काठमाडौं। २ वर्षअघि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष बन्दै गर्दा करण चौधरी प्रफुल्लित मात्र थिएनन्, जिम्मेवारी थपिएको महसु गर्थे। नाडामा विभिन्न पदाधिकारी निर्वाचन भइरहँदा अध्यक्ष सर्वसम्मत चुनिनु आफैंमा सफल नेतृत्वको परिचय थियो। त्यसैले चौधरीलाई भाग्यमानी अध्यक्षकै रुपमा लिनुपर्छ।
संस्था अगाडि बढिरह्यो। नाडाले हरेक वर्ष नाडा अटो शो आयोजना गर्दै आएको थियो। सबै पदाधिकारी र सबै बिजनेस घराना, जो अटोसँग सम्बन्धित छन्। सबैलाई साथ दिएकै थिए।

समयक्रममा नाडा फुट्दै छ भन्ने हल्ला चलिरहेकै बेला गाडी आयातकर्ता मात्र मिलेर नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) गठन भयो। नाइमा गठन मात्र भएन, नाडा अटो शो जस्तै नाइमा मोबिलिटी एक्स्पो घोषणै भयो।
ठूला बिजनेश घराना सबै नाइमाका सदस्य बने। सोही कारण नाडा अटो शो को भविष्य अन्योल भयो । अब नाडा अटो शो नै हुँदैन कि भन्ने हल्ला र अड्कलबाजीसमेत हुन थाले। जब नाइमाले मोबिलिटी एक्स्पो घोषणा गर्यो, नाडाले पनि तत्कालै पत्रकार सम्मेलन गरी नाडा अटो शो घोषणा गरिहाल्यो।
नाडाले अटो शो घोषणा गरे पनि नाइमामै धेरै अटो कम्पनी समावेश भएकाले सफल हुँदैन भन्ने धेरैले अड्कलबाजी गरेका थिए।
जति बाहिर हल्ला चलिरहन्थे, त्यति नै दबाब अध्यक्ष चौधरीमाथि परिरह्यो। ठूला व्यावसायिक घराना नै नाइमामा सहभागी हुने र नाडा अटो शोमा न्यून अटो कम्पनीले मात्र सहभागिता जनाउने भनेपछि उनको टाउको दुखाइ हुनु स्वाभाविक पनि थियो। तर, अध्यक्ष चौधरीले ती सबै चुनौतीलाई पार गर्दै भिजनका साथ अघि बढे।
नाइमा भन्दा पृथक र उत्कृष्ट गर्नुपर्छ भन्ने चुनौतीलाई अवसरको रुपमा बदल्दै अगाडि बढेका चौधरीले अन्नत सफल रुपमा अटो शो सम्पन्न गरे।

इतिहास बुझाउन भिन्टेज कार, प्रविधि देखाउन फ्लाइङ कार
साता अघिसम्म नाइमा मोबिलिटी एक्स्पोमा गाडी हेरेका दर्शकलाई नयाँ के देखाएर नाडा अटो शोमा ल्याउने भन्ने चिन्ता अध्यक्ष चौधरीमा रहनु स्वाभाविक थियो। अटो शोलाई व्यापारको माध्यम मात्र हैन प्रविधिको विकास र त्यसको प्रभावबारे जानकारी लिने गतिलो माध्यम बनाउनुपर्छ भन्ने सोचका साथ अध्यक्ष चौधरी परामर्शमा लागे।
त्यही बेला वैशाखमा सम्पन्न संघाई अटो शोमा फ्लाइङ कारको चर्चा सम्झिए। अटो शोमा फ्लाइङ कारमा दर्शक झुम्मिएको देखेको र सुनेको आधारमा उनले नाडा अटो शोमा पनि ल्याउन पाए हुन्थ्यो भन्ने कल्पना गरे।
कसरी ल्याउन सकिन्छ भन्ने परामर्शमा लागे। त्यही बेला एमएडब्लूका निर्देशक विवेक सिकारियासँग संवाद गरे। डिपल गाडीसँगै फ्लाइङ कार पनि ल्याउने निधो भयो। विश्वमै प्रचलनमा नरहेको तर, निर्माण भइरहेको फ्लाइङ कारदेखि रोबोटसम्मलाई नेपालमा ल्याएर नयाँ तथा पुराना पुस्तालाई विश्व बजारमा बनिरहेको प्रविधि देखाउने सपना पनि चौधरीले साकार गरे।

अब नयाँ प्रविधि मात्र हैन नेपालमा पहिलो पटक कसरी गाडी आयो र ती गाडी कस्ता थिए भन्ने बुझाउने चाहना पनि उनमा रह्यो। पुराना गाडी संरक्षण गरिरहेका जाउलाखेल ग्रुपका अध्यक्ष राजबहादुर शाहकहाँ पुगे।
शाहले सहजै रुपमा अटो शोमा राख्न दिने सहमति जनाएपछि अध्यक्ष चौधरी हर्षित बने। त्यसपछि नाडा अटो शोमा फ्लाइङ कारदेखि भिन्टेज कार समेत प्रदर्शनीमा राखियो, जुन अहिलेसम्म पनि चर्चा चलिरहेको छ।
व्यवसायी दुई संस्थामा विभाजन भएर दुई अटो शो आयोजना भए पनि यस वर्षको नाडा अटो शो सफलताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ। नाडा अटो शो सफलताले सुरुमा देखिएका सबै विवाद र मतभेदलाई पनि छायामा पारेको छ।
दर्शकको राम्रो साथ
१७ औं संस्करणको नाडा अटो शो उद्घाटनको दिनदेखि सहभागी हुन आउने अवलाेकनकर्ताको लर्को देखियो। नाडा अटो शो २०२५ को मुख्य आकर्षणको रुपमा रहेको उड्ने कार हेर्नेको भीड पहिलो दिन नै थामी नसक्नु थियो।
यसमा विशिष्ट व्यक्ति, सरकारी अधिकारीहरू, बैंकर र बिमा क्षेत्रका व्यक्तिहरूका बाक्लो उपस्थिति थियो। उनीहरू मात्र होइन, अटोमोबाइलका नयाँ मोडल हेर्न र नयाँ प्रविधिबारेमा जानकारी लिन उत्सुक सर्वसाधारणको भीडले पनि शोको राेनकलाई अझ बढायो।
भीभीआइपीदेखि विशिष्ट व्यक्तिको लर्काे

विगतको तुलनामा यो वर्षको नाडा अटो शोमा अति विशिष्ठ व्यक्ति(भिभिआइपी) र विशिष्ट व्यक्ति(भिआइपी)हरूको लर्को लाग्यो। अटो शो उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भए।
यस्तै अवलोकनका लागि पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल,स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले समेत अवलाेकन गरे।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,सांसदहरू योगेश भट्टराई, हरि ढकाल, शिशिर खनाल, गणेश पराजुली, पूर्वउद्योगमन्त्री कर्ण थापालगायत पनि अटो शोमा पुगे।
६ दिनसम्म चलेको अटो शोमा लोकसेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मी, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, मुख्यसचिव एकनारायण अर्यालसहित पुगेका थिए।
भीभीआइपी र भीआइपीको लर्कोले नीतिगत निर्णयमा सहयोग
अटो शोको उद्देश्य गाडी बुकिङ लिनु मात्र हैन। अटो शो विभिन्न बहस गरेर यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्ने थलोसमेत हो। त्यसैले यसपटकको प्रदर्शनीमा देखिएको उच्चपदस्थकाे लर्कोले अटो क्षेत्रका समस्या समधानका लागि आवश्यक नीतिगत निर्णय हुने अपेक्षा गरिएको नाडा अध्यक्ष चौधरी बताउँछन्।