लुम्बिनी। १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ।
रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा पुस ३ देखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक सस्थाले जनाएको हो।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ नाराका साथ आयोजना हुन लागेको महोत्सवमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तु प्रदर्शनीका लागि राखिने संघले जनाएको छ।
बुटवलस्थित रामनगरमा हालै निर्माण भएको आधुनिक अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक स्तरकै स्टल हुनेछन्। स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको महोत्सव आयोजक समितिका संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिए।
देशको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको औद्योगिक व्यवसायको संरक्षण, सम्वर्द्धन र विकामा यो महोत्सवले टेवा पुर्याउने आयोजकको विश्वास छ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिब ३५० स्टल रहनेछन्। प्रदर्शनीमा करिब आठ लाख दर्शकले अवलोकन गर्ने र २० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ।–रासस