नेपाली बैंकिङ क्षेत्रमा मेरो तीन दशकभन्दा लामो यात्रा केवल अंकहरूको हिसाब किताबमा मात्र सीमित रहेन। यो यात्रा नेपालको बदलिँदो अर्थतन्त्रको उतारचढाव र वित्तीय प्रणालीको विकास क्रमलाई नजिकबाट नियाल्ने एउटा पाठशाला बन्यो।
जब म नेपाली बैंकिङ र अर्थतन्त्रको वर्तमान अवस्थालाई हेर्छु, म एकातिर प्रविधिको प्रयोगमा भएको प्रगति देख्छु। अर्कोतिर नीतिगत र संरचनात्मक समस्याको गहिरो खाडल पनि देख्छु।
बैंकहरूमा पैसा थुप्रिने तर लगानी नहुने र लगानी भएको क्षेत्रमा पनि जोखिम बढ्दै जाने जुन अवस्था छ। यसले हामीलाई गम्भीर आत्मसमीक्षा र भविष्यको ‘उत्थानशीलता’का लागि सोच्न बाध्य बनाएको छ।
निर्देशित कर्जा र खराब कर्जाको तितो यथार्थ
नेपाल राष्ट्र बैंकले बैंकहरूलाई कृषि, ऊर्जा र साना उद्योग जस्ता ‘निर्देशित क्षेत्र’मा लगानी गर्न बाध्यकारी प्रतिशत तोकिदिएको छ। यो उद्देश्य आफैँमा सकारात्मक भए पनि जब बैंकिङ निर्णय व्यावसायिक सम्भाव्यताभन्दा नियामकको ‘कोटा’ पूरा गर्ने दबाबमा गरिन्छ। त्यसले वित्तीय प्रणालीमा जोखिम निम्त्याउँछ।
हामीले कर्जाको सीमाभन्दा कर्जाको प्रभावकारिता र ऋणीको क्षमतामा जोड दिनुपर्छ।
आजको यथार्थ के हो भने बैंकहरूको खराब कर्जा (एनपीएल) यस्तै क्षेत्रमा बढ्दो छ। बैंकहरूले केवल कारबाहीबाट बच्नका लागि मात्रै ऋण प्रवाह गर्दा त्यसको गुणस्तर कायम हुन सकेको छैन। बैंकिङ भनेको केवल पैसा बाँड्नु होइन, यो त उत्पादन र प्रतिफलको सुनिश्चितता हो।
हामीले कर्जाको सीमाभन्दा कर्जाको प्रभावकारिता र ऋणीको क्षमतामा जोड दिनुपर्छ। हामीले बुझ्नु पर्छ कि बैंकिङ भनेको केवल पैसा बाँड्नु होइन। जब, हामी जबरजस्ती ऋण दिन्छौँ, त्यसले ऋणीलाई उद्यमी बनाउनुभन्दा ऋणको पासोमा पार्ने जाखिम रहन्छ। मेरो विचारमा निर्देशित कर्जाको सीमाभन्दा पनि कर्जाको प्रभावकारिता र ऋणको क्षमतामा बढी जोड दिनु पर्छ।
जलविद्युत् क्षेत्रः अवसर कि चुनौती?
नेपालको समृद्धिमा जलविद्युत क्षेत्रको भूमिका महत्वपूर्ण छ। लोडसेडिङ अन्त्य गर्न निजी क्षेत्र र बैंकहरूको लगानीले ऐतिहासिक भूमिका खेलेको छ। तर, सुरुवाती चरणमा यस क्षेत्रमा लगानी गर्दा बैंकहरू निकै सचेत थिए।
सुरुवातमा लाइसेन्स हुनेहरूसँग व्यावसायिक साख र उद्यमशीलताको अनुभव नहुँदा बैंकहरू लगानी गर्न हिचकिचाएका थिए। जसका कारण जलविद्युतको विकासमा केही ढिलाइ भयो। पछि निर्देशित कर्जाको व्यवस्थाले बैंकहरू यस क्षेत्रमा जानैपर्ने अवस्था आयो। आज बैंकहरूको सहयोगले देश उज्यालो भएको छ। तर, बैंकहरू तीन कारणले अझै ठूलो जोखिममा छन्।
पहिलो, नदी बेसिन जोखिमः बैंकहरुले अहिले गरेको जलविद्युत क्षेत्रको लगानी भौगोलिक केन्द्रीकरणको खतरामा छन्। हाल बैंकहरूले कोशी, गण्डकी वा कर्णाली जस्ता सीमित नदी बेसिनमा आधारित आयोजनामा ठूलो लगानी थुपारेका छन्। जलवायु परिवर्तनका कारण बढ्दो बाढी वा हिमताल विष्फोटन जस्ता विपद् आउँदा एउटै नदी बेसिनका सबै आयोजनाहरू एकैसाथ क्षतिग्रस्त हुन सक्छन्।
यस्तो अवस्थामा बैंकहरूको पोर्टफोलियोमा ‘सिस्टेमिक कोल्याप्स’ आउने डर हुन्छ। त्यसैले, लगानीलाई विभिन्न नदी प्रणालीहरूमा विविधीकरण गर्नु अपरिहार्य छ।
दोस्रो, बजार र कूटनीतिक निर्भरताः यो अर्को गम्भीर पाटो हो। नेपालको बिजुलीको मुख्य खरिदकर्ता भारत मात्र हुनुले ‘मोनोप्सोनी’ (एकल क्रेता)को जोखिम निम्त्याउँछ। यदि, भारतले भविष्यमा सस्तो आणविक ऊर्जा वा अन्य सौर्य ऊर्जामा आत्मनिर्भरता हासिल गर्यो भने हाम्रो बिजुलीको माग शून्यमा झर्न सक्छ। स्पष्ट दीर्घकालीन व्यापार सम्झौता र बहुपक्षीय बजारको सुनिश्चितता विना यस क्षेत्रमा गरिएको अर्बौंको लगानी बालुवामा खन्याएको पानी सरह हुन सक्छ।
बजारको सुनिश्चितताविना गरिएको लगानीले भविष्यमा बैंकहरूलाई ठूलो संकटमा पार्ने निश्चित छ।
तसर्थ, बैंकिङ सुरक्षाका लागि केवल धितो र उत्पादन मात्र नहेरी, बजारको ग्यारेन्टी र जलवायुजन्य जोखिमको मसिनो विश्लेषण गर्नुपर्ने देखिन्छ। यसैले, प्रष्ट कुटनीतिक र दीर्घकालीन द्विपक्षीय व्यापार सम्झौताविना यस क्षेत्रमा गरिएको लगानी ‘बालुवामा हालेको पानी’ जस्तै हुन सक्छ। बजारको सुनिश्चितताविना गरिएको लगानीले भविष्यमा बैंकहरूलाई ठूलो संकटमा पार्ने निश्चित छ।
तेस्रो, ब्याजको पुँजीकरणः जलविद्युत् आयोजना सम्पन्न हुन लामो समय लाग्छ। निर्माण अवधिमा लाग्ने ब्याजलाई पुँजीकरण गर्दा आयोजनाको वास्तविक लागत प्रारम्भिक अनुमानभन्दा निकै माथि पुग्छ।
कतिपय अवस्थामा ब्याजकै कारण लागत यति उच्च हुन्छ कि आयोजना सञ्चालनमा आएपछि हुने आम्दानीले ऋणको किस्ता र ब्याजसमेत धान्न नसक्ने अवस्था सिर्जना हुन्छ। यसले आयोजनालाई वित्तीय रूपमा बोझिलो बनाउँछ। बैंकको ऋण असुलीमा स्थायी अवरोध पैदा गर्छ।
धितोमुखी बैंकिङ र बैंकरको सुरक्षाः उद्यमशीलताको बाधक
नेपालको बैंकिङ प्रणाली अझै ‘धितोमुखी’ छ। विश्वमा व्यवसायको नगद प्रवाह (क्यास फ्लो) र परियोजनालाई हेरेर ऋण दिइन्छ। तर, हामी कहाँ धितोलाई प्रमुख आधार मानिन्छ। आज पनि ऋण लिन आउनेलाई ‘धितो कति छ?’ भनेर सोही आधारमा ऋण दिइन्छ। धितो हुनु सुरक्षा हो। तर, यसले नवीन आइडिया भएका युवा उद्यमीहरूलाई समेट्न सकेको छैन।
अर्कोतिर, बैंकरको सुरक्षाको मुद्दा पनि उत्तिकै गम्भीर छ। कुनै ऋण खराब हुँदैमा बैंकरलाई ‘कर्जा अपचलन’को आरोपमा अपराधी सरह व्यवहार गरिनुले यो क्षेत्रमा त्रास पैदा गरेको छ। धितो पुगेन भन्दैमा वा व्यवसाय असलफल भयो भन्दैमा बैंकरलाई अपराधी सो सरह बैंकिङ क्षेत्रमा त्रास पैदा भएको छ।
भारत र चीनबाट न्यून विजकीकरण भएर आउने सस्तो सामानसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्नै सकेनन्।
यसैको परिमाण स्वरुप आज बैंकर नयाँ र नवीन आइडिया भएका युवा उद्यमीलाइृ ऋण दिन डराइरहेका छन्। धितो नभएका तर, क्षमता भएका युवाहरुलाइृ ऋण नदिएसम्म देशको उद्यमशीलता अगाडि बढ्न सक्दैन। नियामक र कानुनी निकायले व्यावसायिक गल्ती र नियतवश गरिएको ठगीलाई स्पष्ट रूपमा छुट्याउनुपर्छ। ताकि, बैंकरहरूले निर्धक्क भई लगानी गर्न सकुन्।
औद्योगिक विकासको पाठ? कपडा उद्योग किन ढुबे?
मैले आफ्नो करियरमा नेपालको औद्योगिक उत्थान र पतनलाई धेरै नजिकबाट देखेको छु। ९० को दशकमा नेपालमा कपडा उद्योगहरुको बाहुल्यता थियो। ती उद्योगहरुले देशको ठुलो माग धानिरहेका थिए। तर, आज ती किन इतिहास बने? यसको मुख्य कारण ‘न्यून विजकीकरण’ (अन्टर इन्भोइसिङ्ग) र चोरी पौठारी हो।
भारत र चीनबाट न्यून विजकीकरण भएर आउने सस्तो सामानसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्नै सकेनन्। कच्चा पदार्थको मूल्यभन्दा तयारी सामानको आयात मूल्य कम देखाइएपछि स्वदेशी उद्योग कसरी टिकुन्? फस्टाएका कपडा उद्योगहरू न्यून विजकीकरण र चोरी पैठारीका कारण धराशयी हुनाले के सिकाउँछ भने, राज्यले स्वदेशी उद्योग जोगाउन भन्सार र सीमा नियन्त्रणमा कठोरता अपनाउनै पर्छ।
अर्कोतर्फ, सिमेन्ट र स्टिल उद्योगहरू नेपालमा सफल भएका छन्। यसको एउटै कारण ती सामानहरू ‘बल्की’ (धेरै परिमाणका) हुनु हो, जसलाई आयात गर्दा ढुवानी खर्च धेरै लाग्छ। यसले के सिकाउछ भने, राज्यले स्वदेशी उद्योग जोगाउन भन्सार नीति र सीमा नियन्त्रणमा कठोरता नअपनाएसम्म कुनै पनि उद्योग दीर्घकालीन रूपमा टिक्न सक्दैन। हामीले कपडा उद्योगबाट पाठ सिकेर अन्य क्षेत्रलाई बचाउनु पर्छ।
बैंकिङ संस्कार र सुक्ष्म अनुगमन ‘हार्डकोर अकाउन्ट’को पाठ
बैंकिङमा अनुशासन र अनुगमन सबैभन्दा महत्वपूर्ण पक्ष हुन्। धेरै बैंकर ग्राहकले समयमा ब्याज र किस्ता तिरेको छ कि छैन भनेर मात्र हेर्छन्। तर, मेरो बैंकिङ दर्शन अलि फरक छ। म र मेरो टिमले सधैं ग्राहकको बैंक खातामा हुने दैनिक कारोबारलाई सुक्ष्म रूपमा नियाल्थ्यौँ।
हामीले ग्राहकलाई समस्यामा पर्नुअगावै सचेत गराउन सक्नुपर्छ।
मैले सधैँ प्रयोग गर्ने एउटा शब्द छ- ‘हार्डकोर अकाउन्ट’। यदि, कुनै ग्राहकले हरेक महिना ब्याज त तिरिरहेको छ। तर, उसको व्यापारिक कारोबार खातामा देखिएको छैन भने, त्यो एउटा ठूलो ‘रेड फ्ल्याग’ हो। यसको अर्थ उसले आफ्नो व्यापारबाट होइन, बरु कतैबाट अर्को ऋण लिएर वा सम्पती बेचेर ब्याज तिरिरहेको छ।
यस्तो खाता अन्ततः गहिरो खाडलमा जाकिन्छ। एउटा सक्षम बैंकरले ग्राहकको ब्यालेन्स सिट मात्र होइन। उसको वास्तविक व्यापार, गोदामको स्टक र बजारको ‘पल्स’ बुझ्नुपर्छ। हामीले ग्राहकलाई समस्यामा पर्नुअगावै सचेत गराउन सक्नुपर्छ।
प्रविधि र भविष्यको दृष्टि
बैंकिङमा ‘फ्युचर आउटलुक’ (भविष्यको विश्लेषण) कति महत्वपूर्ण हुन्छ भन्ने कुरा म दुई वटा विश्वप्रसिद्ध उदाहरणबाट सधैँ बुझाउने गर्छु। १९९१ मा म ट्रेनिङमा हुँदा मेरो एक इन्स्ट्रक्टरले भन्नुभएको थियो- ‘विजय मल्यालाई कहिल्यै ऋण नदिनु।’
त्यतिबेला उनी भारतका चर्चित र सफल देखिने व्यापारी थिए। तर, उनको खर्चालु स्वभाव, अनावश्यक तडकभडक र विलासी जीवनशैलीले उनको व्यापार डुब्ने कुरा एक अनुभवी बैंकरले दशकौँ अगाडि अनुमान गरेका थिए। यसको अर्थ के हो भने, हामीले ऋणीको स्वभाव र उसको दीर्घकालीन सोचलाई पनि मूल्यांकन गर्नुपर्छ।
त्यस्तै, कोडाक जस्तो विशाल कम्पनीले समयसँगै प्रविधि परिवर्तन नगर्दा अन्ततः हराउनु पर्यो। नेपाली बैंकहरूले पनि अहिले ऋण दिँदा त्यो व्यवसाय आगामी १०-२० वर्षसम्म टिक्छ कि टिक्दैन? डिजिटल क्रान्तिले त्यसलाई कस्तो असर गर्छ? भन्ने विश्लेषण गर्नुपर्छ। यो सोच्नु आजको आधुनिक बैंकरको मुख्य दायित्व हो। हामीले केवल आजको धितो होइन, भोलिको बजार र ऋणीको स्वभाव हेर्नुपर्छ।
तरलताको बाढी र आत्मविश्वासको खडेरी
अहिले बैंकहरूमा पैसा (लगानी योग्य रकम) तरलता थुप्रिएको छ। तर, लगानी हुन सकिरहेको छैन। धेरैलाई लाग्न सक्छ पैसा हुनु त राम्रो हो। बैंकका लागि यो आरामदायक भए पनि अर्थतन्त्रका लागि घातक हो। लगानी नहुँदा बैंकको नाफामा मात्र होइन। समग्र देशको आर्थिक वृद्धिमा ठूलो धक्का लाग्छ।
हामीले जोखिम विश्लेषण गरेर उत्पादनशील क्षेत्रमा पैसा परिचालन गर्नै पर्छ।
अहिलेको मुख्य समस्या आत्मविश्वासको कमी हो। उद्यमीहरू नयाँ लगानी गर्न डराइरहेका छन् भने उपभोक्ता खर्च गर्न डराइरहेका छन्। यस्तो अवस्थामा सरकार र राष्ट्र बैंकले माग सिर्जना गर्ने र लगानीकर्ताको मनोबल उच्च बनाउने खालका ठोस नीतिहरू ल्याउनुपर्छ। बैंकरहरू पनि केवल ‘डिफेन्सिभ’ भएर बस्नु हुँदैन। हामीले जोखिम विश्लेषण गरेर उत्पादनशील क्षेत्रमा पैसा परिचालन गर्नै पर्छ। तरलतालाई अल्छी बनाएर राख्नु भनेको अर्थतन्त्रलाई अपाङ्ग बनाउनु हो।
म्याक्रो र माइक्रो आर्थिक विश्लेषणको सन्तुलन
हामीले अक्सर म्याक्रो इकोनोमी (समष्टिगत अर्थतन्त्र)को मात्र कुरा गर्छौं। तर, माइक्रो (सुक्ष्म) तहमा भइरहेका परिवर्तनलाई बिर्सिन्छौँ। कुनै पनि बैंकको सफलता उसको माइक्रो लेभलको विश्लेषणमा निर्भर गर्छ।
एउटा उद्योगको सानो समस्याले भोलि पूरै क्षेत्रलाई असर गर्न सक्छ। यसैले, बैंकरले आफ्नो अफिसमा बसेर फाइल पल्टाउने मात्र होइन। बजारमा गएर उद्यमीको समस्या र सम्भावना बुझ्नुपर्छ।
हामीले अर्थतन्त्रलाई ‘आइसोलेटेड’ (एकाकी) रुपमा हेर्नु हुँदैन। विश्व बजारमा भइरहेका हलचल, छिमेकी देशका नीति र प्रविधिको विकासलाई नेपाली सन्दर्भमा जोडेर हेर्ने क्षमता आजको बैंकिङ नेतृत्वमा हुनुपर्छ।
भविष्यको ‘रेजिलेन्ट’ बैंकिङ
अहिले बैंकहरूमा तरलता पर्याप्त छ। तर, आत्मविश्वासको खडेरी छ। तरलतालाई अल्छी बनाएर राख्नु भनेको अर्थतन्त्रलाई अपाङ्ग बनाउनु हो। मेरो तीन दशकको अनुभवले भन्छ। बैंकिङ भनेको केवल अंकको खेल होइन, यो विश्वास र भविष्यको सही आंकलन गर्ने कला हो।
अहिलेको हाम्रो अवस्थालाई हेरेर आगामी दिनमा बैंकहरूले आफ्नो ‘फ्युचर रेजिलेन्सी’ (उत्थानशीलता)लाई केन्द्रमा राख्नुपर्छ। हामीले विगतका संकट र उतारचढावबाट जे जति पाठहरू सिक्यौँ, तिनलाई आत्मसात गर्दै भविष्यमा आउन सक्ने जुनसुकै झट्कालाई पनि थेग्न सक्ने गरी वित्तीय प्रणालीलाई बलियो बनाउनु आवश्यक छ।
हामीले धितोमुखी बैंकिङबाट माथि उठेर ‘प्रोजेक्ट बेस्ड’ लगानीलाई प्रोत्साहन गर्नै पर्छ। जब बैंकहरूले ‘रेजिलेन्ट’ भविष्यलाई ध्यान दिएर ‘आइडिया’ र ‘प्रोजेक्ट’मा विश्वास गर्न थाल्छन्, तब मात्र नेपालको वास्तविक आर्थिक रूपान्तरण सम्भव हुनेछ।
हामीले धितोमुखी बैंकिङको पुरानो ढर्राबाट माथि उठेर ‘प्रोजेक्ट बेस्ड’ र ‘क्यास फ्लो बेस्ड’ बैंकिङलाई प्राथमिकता दिनै पर्छ। यसका लागि बैंकरलाई काम गर्ने सुरक्षित वातावरण, उद्यमीलाई ढुक्कसँग लगानी गर्ने अवसर र नियामकलाई दूरदर्शी एवं लचिलो नीति बनाउन म सधैं आग्रह गर्दछु।
हामीले आज गर्ने सानो नीतिगत सुधार वा एउटा सही व्यावसायिक निर्णयले भोलिको नेपालको आर्थिक भविष्य निर्धारण गर्नेछ। बैंकिङ भनेको केवल पैसाको कारोबार मात्र होइन, यो त देशको उद्यमशीलता जोगाउने र समृद्धिको सपना साकार पार्ने एउटा इञ्जिन हो। म चाहन्छु, आगामी पुस्ताका बैंकरहरूले ‘धितो’भन्दा बढी ‘आइडिया’ र ‘प्रोजेक्ट’लाई विश्वास गरुन्। नेपालको आर्थिक रुपान्तरणको बाटो त्यहीँबाट सुरु हुनेछ।
(पौडेल नबिल बैंकका अध्यक्ष हुन्)