काठमाडौं। तपाईहरूमध्ये कसैको सवारी साधान गन्तव्यमा नपुग्दै बिग्रिएर अलपत्र परेको छ। बीच बाटोमै बिग्रिएर बनाउने ठाउँसम्म पुर्याउन नसकेर हैरानीमा पर्नु भएको छ। यदि, यी समस्यामा भोग्नु भएको छ भने समधान गर्ने उपायको खोजीमा हुनुहुन्छ? त्यसो हो भने तपाईहरूका लागि उपयुक्त हुन सक्छ, ‘टोइङ नेपाल’।
कमजोर सडक वा अन्य कारणले सवारी साधनहरू गन्तव्यमा नपुगी बिग्रने, दुर्घटना हुने हुँदा चालकहरू समस्यामा पर्ने छन्। त्यही समस्याको समाधन गर्ने गरी नेपालमै स्थापना भएको हो- ‘दुःख पर्दाको साथी’।

विं.सं. २०७६ सालमा वैदेशिक रोजगारबाट फर्किएका दुई युवा, विपिन श्रेष्ठ र प्रवेश पौडेलले यो सेवाको सुरुवात गरेका थिए। साउदी अरब, कतार, कुवेत र इजरायल जस्ता देशहरूमा रहँदा उनीहरूले त्यहाँको व्यवस्थित टोइङ सेवा देखेका थिए। त्यही अनुभवले उनीहरूलाई नेपालमा पनि यस्तो सेवाको आवश्यकता महसुस गरायो।
‘बाहिरतिर यस्तो तरिकाबाट सवारीहरू उद्धार गरेको देखेर हामीले नेपालमा सुरु गरेका हौँ,’ टोइङ नेपालका संस्थापक श्रेष्ठले भन्छन्, ‘म विदेशमा बसेर आएको हुँ। सुरुमा साउदी, त्यसपछि कतार, कुवेत, इजरायल र फेरि कतार गएर फर्किएँ। मेरो पार्टनर भने नेपालमै हुनुहुन्थ्यो। विदेशमा सवारी साधनहरू उद्धार गर्ने तरिका देखेर हामीले नेपालमा यस्तो सेवा सुरु गर्ने निर्णय गरेका हौँ।’
परम्परागत तरिकाले गाडी तान्दा वा निकाल्दा नयाँ गाडीमा समेत क्षति पुग्न सक्छ। यसले चालकहरूलाई थप समस्या हुन्छ। यसै समस्याको समाधानका रूपमा टोइङ नेपालले दुःख पर्दाको साथी सेवा ल्याएको उनले भनाइ छ। ‘हामी गाडीमा कुनै पनि क्षति नहुने गरी सुरक्षित तरिकाले उद्धार गर्छौं। ग्राहकले जहाँ भन्छन्, त्यहीँ पुर्याइदिन्छौँ। थप रूपमा, आपतकालीन अवस्थामा ग्राहकलाई वैकल्पिक गाडीको व्यवस्था पनि गरिन्छ,' श्रेष्ठले थपे।

सुरुमा काठमाडौंमा ५० लाख रुपैयाँको लगानीमा सुरु भएको यो कम्पनीले भारतमा निर्मित आइचर कम्पनीको टोइङ गाडी प्रयोग गर्छ। यो गाडीले मोटरसाइकलदेखि टोयोटा हाइयससम्मका विभिन्न प्रकारका सवारी साधनहरू बोक्न सक्छ। नाडा अटो शोमा पनि टोइङ नेपालले आफ्नो सेवालाई प्रदर्शनमा राखेको थियो। प्रदर्शनीमा राखिएको ‘आइचर’ नामक सवारीले २०१९ देखि नेपालका हरेक ठाउँमा पुगेर सेवा दिइरहेको कम्पनीले जानकारी दिएको छ।
‘अहिले ६ वर्ष भयो, अहिलेसम्म खासै उत्पादन राम्रो भएको छैन किनकि सुरुमा कसैलाई थाहा थिएन। अहिले विस्तारै थाहा हुँदै छ, र अझै बढी थाहा होस् भनेर हामीले यो नाडा अटो सोमा ल्याएका थियौँ,’ श्रेष्ठले भने।
प्रदर्शनीमा सहभागीहरूले यो सेवाको आवश्यकता महसुस गरी कम्पनीको सदस्यता एक हजार रुपैयाँ लिने गरेका छन्। अन्यले समेत सम्पर्क विवरण लिने गरेका छन्। जसले भविष्यमा यसको विस्तार हुने अपेक्षा कम्पनीले गरेको छ।
देशव्यापी सञ्जाल र सेवा विस्तार
सुरुमा काठमाडौंमा मात्र केन्द्रित भएर सेवा दिँदै आएको टोइङ नेपालले अहिले आफ्नो सेवालाई देशका विभिन्न ठाउँमा विस्तार गरेको छ। फसेका वा बिग्रिएका सवारीलाई छिटोभन्दा छिटो उद्धार गर्नका लागि कम्पनीले मुख्य राजमार्गमा पाँच वटा शाखा कार्यालयहरू स्थापना गरेको छ। नारायणघाट, विराटनगर, पोखरा, भैरहवा र काठमाडौँमा रहेका यी शाखाहरूले तत्काल सेवा प्रदान गर्छन्।
‘हामीलाई सम्पर्क गरिदिएपछि हामी तुरुन्तै जान्छौँ। गाडी ल्याइदिन्छौँ। अनि उहाँहरूले जहाँ भन्नुहुन्छ। त्यहाँ झारिदिन्छौँ,’ श्रेष्ठले थपे। यस सेवाको मुख्य विशेषता भनेको सवारी साधनलाई कुनै पनि क्षति नभई सुरक्षित रूपमा उद्धार गर्नु हो। जुन अन्य परम्परागत टोइङ विधिमा सम्भव हुँदैन।
कम्पनीले ग्राहकलाई थप सुविधा दिनका लागि सदस्यता योजना पनि ल्याएको थियो। नाडा अटो शोमा पनि यसको सदस्यता खोल्ने व्यवस्था गरिएको थियो। एक हजार रुपैयाँ तिरेर गाडी दर्ता गरेपछि एक वर्षसम्मका लागि निःशुल्क सेवा पाइन्छ। सदस्यता नलिएका ग्राहकका लागि काठमाडौं उपत्यकाभित्र सात हजार ५०० रुपैयाँ शुल्क लिइन्छ। वर्कशपहरूलाई १० प्रतिशत छुट दिइन्छ। उपत्यका बाहिरका लागि भने दुरीको आधारमा शुल्क निर्धारण गरिन्छ।
रोजगारी र व्यावसायिक भविष्य
टोइङ नेपालले वार्षिक रूपमा लगभग ८ देखि १० लाख रुपैयाँको कारोबार गर्ने गरेको छ। यसले हाल १० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ- ६ जना फिल्डमा र ४ जना कार्यालयमा। टोइङ सेवाका लागि जाने टोलीले गाडीको जिम्मेवारी लिने र सुरक्षित रूपमा गन्तव्यमा पुर्याएपछि मात्र आफ्नो जिम्माबाट मुक्त हुने श्रेष्ठ बताउँछन्।
कम्पनीले सबै खर्चहरूलाई ध्यानमा राखेर सेवा शुल्क निर्धारण गरेको छ। भविष्यमा काठमाडौं, पोखरालगायतका मुख्य शहरमा आफ्नो सेवा केन्द्र स्थापना गर्ने र विस्तारै देशभरिका सबै जिल्लामा पुग्ने योजना कम्पनीले बनाएको छ।
यस सेवाको सुरुवातले नेपालमा सडक सुरक्षा र सवारी साधनको मर्मत सम्भारमा नयाँ आयाम थपेको छ। भविष्यमा यसले थप ग्राहकलाई आकर्षित गर्दै व्यावसायिक रूपमा सफल हुने सम्भावना बोकेको छ।