काठमाडौं। "ल्यापटप किन्न चाहन्छु, तर एकमुष्ट पैसा छैन। के ईएमआईमा किन्न सकिन्छ?" भनेर सोध्दै सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित फिनटेक प्रदर्शनीमा २५ वर्षीय युवक रोहन श्रेष्ठ 'लेन्डिङ टर्बो' को स्टलमा पुगे। त्यहाँका कर्मचारीले उनलाई फोनमै एउटा एप खोलेर देखाए। मोबाइलबाटै केही विवरण भर्न लाग्दा रोहनलाई आश्चर्य लाग्यो। "यति सजिलो! कागजको झन्झट नै छैन!" उनले भने।
यो दृश्य शुक्रबार मात्र होइन, दुईदिनभर जारी रहेको नेपालको पहिलो फिनटेक प्रदर्शनीको मुख्य आकर्षण बन्यो। पहिलो दिन मात्र दुई हजारभन्दा बढी मानिसले यस्तै नयाँ डिजिटल सेवाहरूको अनुभव गरे। फिनटेक अलायन्स नेपालले आयोजना गरेको यो प्रदर्शनीमा कुल ८६ स्टल थिए। तर सबैको ध्यान डिजिटल लेन्डिङ वा विद्युतीय कर्जातर्फ केन्द्रित भयो।
फिनटेक अलायन्सका कोषाध्यक्ष विनोद पोखरेलले प्रदर्शनीको माहोल बताउँदै भने, "अहिले सबैजना डिजिटाइजेसन र लेन्डिङतिर गइरहेका छन्। डिजिटल लेन्डिङमै सबैको फोकस देखियो।" वास्तवमा प्रदर्शनीमा डिजिटल लेन्डिङ सेवा प्रदान गर्ने कम्पनीका स्टल अवलोकनकर्ताले घेरेका थिए। मानिसहरू जिज्ञासासाथ सोधिरहेका थिए कि यो नयाँ प्रविधि कसरी काम गर्छ र आफूले कसरी फाइदा लिन सक्छन्।
चार वर्षदेखि नेपालमा यो सेवा प्रदान गर्दै आएको 'लेन्डिङ टर्बो' का क्रिजन शाहीले यस प्रविधिको आवश्यकता र उपयोगिता व्याख्या गर्छन्। उनका अनुसार केही वर्षअघिसम्म मोबाइल फोन वा ल्यापटपजस्ता सामग्री किन्दा ईएमआईको सुविधा थिएन। ग्राहकले पूरै नगद तिर्नुपर्ने बाध्यता थियो। यो समस्या समाधान गर्न र डिलर प्वाइन्टबाट नै सहजै ऋण आवेदन दिन मिल्ने बनाउन यो प्रविधि ल्याइएको हो। हालसम्म लेन्डिङ टर्बोले हुलास फिन्सर्भ, स्याकार, जगदम्बाजस्ता हायर पर्चेज कम्पनीलाई सेवा दिइरहेको छ र यस प्रणालीमार्फत दुई लाखभन्दा बढी कर्जा प्रवाह भइसकेको छ।

परम्परागत तरिकाले ऋण लिनु भनेको एउटा लामो र जटिल प्रक्रिया थियो। बैंक धाउनु, फारम भर्नु, कागजात संकलन गर्नु, तमसुक हातैले भर्नु र अन्य औपचारिकताहरू पूरा गर्न ४ देखि ५ घण्टासम्म लाग्थ्यो। केही अवस्थामा त दिनौं लाग्थ्यो। तर डिजिटल लेन्डिङ प्रविधिले यो सबै बदलिदिएको छ। शाहीका अनुसार अब २० देखि ३० मिनेटमै सम्पूर्ण प्रक्रिया सम्पन्न हुन्छ। ग्राहकले मोबाइलबाट आफ्नो विवरण हाल्छ, सिटिजनशिप अपलोड गर्छ, बायोमेट्रिक प्रमाणीकरण गर्छ र केही मिनेटमै कर्जा स्वीकृत हुन्छ। ऋण लिँदा तमसुक र अन्य कागजपत्र हातैले भर्नुपर्ने झन्झट पूर्ण रूपमा हटेको छ।
प्रदर्शनीमा डिजिटल लेन्डिङ जत्तिकै चर्चामा रह्यो कृत्रिम बुद्धिमत्ता आधारित सेवा। विशेषगरी ग्राहक सेवामा एआईको प्रयोगले ठूलो ध्यान तान्यो। 'क्विक कनेक्ट' का बिजनेस डेभेलप्मेन्ट अफिसर प्रज्वल श्रेष्ठले आफ्नो एआई समाधानको प्रदर्शन गर्दै एआईले फेसबुक, इन्स्टाग्राम, भाइबरजस्ता विभिन्न माध्यमबाट आउने ग्राहकका जिज्ञासालाई एउटै ड्यासबोर्डबाट सम्बोधन गने बताए। उनले यसको मतलब मानिसको आवश्यकता नभएको होइन, बरु ह्युमन टच बिनै सामान्य समस्या समाधान गर्ने प्रयास गरिन्छ र जटिल समस्यामा मानव विशेषज्ञलाई जोडिने बताए। यसले कम्पनीको समय र लागत दुवै बचत हुने श्रेष्ठको दाबी छ। हाल वर्ल्डलिंकजस्ता ३० भन्दा बढी ठूला कम्पनीले यो समाधान प्रयोग गरिरहेका छन्।
नेपालमा अहिले ८ देखि ९ सय सफ्टवेयर कम्पनी खुलेका छन्, जसले बजारमा प्रतिस्पर्धा बढाएको छ। एकाउन्टिङ सफ्टवेयर क्षेत्रमा लामो समयदेखि चिनिएको 'ट्याली' की प्रबन्ध निर्देशक गीता क्षेत्रीले यो प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिएकी छिन्। उनका अनुसार बजारमा उत्पादक बढी भएर केही प्रतिस्पर्धा बढेको भए पनि ट्यालीको ब्रान्ड भ्यालु बुझ्ने ग्राहक अझै उनीहरूसँगै छन्। गत वर्ष मात्र १६ सयभन्दा बढी प्याकेज बिक्री भएको र हाल ५० हजारभन्दा धेरै ग्राहक रहेको उनले जनाइन्। ट्यालीको विशेष कुरा के हो भने यो एकपटक किनेपछि नवीकरण गरिरहनु पर्दैन र भर्सनहरू अपग्रेड गर्नुपर्ने बाध्यता पनि छैन। सुरुवाती मूल्य अलि महँगो देखिए पनि दीर्घकालमा सस्तो पर्ने क्षेत्रीको तर्क छ।
प्रविधिको विकाससँगै सुरक्षाको चुनौती पनि बढेको छ। नेपालमा २५ वर्षदेखि बायोमेट्रिक्स र बारकोडिङ समाधानमा काम गरिरहेका बार कोड नेपालका निर्देशक सञ्जय तिमिल्सिनाले यसलाई प्रमुख चिन्ताको विषय बताए। उनका अनुसार २० वर्षअघि पनि प्रविधि त करिब–करिब यस्तै हुन्थ्यो तर अहिलेका सफ्टवेयर, एप्लिकेसन र एआईले यसमा ठूलो परिवर्तन ल्याएका छन्। प्रविधिमा आएको यो परिवर्तनसँगै सुरक्षाका चुनौती पनि उत्तिकै बढेको हुँदा उनीहरू विशेषगरी सिस्टम सुरक्षामा केन्द्रित रहेर काम गरिरहेका छन्। बजारमा एसआईपी कम्युनिकेसन र केवाईसी समाधानबारे बुझ्न चाहने ग्राहकको संख्या बढेको उनले जनाए। एसआईपी फोन यस्तो प्रविधि हो जसले परम्परागत टेलिफोन लाइनको सट्टा इन्टरनेट प्रयोग गरेर फोन कल गर्न र प्राप्त गर्न मद्दत गर्छ र यसले कम्पनीहरूको सञ्चार खर्च निकै घटाउन सक्छ।

विभिन्न किसिमका एप बनाउने डेभलपरहरू नै संघको स्टलमा आएर दृष्टिविहीन व्यक्तिलाई सहज हुने एप कसरी बनाउन सकिन्छ भनेर सोधीखोजी गरेको देखियो। यसले प्रविधि विकासमा समावेशीकरणप्रति बढ्दो चेतना देखाउँछ। संघका तर्फबाट सहभागी अधिकारी र अग्रवालले प्रदर्शनीमा पुगेका बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग समेत संवाद गरे। यसले प्रविधि विकासमा सबैको पहुँच सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम हुन सक्छ।
यो प्रदर्शनीले नेपालमा वित्तीय प्रविधि क्षेत्रको विशाल सम्भावना देखाएको छ। विशेषज्ञहरूका अनुसार आगामी वर्षहरूमा डिजिटल भुक्तानी झन् बढ्दै जानेछ, एआई आधारित वित्तीय सल्लाहकार सेवा सुरु हुनेछ, ब्लकचेन प्रविधिको प्रयोग बढ्नेछ, साइबर सुरक्षाको महत्व झन् बढ्दै जानेछ र समावेशी वित्तीय सेवा विस्तार हुनेछ। तर यसका लागि सरकारी नीति, नियामकीय स्पष्टता र डिजिटल साक्षरता अभिवृद्धि आवश्यक छ।