काठमाडौं। राहदानी विभाग त्रिपुरेश्वरमा अनलाइन अपोइन्टमेन्ट र द्रुत पासपोर्ट सेवाको नाममा संगठित घुसखोरी र ठगीमा प्रहरीसमेत संलग्नता रहेको अडियो र प्रमाण सार्वजनिक भएपछि विभागमा खटिएको सम्पूर्ण सुरक्षा टोली परिवर्तन गरिएको छ। विशेष सुरक्षा प्रहरी गणले घुस प्रकरणमा उठेका गम्भीर आशंकालाई मध्यनजर गर्दै कार्यरत सबै सुरक्षाकर्मी फिर्ता गरेर नयाँ टोली पठाएको हो।
विशेष सुरक्षा प्रहरी गणले घटनामा प्रहरी कर्मचारीको संलग्नता रहेको विषयमा आन्तरिक अनुसन्धानसमेत सुरु गरेको जनाएको छ। काठमाडौं उपत्यका त्रिपुरेश्वर विशेष सुरक्षा प्रहरी गणका डिएसपी छेदीलाल कमादीले क्यापिटल नेपाललाई राहदानी विभागमा खटाइएको सुरक्षा टोली फेरिएको जानकारी दिए।
उनले भने, 'हरेक दुई-दुई महिनामा सुरक्षा टोली फेर्ने गरिएको छ। यसअघि विभागमा खटाइएको सुरक्षा टोली फेर्नुपर्ने समय आइसकेको थियो। तर, चाडपर्व बिदा भएकाले रोकिएको थियो। राहदानी विभागमा हुने घुस प्रकरणमा प्रहरीको समेत संलग्नताको अडियो सञ्चार माध्यममा आएपछि कार्यरत टोली परिवर्तन गरेर नयाँ टोली पठाएका छौँ। घटनामा प्रहरीको संलग्नताबारे हामी अनुसन्धान गरिरहेका छौँ।'
प्रहरी अनुसन्धानमा प्रहरी सहायक हवलदार मीम बहादुर नेपाली इ-पासपोर्ट बनाउनका लागि अनियमिततामा जोडिएको देखाएको छ। यसअघि उनको संलग्नताबारे क्यापिटल नेपालले गत कार्तिक ११ गते विभागमा स्थलगत रिपोर्टिङ गरेर त्यसको समाचार स्टोरी १३ गते सार्वजनिक गरेको थियो। सार्वजनिक स्टोरीमा विभागमा खटिएका सुरक्षाकर्मीहरूले समेत इ-पासपोर्टको अनलाइन अपोइन्टमेन्ट लिन नसकेका सेवाग्राहीसँग पैसा लिएर पासपोर्ट निर्माणको काम गरिदिने अडियो समावेश थियो। साथै, २७ हजार रुपैयाँसम्म लिएर पासपोर्ट बनाइदिने बिचौलियाको अडियो क्यापिटल नेपालमा सार्वजनिक भएको थियो।
विभागको कोठा नम्बर २० (निर्देशक गायत्री बहादुर पौडेलको कोठा) वरिपरी निराश भएर बसेका सेवाग्राहीलाई तुरुन्तै पासपोर्ट चाहिएको हुन्थ्यो। उनीहरूकै खोजीमा बिचौलियाहरू लाग्ने गर्थे। पासपोर्ट बिचौलिया मात्रै होइन, विभागमा खटिएका सुरक्षाकर्मीलाई पनि यिनै हतारमा परेका व्यक्तिहरूको खोजी हुन्थ्यो। रिपोर्टिङका क्रममा भेटिएका सेवाग्राहीका अनुसार, सुरक्षाकर्मीमध्ये केहीले २० नम्बर कोठामा लाइन लागेका व्यक्तिलाई विभिन्न कोठामा पुर्याउँथे। अनलाइन अपोइन्टमेन्ट नपाएका सेवाग्राहीलाई उनीहरूले सुटुक्क आफ्नो नम्बर दिन्थे र फोन गर्न भन्थे।
काम सकेर घर फर्किएका सेवाग्राहीले दिएको मोबाइल नम्बर (९७०३४८९५५१/९८४२६१८८६१) मा कल गर्दा 'निम नेपाली दाइ' भनेर ट्रुकलरमा नाम देखाउने व्यक्तिले आफूलाई विभागकै कर्मचारी भनेर परिचय दिएको पाइएको थियो। उनले फारम भरेको पाँच हजार रुपैयाँसहित कुल १७ हजार रुपैयाँ तिरेर दुई दिनमा पासपोर्ट हात पर्ने प्रलोभन दिँदै खुलेआम रकमको मोलमोलाइ गरेका थिए।
बिचौलियाको सेटिङमा विभागका कर्मचारी र सुरक्षाकर्मीको समेत संलग्नता रहेको बलियो आशंकाका आधारमा प्रहरीले आन्तरिक अनुसन्धान सुरु गरेको देखिएको छ।