काठमाडौं। पछिल्लो समय चार पांग्रे विद्युतीय सवारीसाधन (ईभी) सँगै दुई पांग्रे ईभीको आयात पनि बढ्दै गएको छ। कुनै समय न्युन आयात हुने गरेको ईभी बाइक तथा स्कुटर अहिले भने हजारौंको संख्यामा आयात हुने गरेको छ।
धेरै ईभी ब्रान्ड आयातमा मात्र केन्द्रीत हुँदा बन्द भएका छन् भने कति ब्रान्डले बिक्री सुरु गर्नुभन्दा अगाडि नै पूर्वाधारमा लगानी गरी बिक्री सुरु गरेका छन्। भन्सार विभागको तथ्यांक अनुसार इलेक्ट्रिक स्कुटरको आयात बढ्दो क्रममा रहेको छ। नेपाली बजारमा धेरै स्कुटर ब्रान्ड बन्द भएपनि केही ब्रान्ड भने बजारमा टिक्न संघर्ष गरिरहेका छन्।
चालू आर्थिक वर्षको दुई महिना साउन र भदौमा मात्र ३२ करोड रुपैयाँ बराबरको ३ हजार १८५ युनिट ईभी बाइक तथा स्कुटर आयात भएको भन्सार विभागले जनाएको छ। उक्त आयातबाट सरकारले ११ करोड ३९ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
भन्सार विभागको तथ्यांकअनुसार २०७४÷७५ मा १ करोड ८० लाख रुपैयाँ बराबरको ३४७ युनिट बाइक तथा स्कुटर आयात भएको थियो। उक्त आयातबाट सरकारले ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। यसैगरी २०७५/७६ मा १० करोड रुपैयाँ बराबरको २ हजार ४७ युनिट स्कुटर तथा बाइक आयात भएको थियो। उक्त आयातबाट सरकारले २ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। २०७५/७६ को वर्ष एकै पटक १७०० युनिटले दुई पांग्रे ईभीको आयात बढेको थियो।
त्यस्तै २०७६/७७ मा ११ करोड ७१ लाख रुपैयाँ बराबरको १ हजार ३४९ युनिट स्कुटर तथा बाइक आयात गरिएको थियो। यसबाट सरकारले २ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यस वर्ष भने ईभी बाइक तथा स्कुटरको आयात केही घटेको देखिन्छ। त्यसपछि २०७७/७८ मा भने आयात फेरी बढेको थियो। उक्त वर्ष २४ करोड रुपैयाँ बराबरको २ हजार २६५ युनिट आयात भएको थियो। उक्त आयातबाट सरकारले ५ करोड ८३ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो। यो वर्ष ९०० युनिटले आयात बढेको थियो।
घट्ने बढ्ने भइरहेको ईभी बाइक तथा स्कुटरको आयात २०७७/७८ पछि भने क्रमश बढ्दो क्रममा रहेको छ। २०७८/७९ मा आइपुग्दा दुई पांग्रे ईभीको आयात ह्वातै बढेको देखिन्छ। उक्त वर्ष ३९ करोड ३९ लाख रुपैयाँ बराबरको ३ हजार ६१० युनिट दुई पांग्रे ईभीको आयात भएको थियो। यसबाट सरकारले ९ करोड ५५ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो। यो वर्ष १ हजार ३४५ युनिटले आयात बढेको थियो।
यसैगरी २०७९/८० मा दुई पांग्रे ईभीको आयात दोब्बरले बढेको छ। उक्त वर्ष ९३ करोड २६ लाख रुपैयाँ बराबरको ७ हजार १५५ युनिट विद्युतीय स्कुटर र बाइक आयात भएका थिए। उक्त आयातबाट सरकारले २४ करोड २० लाख रुपैयाँ संकलन गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा भने केही युनिट मात्र दुई पांग्रे ईभीको आयात बढेको थियो। उक्त वर्ष ८३ करोड ४ लाख रुपैयाँ बराबरको ७ हजार ७४७ युनिट बाइक तथा स्कुटर आयात भएको भन्सार विभागले जनाएको छ। यसबाट सरकारले २७ करोड ३१ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।
गत आर्थिक वर्ष भने ४६ प्रतिशले ईभी बाइक तथा स्कुटरको आयत बढेको छ। २०८१/८२ को एक वर्षमा १ अर्ब ६ करोड ४८ लाख रुपैयाँ बराबरको ११ हजार ३२० युनिट ईभी बाइक तथा स्कुटर आयात भएको छ। उक्त आयातबाट सरकारले ३७ करोड ६५ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
अधिकांश ब्रान्ड बन्द हुँदा केही ब्रान्ड भने चम्किँदै
पछिल्ला केही वर्षमा नेपालमा विद्युतीय दुईपांग्रे सवारीसाधन प्रतिको आकर्षण तीव्र रूपमा बढेको छ। तर, बजारमा प्रवेश गरेका सबै ब्रान्डहरू सफल भएका छैनन्। पछिल्लो ७–८ वर्षको अवधिमा ८० भन्दा धेरै ईभी ब्रान्डका स्कुटर नेपाल भित्रिए। तीमध्ये धेरै ब्रान्ड अहिले बजारबाट हराइसकेका छन्। केही स्थापित व्यवसायिक घरानाहरूले भित्र्याएका स्कुटर ब्रान्डहरू समेत टिक्न नसकी बन्द भएका छन्। यीमध्ये अधिकांश ब्रान्डले पछिल्लो ३ वर्षमा कुनै पनि युनिट आयात नगरेको पाइन्छ भने केहीले वर्षमा २–४ युनिट मात्रै ल्याएका छन्।
नेपाली बजारमा आएका धेरै ब्रान्डहरू बजारबाट हराए पनि केही ब्रान्डहरुले भने आफूलाई मजबुत रूपमा स्थापित गर्दै लगेका छन्। लगभग १ दर्जन ब्रान्ड अहिले नेपालमा बिक्री र सेवामा केन्द्रित हुँदै बजार विस्तार गरिरहेका छन्।
हाल नेपाली बजारमा एथर, एनआइयू, टेल्जी, सेगवे, टीभीएस, याडिया लगायत ब्राण्डको बिक्री बढ्दो क्रममा छ। यी ब्राण्डले पछिल्ला वर्षहरूमा आयात क्रमशः बढाउँदै लगेका छन्। साथै, नयाँ–नयाँ मोडलका ईभी स्कुटर नेपाली बजारमा ल्याइरहेका छन्। गत नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पोमा पनि धेरै नयाँ मोडलका ईभी बाइक तथा स्कुटर नेपाली बजारमा भित्रिएका छन्।