’
हिमाली क्षेत्रको रहन-सहन, समस्या र त्यहाँको वातावरणबारे नजिकबाट नियाल्थ्ये। उनी बाल्यकालदेखि अहिलेसम्म पर्वतीय पर्यटनसँग निकट भएर काम गरिरहेका छन्।
हिमाल नचढे पनि त्यस क्षेत्रमा काम गरे। हिमाल चढेर आउनेसँग त्यसबारे राम्रा-नराम्रो विषयमा सोधखोज गरिरहन्थ्ये। केही समस्या आए सरकारका प्रतिनिधिलाई भनेर समाधानका लागि पहल गरिरहन्थ्ये।
हिमाली क्षेत्रको रहन-सहन, समस्या र त्यहाँको वातावरणबारे नजिकबाट नियाल्थ्ये। उनी बाल्यकालदेखि अहिलेसम्म पर्वतीय पर्यटनसँग निकट भएर काम गरिरहेका छन्।
पर्वतारोहणसँगमा उनी पहिलो पटक सन् १९९९ देखि २००२ सम्म कार्य समिति सदस्य भए। पछि एक कार्यकाल पर्वतारोहण संघमै विदेश विभाग प्रमुखका रुपमा काम गरे। पर्वतारोहण संघले आयोजना गरेको रक्तदान कार्यक्रम, वाल क्लाइमिङ प्रतियोगितामा तीन पटक संयोजक भएर काम गरिसकेका छन्।
त्यसबाहेक नेपालको हिमाली क्षेत्रमा हुने दुर्घटना र परिघटनासँग सधैभरि नजिकबाट नियालेर समाज सेवा र उद्धारको काम गरिरहेका छन्। ‘मेरो जीवनमा सबैभन्दा बढी काम गरेको र समय बिताएको क्षेत्र पर्वतारोहण क्षेत्र नै हो, यसैमा बाँकी समय नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने चाहना राखेको छु,’ उम्मेदवार शेर्पाले भने ‘अहिलेसम्म जे जति ज्ञान हासिल गरेँ, ती सबै पर्वतारोहण संघको नेतृत्वमा रहेर गर्न खोजेको हुँ।’
माउन्टेन टुरिजम युनिभर्सिटीको एजेण्डा
हिमालसम्बन्धी अध्ययन गर्ने राम्रो विद्यालय र विश्वविद्यालय नभएकाले धेरै नेपालीले विदेशमा गएर पढ्नुपर्ने र सिक्नुपर्ने बाध्यता रहँदै आएको छ। ‘अहिले पर्वतारोहणसम्बन्धी पढाई भने केही कलेजमा हुन्छ, तर विश्व विद्यालयकै रुपमा नेपालमा नभएकाले माउन्टेन एडभेञ्चर युनिभरसिटी खोल्नका लागि सुरुवात गर्ने छु,’ अध्यक्षका आकांक्षी शेर्पाले भने, ‘माउन्टेन टुरिजम युनिभरसिटी नेपालमा खोल्न सकियो भने सम्पूर्ण आरोहण गतिविधिसम्बन्धी पढ्न जाने हजारौँ युवाहरुले नेपालमै पढ्न पाउछन्।’
अहिले केही युवाहरुले अन्तर्राष्ट्रिय माउन्टेन गाइड एसोसिएसन महासंघ (युआइएजीएम)का सदस्य लिएका छन्। ती युवाहरुले स्प्रिङ र अटम सिजनमा नेपालमा काम गर्छन र विन्टर सिजनमा संसारभर गएर काम गरिरहेको उनले बताए।
‘यो अध्ययन नेपालमै हुने वातावरण सिर्जना भएमा ती युवाहरु विदेशमा गएर काम गर्नुपर्ने बाध्यतानै हट्छ, यही बसेर लाखौँ रुपैयाँ काम गर्न सक्छन्, नेपालमै राम्रो विश्वविद्यालय सञ्चालन गर्न सके विश्वभरका विद्यार्थीसमेत पढ्न आउछन्,’ उनले भने, ‘किन कि हामी कहाँ त विश्वविद्यालय मात्र हैन उनीहरुले तालिम पनि संसारकै सबैभन्दा अग्लो हिमालमा गर्न पाउछन्, जुन विदेशमा छैन।’
पर्वतारोहण संघको पहलमा माउन्टेन टुरिजम युनिभरसिटी सञ्चालन गर्न सकेमा विश्वका लागि गर्वको विषय हुनेछ। विदेशीहरुलाई अध्ययनका लागि पनि ल्याउन सकिन्छ भन्ने उदाहरण हुन सक्ने उनले बताए।
विश्वकै सबैभन्दा अग्लो सगरमाथा हिमाल रहेको मुलुकमा अहिलेसम्म सुविधा सम्पन्न आरोहणसम्बन्धी तालिम केन्द्र छैन। त्यसका लागि उत्कृष्ठ खालको तालिम केन्द्र सञ्चालन गर्ने उनले प्रतिबद्धता जनाए।
‘विश्वमा नेपालले दिन सक्ने सबैभन्दा ठूलो परिचय भनेकै माउन्टेन टुरिजम हो, जहाँ विश्वमा नभएको हिमाल हामीसँग छ, यसको भूमिका पर्वतारोहण संघले गर्र्नुपर्छ, मेरो प्रमुख एजेण्डानै यही छ’ उनले भने।
विश्वकै सबैभन्दा अग्लो सगरमाथा हिमाल रहेको मुलुकमा अहिलेसम्म सुविधा सम्पन्न आरोहणसम्बन्धी तालिम केन्द्र छैन। त्यसका लागि उत्कृष्ठ खालको तालिम केन्द्र सञ्चालन गर्ने उनले प्रतिबद्धता जनाए।
हाल कोङबुचे, थामे, मनाङ, पोर्चेलगायतका ठाउँमा तालिम केन्द्र सञ्चालनमा रहे पनि समन्वयकारी भूमिका पर्वतारोहण सघंले गर्न नसकिरहेको अवस्थामा त्यसलाई साथमै लिएर उत्कृष्ठ बनाउनेतर्फ ध्यान केन्द्रित गर्दै त्यसलाई अझ राम्रो बनाउँदै अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रको रुपमा विकास गरी विदेशीलाई समेत नेपालमा ल्याउने वातावरण मिलाउने उनको भनाइ छ।
-1755433937.jpg)
‘प्रकृतिले नेपालमा सबैभन्दा अग्लो हिमाल दिएको छ, ८ हजारभन्दा माथिका धेरै हिमाल नेपालमै छन। तर, नेपालीहरुले राम्रोसँग हिमालसम्बन्धी पढ्न नपाएकाले अहिले पनि धेरै विदेशी टुर गाइडहरु नेपालमा आएर काम गरिरहेका छन् र सिकाइरहेका छन्,’ शेर्पाले थपे, ‘अब नेपालीलाई सक्षम बनाउने मेरो अभियान हो।’
संघको सदस्य भएको सबै सदस्यले गर्व महसुस गर्ने गरी सरकारसँग समन्वय गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उकास्न विभिन्न परियोजना सञ्चालन गर्ने उनले बताए। यस्तै, आरोहीको हकहित संरक्षणका लागि र आपतकालीन उदारका लागि आरोही कल्याणकारी कोषलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए। हाल सरकारले यो कोष बनाउने घोषणा गरे पनि पूर्णता पाउन सकिरहेको छैन।
विश्व कीर्तिमानीलाई विमानस्थलमा विषेश सुविधा
अध्यक्षमा निर्वाचित भएपछि हिमाल आरोहण गरेर विश्व कीर्तिमानी राखेका व्यक्तिलाई अन्तर्राष्ट्रिय विमानस्थलमा विषेश सुविधा उपलब्ध गराउनका लागि सरकारसँग पहल गर्ने उनको प्रतिबद्धता छ।
‘विश्व कीर्तिमानी भनेको सामान्य विषय हैन, त्यसैले रेकर्डधारीलाई विषेश सम्मान दिनका लागि विमानस्थल आवतजावतमा छुट्टै व्यवस्था गरेर आफ्नो कीर्तिमानीप्रति गर्व महसुस गर्ने वातावरण मिलाउने प्रतिबद्धता मेरो छ,’ शेर्पाले भने, ‘उहाँहरुको शिर ठाठो हुनु भनेको आम नेपालीको शिर ठाडो हुनु हो, त्यसैले कीर्तिमानी आरोहीको सम्मानका लागि सरकारसँग विषेश पहल गरेर निर्णय गरी कार्यान्वयनमै लैजाने छु।’
हिमाल जोगाउन विषेश पहल
अहिले जलवायु परिवर्तनको नाममा विभिन्न एनजिओ र आइएनजिओहरुले कमाई खाने माध्यमको रुपमा प्रयोग गरिरहेको उनको आरोप छ। ‘हिमाली क्षेत्रमा जलवायु परिवर्तनको कारणले हिमाल र हिमाली क्षेत्रमा ठूलो क्षति हुँदै गएको छ। तर, सहरमा त्यही हिमाल संरक्षण र जलवायु परिवर्तनबारे गोष्टी गरेर करोडौँ रुपैयाँ स्वाहाँ बनाइरहेको छ,’ उनले थपे, ‘हिमाली क्षेत्रमा पछिल्लो समय वर्षैंपिच्छे हिमताल फुटिरेहका छन्, हिमपहिरो गइरहेको छ, त्यसैले जलवायु परिवर्तनले कहाँ असर गरेको छ, त्यसबाट बचाउन के-के गर्न सकिन्छ, के गर्ने भन्ने विषयमा सम्बन्धित ठाउँमा त्यहीका पर्वतारोहीसँगै समन्वय गरेर जिम्मेवारी दिने छु।’
उनीहरुको सुझावअनुसार कुन क्षेत्रमा के-के गर्दा संरक्षण हुन्छ, हिमाल जोगाउन सकिन्छ भनेर काम गर्ने र जलवायु परिवर्तनसम्बन्धी काम गर्ने सघंस्थासँग समन्वय गरेर अगाडि बढ्ने बताए।
स्थानीय स्तरमै रेस्क्यू टिम
युरोप, अमेरिकालगायत मुलुकमा आरोहणमा जानेहरुको उद्धारका लागि छुट्टै रेस्क्यू टिम बनाएको हुन्छ। नेपालमा अहिलेको सबैभन्दा ठूलो समस्या भनेकै रेस्क्यू टिम ढिला पुग्नु हो। जब खराब मौसम हुन्छ, त्यो बेला ठूला दुर्घटनाहरु हुने गरेको छ। जति बेला मौसम बिग्रिन्छ त्यो बेला हुने दुर्घटनाको क्रममा खोजसँगै उद्धारका लागि टिम पठाउन निकै समस्या हुन्छ।
रेस्क्यूमा विज्ञता भएका सबै काठमाडौंमा हुने भएकाले मौसममा आएको समस्यामा तीन चार दिनसम्म पठाउन सकिदैन। त्यसैले हिमाली क्षेत्रहरुमा त्यहीका स्थानीयलाई रेस्क्यूसम्बन्धी तालिम दिने र सम्पूर्ण उपकरण त्यही ठाउँमा राख्ने योजना उनको छ।
ती सबै तालिम प्राप्तहरुलाई हरेक वर्ष तालिम दिने र उनीहरुको सबै सम्पर्क विवरणहरु एकीकृत गरेर राख्दा जुनसुकै बेला हुने दुर्घटनामा तत्कालै उद्धार गर्न सकिन्छ। जसको कारण समयमै उद्धार नभएर ज्यान बचाउन नपाएकालाई बचाउन सकिने उनको योजना छ।
को हुन शेर्पा
पत्रकारिता र अंग्रेजी साहित्यमा स्नातक गरेपछि सन १९९० मा समाजशास्त्रमा स्नातकोत्तर गरे। र, सन १९९२ मा आफ्नै स्वामित्वमा हिमालयन शेर्पा एडभेन्चर स्थापना गरेर आफ्नो व्यवसायिक दायरालाई फराकिलो बनाए। यसरी अघि बढेको शेर्पाको व्यावसायिक यात्रा आज आएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तारसँगै स्थापित भइसकेको छ।
हेली एभरेष्ट, खांग्री एडभेन्चर टुर्स एण्ड ट्राभल्स, कोङदे होटल, शेर्पा सांग्रिला रिसोर्टलगायतका ब्राण्डहरु उनको लगानीमा स्थापित भएको ब्राण्डहरु हुन। आफ्नो व्यवसायको अलावा सामाजिक सेवामा पनि उनि क्रियाशिल छन्। सोही क्रममा कोङ्दे हिमालको काखमा रहेको फाक्दिङ २६१० मिटर उचाई मा १५ शैयाको हिमालयन शेर्पा अस्पताल स्थापना गरेका छन्। नाफा कमाउने उद्देश्यले नभई स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उनको परिवारले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सो अस्पताल स्थापना गरेका हुन्।
त्यसका साथै देशका विभिन्न ठाउँहरुमा हस्पिटल तथा क्लिनिकहरु स्थापना गरेर योगदान गरेका छन्। त्यसैगरी उनले आफ्नै पहल र लगानीमा देशका विभिन्न क्षेत्रमा विद्यालय, गुम्बा तथा मन्दिरहरु निर्माण गर्नुका साथै पर्यटकीय क्षेत्रमा बाटोघाटो निर्माण तथा पुल निर्माण गर्ने काममा समेत योगदान गरेका छन्।
यसअघि विभिन्न कालखण्डमा पर्यटकीय संस्था तथा निकायहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका शेर्पाले आफ्नो कार्यकालमा महत्वपूर्ण कार्यहरु गरिसकेका छन्। नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्य र नेपाल एयरलाइन्सको सञ्चालक समिति सदस्य भएर काम गरिसकेका शेर्पा टानको महासचिव हुँदै उपाध्यक्ष र नेपाल पर्वतारोहण संघको एक कार्यकाल कार्यसमितिमा रहेरसमेत काम गरिसकेका छन्। आरोहण कल्याणकारी कोषलाई उद्देश्य मुताविक सञ्चालन गर्नका लागि व्यक्तिगत तर्फबाट रु। २० लाख सहयोग गर्ने घोषणा गरिसकेका छन्।