काठमाडौं। सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद प्रक्रिया सुरु भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ११ गतेदेखि धान खरिद प्रक्रिया सुरु गरेको हो।
कम्पनीले यस वर्ष किसानको १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ। यसका लागि ७० करोड रुपैयाँको बजेट छुट्याएको छ। खाद्यले कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढीबाट धान खरिद गरिरहेको छ। कम्पनीले देशभर १३ वटा खरिद केन्द्र सञ्चालन गर्ने जनाएको छ।
बाँकी केन्द्रहरूमा पूर्वतिर धान काट्ने काम भइरहेकाले बिस्तारै खरिद सुरु हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए। उनका अनुसार, खरिद सुरु भएका महेन्द्रनगर, धनगढी र कैलालीका केन्द्रहरूमा किसानको ठूलो भीड लागेको छ। किसानले आफ्नो नाम सुचिकृत (दर्ता) गराइरहेका छन्। धानको अत्यधिक आगमनका कारण खरिद कोटा थप्नुपर्ने माग देखिएको उनले बताए।
सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा कम्पनीले धान खरिद गरी किसानहरुको खातामा रकम जम्मा गर्ने तयारी गरेको हो।
१ लाख ९० हजार क्विन्टलको कोटाले धान्न नसक्ने देखिएकाले कम्पनीलाई कोटा बढाउन दबाव परेको छ। सुरुका चार–पाँच दिनमा कति धान खरिद भयो भन्ने यकिन तथ्यांक तत्काल आइसकेको छैन। कम्पनीका अनुसार सफ्टवेयरमा इन्ट्रीको काम सुरु हुने भएकाले अबको केही समयपछि मात्र दैनिक अपडेट आउन सक्नेछ।
कैलालीलगायतका क्षेत्रमा किसानहरू धान बेच्नका लागि लाइनमा छन् भने नेपालको पूर्वी भेगमा धान काट्ने क्रम जारी छ। सोही अनुसार खाद्यले विस्तारै पूर्वी क्षेत्रतिर धान खरिद गर्ने जनाएको छ। कम्पनीले हाललाई देशभर १३ वटा खरिद केन्द्र तोकेको छ। यी केन्द्रमा आवश्यकताअनुसार स्थानीय तहसँग समन्वय गरी थप उपकेन्द्रहरू पनि खोल्ने तयारी गरेको छ। सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा कम्पनीले धान खरिद गरी किसानहरुको खातामा रकम जम्मा गर्ने तयारी गरेको हो।
कम्पनीले महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगन्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, विरगञ्ज, लहान, जनकपुर, विराटनगर र विर्तामोड गरी १३ वटा शाखाबाट धान खरिद गर्ने छ। कम्पनीले पश्चिम नेपालबाट धान खरिद सुरु गर्ने जनाएको छ। यो वर्ष सरकारले धानको न्युनतम समर्थन मूल्य मोटा धान प्रति क्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धान प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ।