काठमाडौं। नेपालमा दुई पांग्रे नयाँ इलेक्ट्रिक स्कुटर (ईभी) किन्न छ्याप छ्याप्ती सोरुम भेटिए सेकेन्ड ह्यान्ड स्कुटर किन्ने ग्राहकको हाहाकार छ। ईभीको रिसेल बजार अत्यन्त कमजोर भएका कारण सेकेन्ड ह्याण्ड ईभी बिक्रीका लागि रिकन्डिसन हाउस भेटाउनै मुश्किल छ। ईभी आयात तथा बिक्री बढ्दै गए पनि सेकेन्ड ह्याण्डका लागि रिकन्डिसन हाउस भेट्न सकस भएको प्रयोगकर्ताको भनाइ छ।
पछिल्लो समय नेपाली बजारमा इलेक्ट्रिक स्कुटर किन्न चाहँदा चोकचोकमा सोरुम छन्। तर, त्यही स्कुटर केही वर्ष पछि बिक्री गर्नु पर्यो भने कहाँ जाने? यो प्रश्नले धेरै ईभी प्रयोगकर्ता तनावमा छन्। स्कुटर खरिद गरेको दुई वर्षमा नै बिक्री गर्दा पनि रिसेल भ्यालु ५ प्रतिशत पनि नआउने भएकाले सेकेन्ड ह्याण्ड ईभी बिक्री गर्न गाह्रो अवस्था देखिएको छ। अहिले नेपाली बजारमा भित्रिएका धेरै कम्पनीहरू बन्द हुने र पार्टपूर्जाको अभाव हुने समस्याका कारण सेकेन्ड ह्यान्ड इभी बजार प्रभावित बनेको छ।
उपत्यकाभित्र मात्रै प्रयोग गर्ने सोचका साथ दुई वर्षअघि दुई लाख रुपैयाँ मूल्यमा सिन्धुपाल्चोकका सुवास कार्कीले आइमा ब्रान्डको ईभी स्कुटर किनेका थिए। सञ्चालन खर्च कम हुने र उपत्यका भित्र मात्रै प्रयोग गर्ने सोचेर उनले ईभी किने। तर, अहिले त्यो स्कुटर बिक्री गर्न खोज्दा रिकन्डिसन हाउस भेटाउन सकेका छैनन्।
‘ईभीको सञ्चालन खर्च कम हुन्छ भन्ने हिसाबमा दुई वर्षअघि आइमा ब्रान्डको ईभी स्कुटर किनेको थिएँ,’ कार्कीले क्यापिटल नेपालसँग भने ‘तर प्रयोग गर्दै जाँदा स्कुटरमा धेरै समस्या आयो। किनेको दुई वर्षमै एक पछि अर्को समस्या बढेपछि एक्सचेञ्ज गर्न कम्पनीसँग सम्पर्क गर्दा कम्पनीले एक्सचेञ्ज गर्न नमिल्ने जवाफ दियो।’ पहिले त्रिपुरेश्वरमा रहेको आइमा ब्रान्डको सोरुम हाल कहाँ सरेको हो भन्ने पनि थाहा नभएको उनको भनाइ छ।
कार्कीका अनुसार उक्त स्कुटर बेचेर नयाँ अर्काे खरिद गर्ने सोच बनाएर बिक्रीका लागि एक महिनासम्म विभिन्न रिकन्डिसन हाउसमा भ्यालुएसनका लागि धाउनुपरेको बताए।
सवारीसाधन बिक्री गरेपछिको सेवा दिनु र उपभोक्ताले सवारीसाधनमा प्रयोग हुने पाट्स सहजै उपलब्ध गराउने जिम्मा आयात गर्ने कम्पनीको हो।
‘एक महिनासम्म रिकन्डिसन हाउस खोज्दा पनि कसैले किन्न मानेनन्। बल्ल एउटा रिकन्डिसन हाउसले एक्सचेञ्ज गरिदिन्छु भन्यो,’ उनले भने, ‘मैले दुई लाख रुपैयाँमा किनेको स्कुटर दुई वर्ष चलाए अहिले १० हजार रुपैयाँ मात्र आउँछ भन्यो। रिकन्डिसनको मूल्य सुनेर चित खाएँ।’
यो आइमा ब्रान्डको स्कुटर खरिद गर्ने उपभोक्ताको मात्र समस्या होइन। नेपालका हजारौं ईभी स्कुटर प्रयोगकर्ताहरू अहिले यस्तै ‘रिसेल ट्र्याप’ मा परेका छन्। जहाँ पेट्रोल स्कुटर ५–७ वर्षपछि पनि आधा मूल्यमा बिक्छन्, तर, ईभीको मूल्य मोबाइल फोनको भन्दा पनि छिटो खस्किरहेको छ।
ईभी स्कुटर किन्न त किन्ने बेच्ने कहाँ?
सवारीसाधन बिक्री गरेपछिको सेवा दिनु र उपभोक्ताले सवारीसाधनमा प्रयोग हुने पाट्स सहजै उपलब्ध गराउने जिम्मा आयात गर्ने कम्पनीको हो। तर, नेपालका लागि आइमाको आधिकारिक वितरक हिमाल ईभी मोटर्स प्रालिले भने बिक्री मात्रै गर्यो। कम्पनीले स्कुटर बिक्री गरिसकेपछि स्कुटरमा समस्या आए वा एक्सचेन्ज गर्नुपरेमा वेवास्ता गर्यो। जसका कारण आइमा ब्रान्डका स्कुटर खरिद गरेका ग्राहक भने अन्योलमा परेका छन्।
आइमाको आधिकारिक वितरक हिमाल ईभी मोटर्स प्रालिका सञ्चालक गौरव बजाजले चीनबाट सस्तोमा ईभी स्कुटर ल्याइ काठमाडौंको त्रिपुरेश्वरमा शोरुम सञ्चालन गरी राम्रो छुटसहित स्कुटर बिक्री गरे। उनले चीनबाट ल्याएको ५०–१०० युनिट स्कुटर बिक्री गर्न धेरै ठाउँमा सोरुम सारे जसोतसो गरी स्कुटर बिक्री गरेपछि अहिले उनको सोरुम कहाँ छ भन्ने कुरा पनि उपभोक्तालाई थाहा नदिएको गुनासो धेरै आएको छ।
अहिले काठमाडौं उपत्यकालगायत मुलुकभर ईभी स्कुटर बिक्री वितरण गर्ने शोरुमको उपस्थिति बाक्लो छ।
अटोमोबाइल क्षेत्रको सामान्य अनुभव समेत नभएकाहरु अहिले चीनबाट सस्तोमा स्कुटर ल्याएर बेचिरहेको छन्। तर, उनीहरुलाई सेवाग्राहीको समस्याका बारेमा कुनै मतलब छैन। तर, तीमध्ये धेरै कम्पनीहरू एक–दुई वर्षमै बन्द हुने वा डिलर परिवर्तन हुने गरेका छन्। कम्पनी नै नरहेपछि त्यसका पार्टपुर्जाहरू पाउन असम्भव जस्तै हुन्छ। जुन स्कुटरको पार्टपुर्जा पाइँदैन, त्यसलाई सित्तैमा दिए पनि कसैले लिन मान्दैनन्।पाटन गाभलमा मल्टीब्रान्ड स्कुटर बिक्री तथा सर्भिस दिदै आएको बिजी भिडियो एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक गृहेन्द्र बज्राचार्य ईभी स्कुटरमा ब्याट्री परिवर्तन गरेर चलाउने ग्राहक नै नहुने बताउँछन्।
‘अहिलेसम्म ईभी खरिद गरि ब्याट्रीको वारेन्टी सकिएपछि ब्याट्री परिवर्तन गरेर चलाउने ग्राहक नै छैनन्। बरु रिसेल भ्यालु जति आए पनि त्यो बेचेर अर्काे स्कुटर किन्ने मात्र छन्,’ बज्राचार्यले भने। उनका अनुसार नेपालमा च्याउ उम्रेसरी चिनियाँ ब्रान्डका स्कुटर भित्रिएका छन्, जसको उद्देश्यले क्षणिक लाभ लिने र उपभोक्तालाई फसाउनेमा मात्रै ध्यान छ। स्कुटर बिक्री गरेपछि धेरै कम्पनी बन्द पनि भएका छन्।
‘ईभी स्कुटरको ब्याट्री महंगो छ ब्याट्री परिवर्तन गरेर राख्दा पनि बजारमा ५०–६० हजार रुपैयाँमा पनि बिक्री गर्न कठिन हुन्छ,’ उनले भने, ‘बजारमा नयाँ स्कुटर सस्तो मूल्यमा उपलब्ध हुने र धेरै फिचरहरु अपडेड भएर आएकाले सेकेन्ड ह्याण्ड स्कुटरको माग झनै घटेको छ’ ईभी बजार कमजोर हुनुको मुख्य कारण कम्पनीहरू बन्द हुनु, पार्टपुर्जा अभाव र ब्याट्रीको मूल्य महंगो रहेको उनको भनाइ छ। ब्याट्री फेरेपछि स्कुटरले ६०–७० किलोमिटरसम्मको रेन्ज दिए पनि उपभोक्ता रिसेल मूल्यमा सन्तुष्ट हुन नसकेको बज्राचार्य बताउँछन्।
अहिले काठमाडौं उपत्यकालगायत मुलुकभर ईभी स्कुटर बिक्री वितरण गर्ने शोरुमको उपस्थिति बाक्लो छ। लगभग आधा दशकमा ईभी स्कुटर वितरक चोकचोकमा पुग्न भ्याइसकेका छन्। हालसम्म नेपालमा करिब सात दर्जन ब्रान्डले दुई पांग्रे (टू ह्विलर्स) बिक्री गरिरहेको बिक्रेताको दाबी छ। तर, स्थापित र चलेका ब्रान्ड भने औंलामा गन्न सकिने मात्रै छन्।