काठमाडौं। काठमाडौंको बीच सडकमा ठडिएका ठूला–ठूला चेन होटलहरू केवल भवन मात्र होइनन्, तिनले भोगाइ, सम्भावना र विश्वासको कहानी सुनाइरहेका हुन्छन्। नयाँ सहरको चमक र भविष्यको परिकल्पनासँगै, यिनै चेन होटलहरू विकासको गति र सुरक्षाको भरोसा दिने महत्वपूर्ण आधार बनेका छन्।
सहरमा चेन होटल आउनु भनेको केवल पर्यटक बस्ने ठाउँ बढ्नु मात्र होइन, अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड, सेवा संस्कार र आधुनिक जीवनशैलीको प्रवेश हो। पर्यटकले आफू सुरक्षित महसुस गर्न थालेपछि मात्र उनीहरूको खर्च र समय सहरमा रहन्छ। यहीँबाट सहरको आर्थिक घडी घन्किन थाल्छ।
स्थानीय व्यवसायीसम्म यो लहर पुग्छ। होटलले ल्याएको पाहुनाले ट्याक्सी, रेस्टुरेन्ट, हस्तकला पसलदेखि स्थानीय गाइडसम्मलाई रोजगारी र आम्दानी दिलाउँछन। सहरको सडक सफाइदेखि यातायात सुधारसम्मका अभियानमा चेन होटलहरूको उपस्थिति प्रत्यक्ष/अप्रत्यक्ष दबाब र प्रेरणा बन्ने गरेको छ। तर, चेन होटल केवल व्यवसायिक संरचना हाेइन, तिनीहरू सहरको ‘सुरक्षाको प्रतीक’ पनि हुन्। ठूलो लगानीका कारण यहाँ अत्याधुनिक सुरक्षा प्रणाली हुन्छ, जसले सहरलाई नै सुरक्षित देखाउन मद्दत गर्छ। विदेशी पाहुनाले यस्तो व्यवस्थालाई सहरकै स्तरसँग जोडेर हेर्छन्।
नेपालका प्रमुख सहरहरूमा चेन होटलको विस्तार तीव्र भइरहेको छ। पोखरा, काठमाडौं, चितवनदेखि भैरहवा र जनकपुरसम्म, चेन होटलहरूले नयाँ कथा लेख्दैछन्। पर्यटन विकास, रोजगारी सिर्जना र आधुनिक सहरको आकांक्षा—सबैलाई एउटै छातामुनि जोड्ने माध्यम बनेका छन्। अन्ततः चेन होटलहरू इँटा–सिमेन्टका संरचना मात्र होइनन्। ती सहरले आफ्नै विकासप्रतिको आत्मविश्वास र सुरक्षाप्रतिको ग्यारेन्टी संसारलाई देखाउने खुटकिला हुन्।
नेपालमा धनाढ्य पर्यटकहरु भित्र्याउदै आएको कोरा टुर्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) विजय अमात्यले चेन होटलको प्रवेशसँगै पर्यटकहरुको आगमनको संख्या मात्र हाेइन, उनीहरुले नेपालप्रति हेर्ने दृष्टिकोणमै परिवर्तन हुने गरेको बताउँछन्। ‘जुन मुलुकमा ठूला र चर्चित चेन होटलहरुको प्रवेश हुन्छ, त्यो मुलुकमा पक्कै पनि सुरक्षासहितको वातावरण राम्रो छ भन्ने बुझाई पर्यटकहरुमा पर्छ’, सीईओ अमात्यले भने, ‘चेन होटलको प्रवेश केबल व्यापार मात्र हाेइन, मुलुकको प्रतिष्ठा पनि हो।’
पछिल्लो समय नेपालमा चेन होटल व्यापक रुपमा भित्रिरहेको छ। विदेशी पर्यटकहरुको आगमण बढिरहेको बेला व्यवसायीहरुले प्रतिस्पर्धात्मक रुपमा चेन होटल भित्र्याइरहेको बेला भ्रष्टचार अन्त्यसहित विभिन्न माग राख्दै गरिएको आन्दोलनको क्रममा दुई ठूला चेन होटल हायात रिजेन्सी र हिल्टन होटलमा आगो लगाएपछि पर्यटन बजारमा नकारात्मक सन्देश फैलिरहेको छ।
‘आगो किन लाग्यो र कसरी लाग्यो भन्ने विषयमा अनुसन्धानबाट बाहिरिएला’, काठमाडौं म्यारियटका सञ्चालक शशीकान्त अग्रवालले भने,‘दुई ठूला चेन होटलमा भएको आगलागीको घटनाले पर्यटकहरुलाई मात्र हाेइन, अन्य चेन होटललाई समेत प्रभावित पारेको छ।’
चेन होटलको प्रवेशले सहरको सुन्दरता र त्यहाँको सुरक्षाको विषयमा समेत पर्यटकहरु ढुक्क हुने गरेको उनको भनाइ छ। नेपालमा पहिलोपटक चेन होटल माथि आक्रमण हुँदा पर्यटकहरु त्रसित हुँदा नकारात्मक सन्देश गएको बताउँदै यसले नेपालको छवि मात्र हाेइन, चेन होटलप्रतिको सुरक्षामा समेत प्रश्न उठाएको बताए।
चेन होटलमा बस्नु भनेको पर्यटकले आफु सुरक्षित छु भन्ने महशुस गर्ने गरेको बताउँदै दुई होटल जलाएको घटनाले नराम्रो सन्देश गएको उनको भनाइ छ। जहाँ ठूला होटलहरु सञ्चालनमा छ त्यो क्षेत्रमा सुरक्षा अवस्था राम्रो छ भन्ने अनुभूति पर्यटकहरुले मात्र हाेइन आसपासमा बस्ने समूदायले पनि गर्ने गरेकोमा यो पटकको घटनामा उल्टो भएको सञ्चालक अग्रवालले बताए। अहिले नेपालमा १ दर्जनभन्दा बढी चेन होटल र फ्रेन्चाइजी होटल सञ्चालनमा रहँदै आएको छ। त्यहीँ हाराहारीमा अन्य चेन होटलहरू पनि नेपाल प्रवेशको तयारीमा छन्।