काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालू आर्थिक वर्षको ६ महिनामा १८८ नयाँ उद्योग स्थापना लागि अनुमति दिएको छ। विभागले सार्वजानिक गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक अवधिको कार्यप्रगतिअनुसार विभाग तथा विभाग मातहतका प्रदेशस्थित आठ कार्यालयबाट ती उद्योगलाई अनुमतिपत्र जारी गरिएको हो।
विभागले ४३५ वटा नयाँ उद्योग खोल्न लागि सिफारिस गरेको छ। विभागका प्रवक्ता डा. बालकुमारी शर्माले ६ महिनामा १२१८ वटा उद्योगको नवीकरण गरिएको जानकारी दिइन् ।
दोस्रो त्रैमासिकसम्म ३३३ उद्योग अनुज्ञापत्र नवीकरण तथा ४२१ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरी ९४२ उद्योगलाई अनुमतिपत्र जारी तथा नवीकरण र सिफारिस गरिएको थियो।
विभागले ६ महिनामा करिब ६ हजार पटक बजार अनुगमन गरेको छ। खाद्य तथा दाना उद्योग, होटल–रेस्टुरेन्ट, राजमार्ग होटल, हाटबजार, विद्यालय–क्याम्पस क्यान्टिन, दुग्ध तथा तेल उद्योग लगायतमा गरी ५ हजार ९ सय ६ पटक अनुगमन गरिएको उनले जानकारी दिइन्।
विभागले चालू आर्थिक वर्षको ६ महिनामा २९ लाख रुपैयाँ बढीका खाद्यपदार्थ बरामद गरेको छ। चाडपर्व लक्षित तथा नियमित अनुगमनका क्रममा २९ लाख ४ हजार १५२ रुपैयाँ रकम बराबरको खाद्यपदार्थ जफत गरेको हो।
म्याद नाघेका, लेबल नभएका वा ऐन विपरीतका खाद्य पदार्थ जफत तथा नष्ट गरिएको प्रवक्ता डा. शर्माले जानकारी दिइन्। उनका अनुसार जफत नष्ट गरिएका खाद्य पदार्थमा पेय पदार्थ, मिठाई, खाद्यान्न, तेल, मसला, चिप्स, चकलेट, कटान क्यान्डी, खाद्यान्न मासु जन्य खाद्य पदार्थ, प्रशोधित पिउने पानीको जार र कृतिम रंग रहेका छन्।