काठमाडौं। चिनियाँ अटोमोबाइल कम्पनी बिवाइडीले ग्रेटवाल मोटर्सको ट्याक ब्रान्डका सीईओ चाङ याओविरुद्ध अनलाइन अधिकार उल्लंघनसम्बन्धी मुद्दा दायर गरेको छ।
उक्त जानकारी पिपल्स कोर्ट एनाउन्समेन्ट नेटवर्कमा प्रकाशित सूचनालाई उद्धृत गर्दै रेड स्टार क्यापिटल ब्युरोले सार्वजनिक गरेको हो।
अदालतको सूचनाअनुसार चाङ यो वर्ष जुलाईदेखि सम्पर्कविहीन छन् र उनको सामाजिक सञ्जाल गतिविधि जुन २४ यता रोकिएको छ। उनी अनुपलब्ध भएको कारण बेइजिङ इन्टरनेट अदालतले सार्वजनिक घोषणामार्फत प्रक्रिया अघि बढाएको हो। सूचनामा भनिएको छ कि घोषणापछि ३० दिनलाई आधिकारिक रूपमा सूचना पुगेको मानिनेछ र त्यसपछि १५ दिनभित्र लिखित जवाफ दिनुपर्नेछ।
जवाफ अवधि सकिएको तेस्रो दिन दिउँसो २ः३० बजे अदालतको कोठा नं.४२ मा रिमोट सुनुवाइ हुने व्यवस्था गरिएको छ। तर, कानुनी बिदाका कारण समय परिवर्तन हुन सक्नेछ।
चाङको बेपत्ता अवस्था हाल ग्रेटवाल मोटर्समा भइरहेको भ्रष्टाचारविरोधी आन्तरिक छानबिनसँगै मेल खाने देखिन्छ। तर, उनी अझै पनि सीईओ पदमा छन्÷छैनन् भन्नेबारे कम्पनीले कुनै स्पष्ट प्रतिक्रिया दिएको छैन। यस विषयमा प्रतिक्रिया लिने प्रयास गर्दा द्यथ्म् र ग्रेटवाल मोटर्स दुवैसँग सम्पर्क असफल भएको बताइएको छ।
सार्वजनिक अभिलेखअनुसार चाङले सन् २००५ मा युनिभर्सिटी अफ यर्कबाट स्नातक गरेका थिए। उनले सन् २०२२ मा ग्रेटवाल मोटर्समा सिनियर डाइरेक्टर अफ युजर अपरेसन्सका रूपमा प्रवेश गरेका थिए। सन् २०२४ अप्रिलमा उनी ट्यांक ब्रान्डका डेपुटी जनरल म्यानेजर बनेका थिए भने सन् २०२५ मेमा सीईओमा पदोन्नति पाएका थिए।
ट्यांक ब्रान्ड २०२१ मा ग्रेटवाल मोटर्सबाट स्वतन्त्र उप–ब्रान्ड बनेको हो, जसले अफ–रोड सवारीसाधनमा ध्यान केन्द्रित गर्दछ। हालका मोडलमा ट्यांक ३००, ट्यांक ४००, ट्यांक ५०० र ट्यांक ७०० समावेश छन्।
ग्रेटवाल मोटर्सको उत्पादन तथा बिक्री तथ्यांकअनुसार सन् २०२५ को पहिलो आठ महिनामा ट्यांक ब्रान्डले १ लाख ४३ हजार ७ सय युनिट बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.८८ प्रतिशतले घटेको हो।
चाङको बेपत्ता अवस्थापछि नेतृत्वमा परिवर्तन हुने वा नहुनेबारे कम्पनीले अहिलेसम्म कुनै जानकारी दिएको छैन।
यो मुद्दाले कानुनी प्रक्रिया र सीईओको लामो अनुपस्थितिको संयोजनका कारण अटोमोबाइल उद्योगको विशेष ध्यानाकर्षित गरेको छ। अदालतको रिमोट सुनुवाइ प्रणालीअनुसार, सुनुवाइ सेप्टेम्बरको अन्त्यतिर हुने अपेक्षा गरिएको छ।