काठमाडाैं। हरियो ड्रेस, घाँटीमा झुन्ड्याएको बाइनाकुलर, हातमा क्यामेरा। मुस्कानसहित हरेक पाहुनासँग अभिवादन गर्दै जंगलको बाटो लाग्छिन्, एलिना चौधरी। उमेरले अझै दुई दशक नपुगेकी उनी चितवनको मेघौलीस्थित बाराही जंगल लजकी नेचर गाइड हुन्।
तीन वर्षदेखि दैनिक जंगल सफारीमा पाहुनालाई घुमाउँदै आएकी चौधरी अहिले नेपालकै पहिलो महिला ‘लज नेचुरलिस्ट अफ द इयर २०२४’ विजेता बनेकी छन्। एलिना चितवनको मेघौलीमा रहेको बाराही जंगल लजमा नेचर गाइड (पथ प्रदर्शक)का रूपमा आबद्ध भएको तीन वर्ष बढी पुगिसक्यो।
होटल म्यानेजमेन्टमा स्नातक एलिना २०२१ देखि सो लजमा नेचर गाइडको रूपमा आबद्ध छन्। उनले जागिरे जीवनको सुरुआत नै सोही लजबाट सुरु गरेकी हुन्। एलिना दैनिक रूपमा पाहुनालाई जंगल घुमाउनमै व्यस्त हुन्छिन्।
हुन त, एलिनाका लागि जंगल घुमाइ नौलो हैन। जंगलकै छेउमा जन्मिएर जंगली जनवारसँगै हुर्किएकी हुन् भन्दा फरक पर्दैन। अझ उनका बाल्यकालका साथी नै गैंडाका दुई बच्चा (केटाकेटी) थिए। गैंडाका बच्चासँगै खाने, सुत्नेसमेत गर्थिन्, उनी। अर्थात्, एलिनासँगै हुर्किए गैंडाका बच्चा।
...
समयक्रममा सँगै हुर्किएका गैंडाका बच्चा जंगल पसे भने एलिना अध्ययनका लागि सहर छिरिन्। अहिले उनी दैनिकजसो चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटक घुमाउन निस्किइरहन्छन्। जब उनी जंगलमा निस्किन्छन्, त्यसबेला बाल्यकालमा सँगै खेलेका पुराना साथी (गंैडाका बच्चा) भेटिन्छन् कि भन्ने मनमा सोचिरहन्छिन्। उनलाई लाग्छ, कहिलेकाहीँ सँगै हुर्किएका गैंडा कस्ता भए होलान्, जिउँदा छन्÷छैनन् र भेटिहाले चिन्छ कि चिनिँदैन भन्ने कुराले उनको मनमा खुल्दुली भइरहन्छ।
...
नवलपुरको कावासोती–१३ मा जन्मिएका एलिनाका बुबा धनबहादुर(डिबी) चौधरी पनि नेचर गाइड हुन्। बुबाको कामलाई सानैदेखि नजिकबाट नियालेकी र समय मिलेसम्म बुबासँगै जंगल सफारीमा गइरहने भएकाले एलिनालाई पनि यहीँ काममा सानैदेखि मोह जागेको हो।

करिब ३ वर्षे बच्चा उमेरदेखिको गैंडासँगको सामिप्यको सम्झना एलिनासँग अझै ताजै छ। त्यो बेला उनका बुबाले आइल्यान्ड जंगल रिसोर्टमा नेचर गाइडको काम गर्थे।
‘मेरो सम्झनामा आइरहने भनेको हात्ती र उनीहरूका बच्चा नै हुन्। भर्खर–भर्खर मध्यवर्ती क्षेत्र (बफर जोन) का कुरा चलिरहेका थिए,’ एलिनाले भनिन्, ‘त्यो बेला जंगल खुलै थिए। गाईवस्तु खुला चर्न पाउँथे।’
स्कुले शिक्षा गाउँमै रहेको बोर्डिङ स्कुलबाट सकाएकी एलिनाले एसएलसी कावासोतीको लुम्बिनी सेकेन्डरी बोर्डिङ स्कुलबाट लिइन्। त्यसअघि युनिभर्सल बोर्डिङ स्कलु (जुन उनकै बुबाले सञ्चालन गरेको हो)मा पढिन्। नर्सरी र एलकेजी पढ्ने बेला स्कुल टाढा हुँदा बिहानै लैजाने र बेलुकी राती ल्याउने भएकाले बुबा, मामा र साथीहरू मिलेर गाउँमा बोर्डिङ खोलिदिएका थिए। एसलएसीपछि प्लस टु गैंडाकोटमा रहेको अक्सफोर्ड इन्जिनियरिङ एन्ड कलेज अफ म्यानेजमेन्टमा होटल म्यानेजमेन्टमा ब्याचलर सकाएकी छन्।
वाइल्ड लाइफको बुझाइ कहिलेबाट?
हजुरबा जंगल बचाउनुपर्छ भनेर लागेका र बाबा नेचर गाइड भएको देखेपछि सानै उमेरबाट जंगलको विषयमा जानकारी हुनु र चासो राख्नु एलिनाका लागि स्वाभाविकै थियो। ‘बच्चा बेला जंगली जनावर र तिनका बच्चा देखेरै आकर्षित थिएँ,’ एलिनाले भनिन्, ‘अलि ठूलो भएपछि वास्तविक संरक्षित क्षेत्र र वाइल्ड लाइफबारे जानकार हुँदै गएँ।’
आइल्यान्ड रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जभित्र पर्नेमध्येको थियो। उनका बुबाले त्यहाँ करिब २ वर्ष काम गरेपछि दक्षिण एसियाकै पहिलो वाइल्ड लाइफ रिसोर्ट टाइगर टप्समा काम सुरु गरे। ‘त्यहाँ काम गरेपछि हरेक बिदाका बेला बुबासँग जंगल सफारीमा निस्कने गरेकी थिएँ,’ उनले भनिन्, ‘मैले जंगल सफारी, जीप सफारी, बर्ड वाचिङ, जंगलवाकलगायत गतिविधिलाई नजिकबाट नियाल्ने र बुझ्ने मौका त्यही बेला पाएकी हुँ। बाबासँगैको यात्रामा जंगल सफारीका धेरै विषय सिकेकी हुँ।’
टाइगर टप्समा त्यो बेला आमाबाट छुटेर बसेका दुई गैंडाका बच्चा पालिएका थिए। ‘हामी तीन जना दिदीबहिनी हो। गैंडाका बच्चासँगै हुर्कियौं। गैंडाका बच्चा खेल्न र रमाउन हाम्रै कोठामा समेत आउँथे,’ उनले विगत सम्झिँदै भनिन्, ‘गंैडाका बच्चालाई घाँस खुवाउनेदेखि लंगुर बाँदरलाई पनि सानैदेखि चकलेट खुवाएर नजिक बनाउने गथ्र्यौं।’
जंगलमै भविष्य बनाउने अठोट
बाल्यकाल जंगलमै बिताएको र त्यहीँ हुर्किएका कारण एलिनाको लगाव, चाहना र इच्छा वाइल्ड लाइफ नै हुन गयो। उनलाई बुबाले संरक्षण क्षेत्रको अधिकांश कार्यक्रममा लैजाने हुँदा जंगलका विषयमा सानैदेखि राम्रोसँग ज्ञान थियो। ‘बुबाले पनि मेरो इच्छा र चाहना जंगल क्षेत्रमै देखेकाले आफ्नो ‘लिगेसी’ छोरीले राखून् भन्ने चाहनाका कारण सहयोग गर्दै आउनुभयो,’ एलिनाले भनिन्, ‘बुबाको सपना पनि छोरीले मेरै पदचापमा अघि बढून् भन्ने थियो। बुबाको सपना र मेरो इच्छा मिलेपछि यो काम गर्न पाएकी हुँ।’

सुरुमा उनी विज्ञान संकाय अध्ययन गर्ने सोचमा थिइन्। केही समय पढेपछि परिवर्तन गरिन् र होटल म्यानेजमेन्टतिर लागिन्। जंगल र वाइल्ड लाइफसँग चासो रहेकाले पनि होटल म्यानेजमेन्टमा लागेको उनी सुनाउँछिन्।
जहिलेसम्म बाँचिन्छ, त्यतिन्जेल प्रकृतिमै रमाउने उनको अठोट छ। २०१८ मा उनले प्लस टु पढाइ सकाइन् र लगत्तै नेचर गाइडको लाइसेन्स लिइन्। २०५३ मा जन्मिएकी एलिनाले ब्याचलर्स अध्ययन गर्दै नेचर गाइडको काम पनि थालिन्।
आफैंले नेतृत्व गरेर पर्यटकलाई जगंल घुमाउँदा
एलिनाका लागि राष्ट्रिय निकुञ्ज नौलो नभए पनि आफ्नै काँधमा जिम्मेवारी लिएर पर्यटकलाई जंगल सफारीमा लैजाँदा मनमा कता–कता डर भने लागेको थियो। ‘मेरा पहिलो पाहुना भारतीय थिए। परिवार नै जंगल घुम्न निस्किएका थिए,’ उनले भनिन्, ‘सबै ठाउँमा परिचय दिँदै नयाँ रुटमा कसरी जाने भन्ने चिन्ता थियो। तर, सोचेभन्दा राम्रो भयो। त्यसपछि मेरो मनोबल बढ्यो।’
संयोगवश जतिबेला एलिनाले आफ्ना पाहुनालाई लिएर जंगल घुमाउँदै थिइन्, त्यतिखेर झाडीमा मृग भेटिन्। उनले यसअघि मृगलाई धेरै पटक देखे पनि आफैंले गाइड गरेर पर्यटक लगेको हुँदा उनले पाहुनालाई त्यसबारे जानकारी गराउन सकिनन्। त्यो बेला पाहुनाले उनलाई बाघ हो भनेर सोधे। उनले भनिन्, ‘हैन यो मृग हो।’
सफारीमा कति बेला खुसी हुन्छन् पर्यटक
निकुञ्ज घुमफिरमा जाने भनेकै जंगली जनावर र चराचुरुंगी हेर्नकै लागि हुन्छ। यसमा पनि अधिकांशको इच्छा र चाहना भनेको बाघ, गैंडा, हात्ती र चितुवा अवलोकन गर्ने हुन्छ। ‘पाहुनाले जंगल घुम्न आउँदा सधैं एकै प्रकारका जनावर नदेख्न पनि सक्छन्,’ एलिनाले भनिन्, ‘यसमा तपार्इंहरूले चित्त बुझाउनुपर्छ, दुःखी हुनुहुँदैन भनेर सम्झाएँ।’
पाहुनालाई वनजंगल घुमफिर गराउँदा धेरै जना जंगली जनावरको पछि लागिरहने, जंगलको मन्द हावामा खुला अकासमुनि रमाउँदै अबिरल बगेको राप्ती र त्यसको कलकल आवाजमा धेरै पर्यटक डुब्दा केही भुलें कि भन्ने उनलाई भइरहन्छ।
बेस्ट नेचुरलिस्ट जोइन्ट विनर
एलिना लज नेचुरलिस्ट अफ द इयर २०२४ को अवार्डबाट सम्मानित हुन्। अवार्डका लागि पाँच जनाको मनोनयन परेको थियो। नेपालबाट अवार्डका लागि सर्टलिस्टमा परेकी उनी एकमात्र हुन्।

बाँकी चार जना भारतीय थिए। २०/२५ वर्ष काम गरिसकेको अनुभव सँगालेका भारतीयलाई पछि पार्दै उनी विजेता बनेकी हुन्। सर्टलिस्टमा ताज सफारीमा समेत परे पनि तीमध्ये महिला नेचुरलिस्टका रूपमा एलिना मात्र सहभागी थिइन्। एलिना नेपालकै पहिलो अवार्ड पाउने महिला नेचुरलिस्टसमेत बनेकी छन्।
अफ्रिकामा नेचुरलिस्ट बन्ने सपना
एलिना नेचुरलिस्टका रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित हुन चाहन्छिन्। जंगल सफारीका लागि विश्वकै सबैभन्दा चर्चित गन्तव्य अफ्रिका गएर नेचुरलिस्टका रूपमा काम गर्ने सोच उनको छ।
‘बाराही जंगल लजले मलाई अन्तर्राष्ट्रिय रूपमा अवार्ड विजेताको अवसर दियो,’ एलिनाले भनिन्, ‘अब मेरो सपना अफ्रिका गएर नेचुरलिस्ट बन्ने छ।’ वाइल्ड लाइफ क्षेत्रमै जीवन बिताउने सपना बुनेकी उनले विश्व चर्चित ठाउँ पुगेर जंगल घुम्ने र त्यहाँका प्रकृतिबारे बुझ्ने चाहना राखेकी छन्।


