काठमाडौं। नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस-२०८२ को अवसरमा सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ। सरकारले उच्च करदाताका रूपमा सम्मानित गरेका १६ जना व्यक्ति तथा संस्थालाई निजी क्षेत्रको तर्फबाट पनि परिसंघले उच्च सम्मान प्रदान गरेको हो।
वस्तु निर्यातको कारोबार गर्ने क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी डावर नेपाल प्रा.लि., विशेष उद्योगबाट युनिलिभर नेपाल लिमिटेड, पर्यटन क्षेत्रबाट सोल्टी होटेल लिमिटेड, वस्तु व्यापारबाट भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा.लि. र उर्जामुलक उद्योगबाट भोटेकोशी पावर कम्पनी प्रा।लि।लाई परिसंघले सम्मान गरेको छ।
त्यस्तै, कृषि तथा पशुपंक्षीजन्य उद्योगबाट पोषक ब्रिडर फार्म प्रा.लि., सूचना प्रविधि सेवा निर्यात क्षेत्रबाट भेरिस्क नेपाल प्रा.लि., एकलौटी फर्मबाट थर्ड आई इन्टरनेशनल, बैंक तथा बिमा क्षेत्रबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि., स्वास्थ्य र शैक्षिक संस्थाबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटललाई सम्मान गरिएको छ।
रेमिटेन्स तथा मनि ट्रान्सफर कारोबारबाट आईएमई लिमिटेड, निकायहरुबाट नेपाल दूरसंचार प्राधिकरण, वार्षिक कारोबार ५० करोडभन्दा बढी र १०० करोडसम्मको क्षेत्रबाट सि.डि.एस.एण्ड क्लियरिङ लि., ५० करोडसम्मको कारोबार गर्ने क्षेत्रबाट भि.एफ. सर्भिसेज (मोरिसस) प्रा.लि., मूल्य अभिवृद्धि कर दाखिला गर्ने क्षेत्रमा नेपाल दूरसंचार कम्पनी लिमिटेड र व्यक्तिगत करदाता क्षेत्रबाट जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक तथा परिसंघका उपाध्यक्ष राज बहादुर शाहलाई सम्मान गरिएको छ।
सर्वोत्कृष्ट करदातालाई प्रदान गरिएको सम्मान कार्यक्रम मंगलबार सीएनआई सचिवालयमा आयोजित थियो। परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै सर्वोत्कृष्ट करदाता हुनु व्यक्तिगत र संस्थागत उपलब्धी मात्र नभई राज्यप्रतिको महत्वपूर्ण योगदान भएको बताएका थिए। उनले उच्च करदाताको रूपमा राज्यलाई गरेको योगदानको कदर गर्दै परिसंघले पनि सम्मान गरेको बताए।
कार्यक्रममा परिसंघका उपाध्यक्ष राज बहादुर शाह, हेमराज ढकाल, अमित मोर, गभर्निङ काउन्सिल सदस्य विजय शाह, राजश्व समिति सभापति गोपाल कुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझा लगायत अन्य प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए।