काठमाडौं। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद गर्दा सीधै किसानको खातामा रकम भुक्तानी गर्ने भएको छ। कम्पनीले हाललाई देशभर १३ वटा खरिद केन्द्र तोकेको छ।
यी केन्द्रमा आवश्यकताअनुसार स्थानीय तहसँग समन्वय गरी थप उपकेन्द्रहरू पनि खोल्ने तयारी गरेको छ। सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा कम्पनीले धान खरिद गरी किसानहरुको खातामा रकम जम्मा गर्ने तयारी गरेको हो।
कम्पनीले महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगन्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, विरगञ्ज, लहान, जनकपुर, विराटनगर र विर्तामोड गरी १३ वटा शाखाबाट धान खरिद गर्ने छ। कम्पनीले पश्चिम नेपालबाट धान खरिद सुरु गर्ने जनाएको छ।
कैलाली जिल्लाको धनगढीलगायतका क्षेत्रबाट कात्तिक ११ गतेदेखि धान खरिद गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए। पश्चिम तराईमा धान छिटो भित्र्याउने भएकाले सोही क्षेत्र हुँदै क्रमशः पूर्वतिर धान पाक्दै गएपछि खरिद केन्द्रहरू पनि सर्दै आउने योजना कम्पनीको छ।
यस आर्थिक वर्षका लागि कम्पनीले प्रारम्भिक चरणमा एक लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ।
आचार्यका अनुसार किसानले धान बिक्री गरेपछि भुक्तानीका लागि धेरै समय कुर्नुपर्ने छैन। ‘खरिद केन्द्रमा इन्टरनेट र कम्प्युटर उपलब्ध भएमा किसानलाई तत्काल भुक्तानी गरिने छ,’ उनले भने, ‘तर प्राविधिक सुविधा नभएका केन्द्रबाट अधिकतम तीन दिनमा किसानको रकम भुक्तानी गरिने छ।’
-1761474708.png)
यस आर्थिक वर्षका लागि कम्पनीले प्रारम्भिक चरणमा एक लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ। गत वर्ष निजी क्षेत्रका क्रेताहरूले किसानलाई सरकारले तोकेभन्दा राम्रो मूल्य दिएकाले सरकारी लक्ष्य पूरा हुन नसकेको स्मरण गर्दै आचार्यले कम्पनीले यस वर्ष बजारको अवस्था हेरेर लक्ष्य थप्न सकिने जनाए।
किसानले धान बेच्दा किसान सूचीकरण फारम भर्नुपर्ने छ। जसमा बैंक खातासम्बन्धि जानकारीसमेत समावेश गरिएको छ। साथै, किसानले नागरिकता तथा राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने छ। यसैका आधारमा भुक्तानी प्रक्रिया अगाडि बढ्ने छ।
कम्पनीले पहाडी क्षेत्रका रैथानी धानहरू जस्तैः जुम्ला, कास्की आदि क्षेत्रमा फल्ने पनि खरिद गर्ने नीति लिएको छ। यी रैथानी बालीहरूको न्यूनतम समर्थन मूल्य तोक्नका लागि सम्बन्धित जिल्ला खाद्य व्यवस्था समितिको बैठक राखेर प्रक्रिया अगाडि बढाउन प्रादेशिक तथा शाखा कार्यालयहरूलाई निर्देशन दिइएको छ। यो पहलले स्थानीय र विशिष्ट बाली उत्पादन गर्ने किसानहरूलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
यो वर्ष सरकारले धानको न्युनतम समर्थन मूल्य मोटा धान प्रति क्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धान प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ।
यस्तो छ सूचीकरण फारमः