काठमाडौं । सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ २ अर्ब रुपैयाँ पनि जम्मा भएको छैन ।
चैत ३० गतेसम्म विभिन्न व्यक्ति, उद्योगी–व्यवसायी, कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्था, सार्वजनिक संस्थान, निजामति र संस्थानमा कार्यरत कर्मचारीबाट १ अर्ब ९८ करोड ६७ लाख रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
पारदर्शीतामा शंका गर्दै कोरोना उपचार कोषमा निजी क्षेत्रले देखाएन उत्साह, १ अर्ब ८२ करोड मात्र जम्मा
सरकारले ५० करोड रुपैयाँ सुरुवाती रकम राखेर उपचार कोष स्थापना गरेको हो ।उद्योगी–व्यवसायीले मास्क, भेन्टिलेटर, खाद्यन्न, औषधि र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायत आवश्यक स्वास्थ्य सामाग्री सिधै सहयोग गरेपछि कोषमा रकम न्युन जम्मा भएको हो ।
अधिकाँश व्यवसायिक प्रतिष्ठानहरुले सरकारी कोषमा सहयोगमा रकम जम्मा गर्नुको साटो सिधै औषधिलगायत स्वास्थ्य समाग्री किनेर अस्पताललाई सहयोग गरिरहेका छन ।
सहयोग माग्न पुगेका उद्योगीसँगै अर्थमन्त्री खतिवडाले गुहार मागेपछि....
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारीको रोकथाम, नियन्त्रण तथा कोरोना संक्रमितको उपचारका लागि भन्दै चैत ९ गते बसेको मन्त्रिपरिषद बैठकले ५० करोड रुपैयाँ सुरुवाती रकम जम्मा गरेर सहयोगका लागि अपिल गरेको थियो । सरकारले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर सहयोगका लागि आह्वान गरेको छ ।
कोषमा निजी क्षेत्रबाट मोवाइल सेवाप्रदायक एनसेल प्राइभेट लिमिटेड र सार्वजनिक संस्थानबाट नेपाल आयल निगम लिमिटेड सबैभन्दा बढी सहयोग गरेका छन । एनसेलले उपचार कोषमा १० करोड र आयल निगमले ५० करोड रुपैयाँ जम्मा गरेको छ ।
यस्तै नेपाल दुरसञ्चार प्राधिकरणले १५ करोड र नेपाल टेलिकमले १२ करोड रुपैयाँ कोषमा जम्मा गरेका छन । वाणिज्य बैंकहरुले १ करोड रुपैयाँ हारहारीमा रकम जम्मा गरेका छन । पूर्व राजा ज्ञानेन्द्र शाहाले हिमानी ट्रष्टमार्फत २ करोड रुपैयाँ नगद कोषमा जम्मा गरेका छन ।
सरकारको, आयल निगम, टेलिकम र दुरसञ्चार प्राधिकरण बाहेक अन्यको सहयोग रकम न्युन छ । टेलिकम र एनसेलले सरकारको निर्देशनअनुसार लकडाउन अवधिका लागि रिचार्ज गर्दा रिचार्ज रकमबराबरकै बोनस पनि उपलब्ध गराइरहेका छन । वाणिज्य बैंकहरुले न्युनतम ५० लाखदेखि १ साढे १ करोड रुपैयाँसम्म कोषमा रकम जम्मा गरेका छन ।
कोषमा जम्मा भएको रकम कोरोनासमबन्धी औषधि खरिद, क्वारेन्टाइन केन्द्रको व्यवस्थापन, अस्पतालको उपकरण, कोरोनाबाट संक्रमण हुने सम्भावित व्यक्तिको उपचारमा खर्च हुने सरकारले बताउँदै आएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले कोषमा रकम जम्मा गरेर सहयोग गर्न निजी क्षेत्रलाई आब्हान गरेका छन । कोषमा न्युन रकम जम्मा भएपछि अर्थमन्त्री खतिवडाले निजी क्षेत्रसंग सहयोगको याचाना गरेका हुन ।

