काठमाडौं। काठमाडौं महानगरले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको छ।
काठमाडौं २६ ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि शुक्रबार शान्ति विद्या गृह मावि लैनचौरमा ३२ थान र लोकहित आधारभूत विद्यालयमा १० थान कम्युटर हस्तान्तरण गरेको हो।
कम्युटर हस्तान्तरण कार्यक्रममा बोल्दै काठमाडौं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले सामुदायिक विद्यालयको गुणस्तर उकास्नका साथै समय अनुकूलको प्रविधिमैत्री शिक्षालाई जोड दिन ४२ थान कम्युटर प्रदान गरिएको जानकारी दिए।
“विद्यालयमा शैक्षिक सामग्री मात्र भएर हुँदैन यसलाई भरपुर प्रयोग गर्नुपर्छ, यी दुई विद्यालयलाई महानगरको मात्र नभई देशकै नमूना विद्यालय निर्माण गर्न वडाले सहयोग गर्छ”, उनले भने।
शान्ति विद्या गृह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कामपा २६ का पूर्ववडाध्यक्ष वर्षाराम भण्डारीले इतिहास बोकेको विद्यालयको शैक्षिक उन्नयनका लागि स्थानीय सरकारले गरेको सहयोगप्रति धन्यवाद दिए।
शान्ति विद्या गृह माविका प्रधानाध्यापक विष्णुप्रसाद ढकालले शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय सरकारले गरेको प्रयासप्रति आभार प्रकट गर्दे राम्रो नतिजा दिने गरी विद्यालयले अध्यापन गराउने बताए।
विसं २००४ मा स्थापना भएको शान्ति विद्या गृहमा हाल एक हजार २०० विद्यार्थी अध्ययनरत छन् भने लोकहित आधारभूत विद्यालयमा १०६ विद्यार्थी अध्ययनरत छन्। काठमाडौं २६ ले गत भदौ ११ गते स्टार अफिस इन्टरनेशनलसँग सम्झौता गरी रु २७ लाख ७६ हजार २०० लागतमा दुई विद्यालयमा कम्युटर ल्याब स्थापना गरेको कामपा २६ का वडा सचिव केदार रिमालले जानकारी दिए। कम्युटर प्रदान कार्यक्रममा वडा सदस्य बाबुकाजी महर्जन, प्रवेश श्रेष्ठ र रुपा विकको सहभागिता रहेको थियो।