काठमाडौं। ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिनामा करिब १८ करोडको बिगो दाबी माग गर्दै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ।
सहकारी रकम ठगी प्रकरणमा आठ जना आरोपी ज्योतिबहादुर भण्डारी, सुवास खत्री, सुरेश अधिकारी, फरार रहेका ज्योति गुरुङ, कुम्भराज गुरुङ, विजयकुमार राई, अर्जुन अराम र प्रितम अधिकारीविरुद्ध ठगी, संगठित अपराध, हुन्डी र क्रिप्टो कारोबारसमेतको कसुरमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेकाे हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन जनालाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो।अपचलन गरिएको रकम प्रतिवादी ज्योति, कुम्भराज, विजयकुमारसँग लिएर ज्योति भण्डारीको निर्देशनमा सुवास तथा अर्जुन अरामले अन्य व्यक्तिमार्फत भारत, सिंगापुर, थाइल्यान्ड, कम्बोडियासमेत पुर्याइएको अभियोगपत्रमा उल्लेख छ।
कुल बिगो १७ करोड ७२ लाख सात हजार १७४ रुपैयाँ कायम गरेर कसुरअनुसार बिगो दाबी माग फरक गरिएको छ। आठमध्ये अन्य प्रतिवादी मुद्दासाथ पेस भएका छन्।