काठमाडाैं। दोस्रो जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभामा अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष २०६३/६४ को आयव्यय प्रस्तुतिका क्रममा काठमाडौंको जामलाई न्यूनीकरण गर्न केही स्थानमा करिडोर बनाउने प्रस्तावसहितको बजेट पेस गरे।
‘आर्थिक वृद्धिका लागि पूर्वाधार’ नारालाई अगाडि बढाउँदै अर्थमन्त्री डा. महतले सहरी सडक कार्यक्रमअन्तर्गत बागमती करिडोरको तिलगंगा-मनोहरा-बल्खु खण्ड, धोबीखोला करिडोरको ओम अस्पताल-बिजुलीबजार खण्डलगायतमा सडक निर्माण थाल्ने गरी बजेट विनियोजन गरेका थिए।
त्यहीँ बेला काठमाडौंको नयाँबजारदेखि कालीमाटीसम्मको विष्णुमती लिंक रोडको स्तरोन्नति गरी चार लेनको कालोपत्रे बनाउने कार्यक्रमसमेत बजेटमा समावेश गरे।
बजेट सार्वजनिक भइरहँदा धेरैले काठमाडौंका खोला किनारामा बाक्लो बस्ती बसिरहेको र त्यस ठाउँलाई खाली बनाएर करिडोर बनाउने बजेट भाषण हावादारी भएको प्रतिक्रियासमेत दिन भ्याए। तर, डा. महतले १९ वर्षअघि बजेटमा ल्याएको विषयले सार्थकता पाएको छ। काठमाडौं मात्र हैन, भक्तपुर क्षेत्रका खोलामा पनि अहिले करिडोर निर्माण भएका छन्।

जुन सोच राखेर १९ वर्षअघि तत्कालीन अर्थमन्त्री महतले बजेटमा करिडोर निर्माण गर्ने सपना बुने, अहिले काठमाडौंको जाम मात्र घटेको छैन, करिडोर क्षेत्र लगानीकर्ताको रोजाइसमेत बनेको छ। अर्थात्, अहिले काठमाडौंका करिडोर बिजनेस हबका रूपमा विस्तार भएका छन्। करिडोर क्षेत्रमा सञ्चालित सबै व्यवसायले रफ्तार लिन थालेका छन्।
...
पछिल्लो समय उपत्यका वरपरका नदी करिडोरका चिल्ला सडक, दायाँबायाँको हरियालीले बाटो हिँड्नेलाई प्रफुल्लित बनाउँछ। यसका साथै विभिन्न जातका फूल बगैंचाले नदी करिडोर हुँदै यात्रा गर्ने र टहलिनेलाई पनि एकैछिन रोकिउँ रोकिउँ लाग्छ। अहिले बर्खाका बेला पानी फोहोरै भए पनि दुर्गन्धरहित भएर बगेको धोबीखोला, बागमती र विष्णुमतीले संघीय राजधानीको सुन्दरता अझै बढाएका छन्।
विभिन्न संघ-संस्था र अगुवाले चलाएको सफाइ अभियानका कारण दुर्गन्धित काठमाडौंका नदीले पुनर्जीवन पाएका छन्। यतिबेला धोबीखोला, बागमती र विष्णुमती पूरै सङ्लो नभए पनि धेरै सफा छन्। पहिले ढल र फोहोरले पुरिएका नदी अहिले केही हदसम्म सफा देखिन्छन्।

यसकारणले पनि काठमाडौं करिडोर युवा व्यवसायीको रोजाइमा परेको छ। केही वर्षयता नदी किनारामा युवाले विभिन्न व्यापार, व्यवसाय सञ्चालन गर्ने क्रम बढ्दो छ। उपत्यकाका करिडोर क्षेत्रमा किराना, फेन्सी पसल, होटल, क्याफे, सैलुन, वर्कसपलगायतका व्यवसायमा युवा नै बढी देखिएका हुन्।
धोबीखोला करिडोरमा चम्किएका व्यापारी
लामो समयदेखि धोबीखोला करिडोरको मैतीदेवीमा किराना पसल गर्दै आएकी रत्न श्रेष्ठलाई अहिले व्यापार चलाउन सहज भएको छ। पहिलेको तुलनामा अहिले करिडोर क्षेत्र सफाचट् भएसँगै मानिसको आउजाउ बढेकाले व्यापार राम्रो चल्ने गरेको उनले बताइन्।
उनकै पसल अगाडि भएर बहने दुर्गन्धित धोबीखोलाको मुहार अहिले फेरिएको अनुभव उनले यसरी सुनाइन्, ‘मैले यहाँ २०६५/६६ देखि नै पसल गरिरहेकी छु। त्यतिबेला नदी किनारामा बस्न सकिँदैन थियो। पूरै ढल, फोहोरको गन्धले हैरान हुन्थें। अहिले हरियालीले खोला नै देखिँदैन। बर्खा भएर गन्ध छैन। तर, हिउँदमा गन्ध नआउने त होइन। ढकमक्कै हरियाली र फूलले राम्रो देखिँदा गन्ध आए पनि नआएजस्तो लाग्छ। यही वातावरणका कारण व्यापार चलेको छ। पहिलेभन्दा अहिले यहाँ व्यापार गर्नेहरू पनि बढेका छन्।’
यस्तै, करिब २ वर्षदेखि धोबीखोला करिडोरमा महर्जन स्टोर सञ्चालन गरेका ३५ वर्षीय मुकेश महर्जनलाई पनि यहाँको प्रफुल्लित वातावरणले व्यापार गर्न सहज बनाएको छ। उनी यही क्षेत्रमा पसल गरेर वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन्।

८ वर्षसम्म मारवाडी फर्ममा काम गरेका उनले कोरोना महामारीको बन्दाबन्दी (लकडाउन)ले जागिरै गुमाए। त्यसपछि केही समय बेरोजगार बसेका व्यवसायी महर्जनलाई परिवार पाल्नुपर्ने जिम्मेवारीले थिच्यो अनि सुरु भयो, करिडोरको व्यापार।
राजधानीको भित्री सहरकै जस्तो व्यापार फस्टाउन नसके पनि आफू र आफ्नो परिवारसँग रमाउँदै थोरै कमाइमा पनि अहिले उनी खुसी सुनिन्छन्। सुरुमा ४ लाख रुपैयाँको लगानीमा पसल सञ्चालन गरेका उनले करिब दुई वर्षे अवधिमा आफूलाई पुग्ने आम्दानी गरेको सुनाए। यही करिडोरको व्यापारले छोराछोरीलाई बोर्डिङ स्कुल पढाउनेदेखि घरखर्चसमेत यसबाटै चल्न थालेको उनी बताउँछन्। कर्ममा विश्वास गर्ने महर्जन मिहिनेत गरे देशमै अथाह अवसर रहेको ठान्छन्।
‘मैले यहाँ पसल खोलेको करिब दुई वर्ष भयो। पहिला मारवाडी फर्ममा जागिर गर्थें। कोरोनाको लकडाउनमा काम छुटेपछि आफ्नै सानो व्यापार गर्ने सोच बनाएँ। अहिले व्यापार राम्रै चलेको छ। ग्राहक पनि उस्तै आउँछन्,’ उनले भने, ‘पहिलेजस्तो साघुँरो सडक छैन। पिच सडक त्यसमाथि फराकिलो छ। सबै कुरा मिलेकाले पछिल्लो समय करिडोर क्षेत्रमा व्यापार व्यवसायी गर्ने बढेका छन्। मैले पनि सबै कुरा हेरेरै यतै पसल खोल्ने सोच बनाएको हुँ। साथीभाइको पनि सल्लाह करिडोरमै व्यापार गर्ने थियो। त्यहीअनुसार लोकेसन हेरेर पसल खोलिएको हो।’
दुई दशकदेखि धोबीखोला करिडोरमा सैलुन पसल गर्दै आएका अर्का ३६ वर्षीय बलराम साहको पनि आफ्नै अनुभव छ। उनले १६ वर्षदेखि कपाल काट्ने तालिम सिकेर आफ्नै व्यवसाय सुरु गरेका रहेछन्। सुरुमा चितवनमा सैलुन खोलेका साह राम्रो आम्दानी नभएपछि काठमाडौं छिरे।
त्यसबेला काठमाडौं करिडोरमा व्यापार गर्नेहरू सीमित थिए। उनले त्यहीँ बेला व्यवसाय चल्ने आशामा करिडोरमा सैलुन पसल खोले। तर, मानिसको आउजाउ नहुने क्षेत्रमा पसल चल्ने कुरा असम्भवजस्तै भयो। तैपनि उनले हरेस नमानेरै सैलुन पसललाई निरन्तरता दिए। उनको निरन्तरको लगनशीलताकै कारण अहिले लाखौं आम्दानी गर्न सक्ने भएका छन्।
साहले पसल खोल्दा करिडोरमा छिटफुट किरानाबाहेक अरू कुनै व्यवसाय थिएनन्। तर, अहिले सबै खाले व्यापारीको रोजाइ करिडोर बनेको उनको अनुभव छ। छ्यापछ्याप्ती सैलुन पसल खोलिएकाले व्यापार घट्ने डरमा रहेका उनले भने, ‘पहिला यहाँ एकाध मात्रै पसल थिए। अहिले त सैलुन पसल प्रशस्त छन्। ग्राहकलाई पनि विकल्प धेरै भयो। यसले व्यापार केही घट्छ कि भन्ने डर छ। तर, आफ्नो पेसालाई निरन्तरता दिने सोचमा छु। मिहिनेत र धैर्य नै ठूलो हो भन्ने लाग्छ।’

करिडोर क्षेत्रमा भित्री सहरको भन्दा भाडा सस्तो हुने उनको भनाइ छ। सवारीसाधनमा यात्रा गर्नेदेखि पैदल यात्रुसमेतको आगमन बढेकाले व्यवसाय चलेको उनी बताउँछन्। ‘करिडोर क्षेत्र व्यापारी केन्द्र नै भन्दा फरक पर्दैन,’ उनले भने, ‘अझै योभन्दा सफा हुने हो भने नदी किनारामा व्यापार गर्नेको भीड लाग्ने छ।’
करिडोर मोटरसाइकल वर्कसप सञ्चालक पुष्कर लामिछाने पनि मासिक लाखौं कमाउने गरेको बताउँछन्। करिडोरको व्यापार र बजार क्षेत्रमा गरिएको व्यापारमा कुनै भिन्नता नहुने उनको अनुभव छ। उनले भने, ‘यहाँ व्यापार पनि राम्रो चल्छ। फोहोर एकदमै कम भएको छ। पसल गर्नेहरू पनि बढेका छन्। सफा र चिटिक्कै बनेको करिडोरमा मानिसको आउजाउ बढेको छ। उनीहरू आए हाम्रो व्यापार त्यसै बढिहाल्छ।’
ढल र फोहोर मिसिएको धोबीखोला किनारामा कुनै बेला हिँडडुल गर्नसमेत कठिन हुन्थ्यो। रुद्रमति क्याफे एन्ड लन्चमा साथीसँगै पुगेकी अनु क्षेत्री नदी किनारामा बसेर गफ गर्दै चियाकफी पिउन आनन्द आउने सुनाउँछिन्। १० वर्षअघि काठमाडौं आउँदा उनले सोचेजस्ता नदी थिएनन्। तर, अहिले त्यो अवस्था केही हदसम्म कम भएको अनुभव छ, उनीसँग।
कुनै बेला नाक थुनेर पनि हिँड्न नसक्ने उनी अहिले करिडोर साइटमा बसेर साथीहरूसँग गफिन सक्ने भएकी छन्। यद्यपि, करिडोरमा किराना पसल, सैलुन पसल मात्रै छैनन्। यहाँ थरीथरी नामका होटल, रेस्टुरेन्ट पनि खोलिएका छन्।
करिडोरमै हुन्छ लाइभ म्युजिक, मिल्छ खान, बस्न
धोबीखोला करिडोरमा रहेको रुद्रमति क्याफे एन्ड लञ्चमा लाइभ म्युजिकमा रमाउन साँझ परेपछि युवायुवतीको भीड लाग्छ। ३२ वर्षीय युवा व्यवसायी विनोदकुमार पन्तले १ वर्षअघि साथीहरूको सहयोगमा यो रेस्टुरेन्ट खोलेका हुन्।
विभिन्न रेस्टुरेन्ट र क्याफेमा काम गरेको अनुभव बटुलेका पन्तले करिडोरमा राम्रो व्यापार चल्ने आशामै रेस्टुरेन्ट सञ्चालनमा ल्याएको बताए। उनको रेस्टुरेन्टमा धेरैजसो दैनिक ग्राहक चिया, कफी, खाजानास्ता खान आउँछन्। उनीहरू नदी किनारामा दिनभरको थकान मेटाउने गरी घन्टौंसम्म बस्छन् र गफिन्छन्।

विशेषगरी टिकटक र रिल्स बनाउने युवकयुवतीको रोजाइमा उनको यो रेस्टुरेन्ट पर्ने गरेको छ। यही रेस्टुरेन्टबाट उनले दैनिक ३० देखि ४० हजारसम्म आम्दानी गर्दै आएका छन्। रेस्टुरेन्टमा उनले १२ जनालाई रोजगारीसमेत दिएका छन्। उनका अनुसार यहाँ शुक्रबार र शनिबार लाइभ म्युजिक हुने गर्छ।
‘मैले एक वर्षअघि राम्रो लोकेसन लागेर चार जना साथीको सहयोगमा रेस्टुरेन्ट खोलें। अहिले व्यापार भनेजस्तै चलेको छ। यो ठाउँलाई पनि ग्राहकले रुचाएका छन्’, उनले भने, ‘शुक्रबार र शनिबार लाइभ म्युजिक हुने भएकाले दुई दिन अन्य बेलाभन्दा बढी ग्राहकको भीड लाग्छ। व्यापार पनि राम्रै हुन्छ। दैनिक ३० देखि ४० हजारजति कमाइ हुन्छ। यहाँ पहिलाजस्तो फोहोर नभएकाले ग्राहक बढेका हुन् कि भन्ने लाग्छ। उनीहरू मिठो खाजा÷नास्तासहित आनन्द चाहेका हुन्छन्। हामीले त्यो पूरा गरेका छौं।’
बागमती करिडोरको तिलगंगामा रहेको लुम्बिनी तन्दुरी भोजनालयमा एकाबिहानैदेखि ग्राहकको भीड लाग्छ। १० वर्षअघि गुल्मीका ३४ वर्षीय राजन पाण्डेले यो होटल खोलेका हुन्। सानै उमेरमा भारत गएर रेस्टुरेन्टमा काम गर्दै उनले सिकेको सीप अहिले तन्दुरी भोजनालयमा काम लागेको छ। उनी यही करिडोरमा होटल खोलेर दैनिक १ देखि २ लाखसम्म आम्दानी गर्छन्। यति मात्रै होइन, उनले करिडोरमै व्यापार गरेर अन्य तीन वटा होटल सञ्चालनमा ल्याइसकेका छन्।
पाण्डेले बागमती नदीमा मिसिएको ढल र फोहोरको डंगुर नजिक खोलिएको होटलबाट सफलता मिल्ने आशा गरेका थिएनन्। तर, अहिले व्यापक सफलता मिलेको सुनाउँछन्। १५ लाख लगानीमा सञ्चालन गरिएको उनको होटलमा १० जना कर्मचारी छन्।
‘सानैबाट होटल लाइनमा भारतमा काम गरें अनि काठमाडौं आएर आफ्नो अनुभव आफ्नै व्यापारबाट सुरु गरें,’ उनले भने, ‘यहाँ पहिला असाध्यै फोहोर भए पनि अहिले सफा छ। करिडोरतिर व्यापार राम्रो होला भनेर आएँ तर केही वर्ष धेरै संघर्ष गर्नुप¥यो। पहिला यहाँ हिँड्न डर लाग्थ्यो। अहिले सुरक्षाका हिसाबले पनि एकदम राम्रो छ। व्यापारमा कुनै फरक परेको छैन। राम्रै चलेको छ।’
बागमती र विष्णुमतीमा पनि उस्तै युवा व्यवसायी
राजधानीको व्यस्त सहरभन्दा केही पर नदी किनारामा व्यापार, व्यवसाय गर्ने युवा जमात बढेको बढ्यै छ। थोरै लगानी, सस्तो भाडामै व्यापार सञ्चालन गर्न सकिने भएकाले करिडोर रोजाइमा परेको युवा व्यवसायी सन्तोष कार्की बताउँछन्।
उपत्यका अन्य करिडोरजस्तै बागमती र विष्णुमतीमा पनि विभिन्न व्यापार व्यवसायमा युवानै बढी देखिएका छन्। त्यसमध्ये विष्णुमतीमा विगत चार वर्षदेखि जुत्ता पसल गर्दै आएका ३५ वर्षीय प्रमदेव राउत पनि एक हुन्। सर्लाहीबाट अध्ययन गर्न काठमाडौं आएका उनलाई घरपरिवारको जिम्मेवारीले व्यापारमा तान्यो। चुत्ता पसलबाट मासिक ३ लाख आम्दानी गर्दै आएका उनले व्यस्तताका कारण पढाइलाई निरन्तरता दिन सकेनन्। तर, देशमै व्यवसाय गर्न पाउँदा भने आनन्दित छन्।

यस्तै, २५ वर्षीय सन्दीप शाहले पनि विगत दुई वर्षदेखि विष्णुमती करिडोरमा मिस्ट्री ट्रेडस पसल गर्दै आएका छन्। सानै उमेरदेखि व्यापार व्यवसायमा लागेका उनले दैनिक २० देखि ३० हजारसम्म आम्दानी गर्छन्। चितवनबाट बुबासँगै काठमाडौंमा व्यापार गर्न आएका उनी अहिले करिडोरमा चम्किएका छन्।
करिडोरमा व्यापार गर्दै विभिन्न अनुभव बटुलेका युवा व्यवसायी शाहले भने, ‘सानैदेखि व्यापारमा लागेको हुँ। यो पसल पहिला चितवनमा बुबाले चलाउनुहुन्थ्यो, अहिले यहाँ मैले हेर्छु। यता बुबासँग आएको थिएँ तर अहिले एक्लै पसल चलाइरहेको छु। यताको लोकेसन राम्रो लागेर पसल खोलिएको हो। ग्राहक धेरै आउँछन्। यति नै हुन्छ भन्ने त हुँदैन तर राम्रै कमाइ हुन्छ।’
उनले अघि थपे, ‘पहिला नदीको पानी हाम्रो पसलमा पसेर हैरान हुन्थ्यो। अहिले यस्तो हुँदैन। दैनिक महानगर आएर सफा गरिरहेको हुन्छ। अहिले सफा भएर खोलाको पानी पनि माथि आउँदैन। पानी जमेको छैन। सडक सबै चिटिक्क परेका छन्। वातावरण राम्रो भए’छ। त्यसैले पसलमा आउने ग्राहक पनि बढेका छन्।’
अर्का युवा व्यवसायी उमेश गुप्ताले पनि करिडोरमा अनिता किराना पसल सञ्चालन गरेको चार वर्ष भयो। उनले करिडोरमै चलेको व्यापारबाट दैनिक २० हजार बढी आम्दानी गर्दै आएका छन्।
‘काठमाडौंका नदी पहिलाभन्दा अहिले धेरै फेरिएका छन्। पहिला यो अगाडि फोहोरै फोहोर हुन्थ्यो, अहिले त्यो छैन। हामीलाई पनि पसलमा बस्न कति गाह्रो हुन्थ्यो ग्राहक कसरी आउँथे,’ उनले भने, ‘अहिले ग्राहक पनि आउँछन्। पसल पनि राम्रै चलेको छ। दिनमा त्यही २० हजारभन्दा बढी नै आम्दानी हुन्छ।’
चार वर्ष दुर्बइमा बसेर बिदामा घर फर्किएका ३८ वर्षीय सन्तोष कार्कीले बागमती करिडोरमा किराना पसल खोलेको ५ महिना मात्रै भएको छ। उनले विदेशमा चार वर्षसम्म नपाएको खुसी छोटो समयमै स्वदेशमै पाएका छन्।
११ वर्षसम्म फेसन डिजाइनको काम गरेको बताउँदै उनले भने, ‘चार वर्ष विदेश बसें। ११ वर्ष अरूको काम गरें। तर, कहिले पनि मनमा शान्ति मिलेन, जुन अहिले मिलेको छ। घरपरिवारलाई समय दिन पाएको छु। योभन्दा बढी आनन्द अरू के नै हुन्छ! पसल खोलेको छोटो समय भए पनि आत्मसन्तुष्टि मिलेको छ। यति भए पुग्छ।’
करिडोरको लोकेसन फलदायी हुने आशामा पसल सञ्चालन गरेका उनले दैनिक २० हजार रुपैयाँ बढी आम्दानी हुने गरेको सुनाए।
कर तिर्नदेखि पार्किङ झन्झट
नेपालमा व्यवसाय गर्ने वातावरण राम्रो भए पनि सरकारी कामकाजमा झन्झट भने अझै रहेको युवा व्यवसायी मुकेश महर्जन बताउँछन्। सबै काम प्रविधिबाट हुने समय कम्पनी दर्तादेखि कर तिर्नसमेत भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता रहेको उनको अनुभव छ।
यस्तै, युवा व्यवसायीलाई हौसला दिर्नुपर्ने अवस्थामा सरकारले साना व्यापार व्यवसाय गर्नेमाथि विभिन्न वहानामा जरिवानामाथि जरिवाना लगाउने गरेको उनको गुनासो छ।

‘नेपालमा व्यवसाय गर्ने वातावरण राम्रै छ। तर, केही सरकारी कामकाजले देशमै केही गर्न खोजेका युवालाई समस्यामा पारेको छ। कर तिर्न पनि साना व्यापार व्यवसाय गर्नेलाई गाह्रो छ,’ उनले भने, ‘प्रविधिको जमानामा कर कार्यालयमा लाइन लागेर कर तिर्नुपर्छ। त्यसमाथि केही समय ढिलो भए सरकारले जरिवानामाथि जरिवाना लगाउँछ। यो प्रवृत्तिले हामीजस्ता साना युवा व्यवसायी मर्कामा परेका छौं।’
करिडोर क्षेत्रमा सवारीसाधन पार्किङ गर्नसमेत समस्या रहेको व्यवसायीको गुनासो छ। सवारी पार्किङ गर्ने निश्चित स्थान नतोकिएकाले आएका ग्राहक पनि फर्किने गरेको लुम्बिनी तन्दुरी भोजनालयका सञ्चालक राजन पाण्डेले गुनासो पोखे।
नियम, कानुन एउटै हुनुपर्ने बताउँदै उनले भने, ‘काठमाडौं महानगरले जथाभावी पार्किङ गर्न कडाइ गरेको छ, जुन राम्रो पक्ष हो। तर, हामीलाई कता सवारीसाधन पार्किङ गर्ने हो। त्यसका लागि ठाउँ तोक्नुपर्ने हो। स्थान नै नतोकेर एक ठाउँ पार्किङ गर्यो कि कारबाही भोग्नुपर्छ।
त्यो राम्रो भएन। यदि गर्ने नै हो भने नियम, कानुन समान हुनुपर्यो। एउटालाई त्यहीँ कानुन लागू हुने अनि अर्काेलाई नहुने भन्ने हुँदैन। तर, पहुँच हुनेलाई नियम, कानुन लाग्दैन।’ उनले करिडोरमा खानेपानीको समेत समस्या रहेको बताए। पानीको उचित व्यवस्था नभएकाले किनेर चलाउनुपर्ने बाध्यता रहेको उनी सुनाउँछन्।