काठमाडौं । बन्दावन्दी (लकडाउन) का कारण जलविद्युत आयोजनाहरुको काम ठप्प भएपछि व्यवसायिक बिजुली उत्पादन मिति (आरसीओडी) को समय थप हुने भएको छ । लकडाउनले आयोजनाहरुको काम ठप्प भएपछि आरसीओडीको म्याद थप हुन लागेको हो ।
लकडाउनको प्रभाव हेरेर आरसीओडीको म्याद चाँडै थप्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले लकडाउन खुलेपछि प्रभाव हेरेर लगानीकर्तासंगको छलफलपछि आरसीओडीको म्याद थपको निर्णय गर्ने उनले स्पष्ट पारे । अहिले नै कति समय थप्ने भन्न नसक्ने घिसिङले बताए ।
जलविद्युत लगानीकर्ता कृष्ण आचार्यले अवस्था हेरेर २ वर्षसम्म आरसीओडीको समय थप्न माग गरेका छन । उनले यसको प्रभाव लामो समयसम्म रहने भएकाले सो समय आवश्यक भएको आचार्यको तर्क छ ।
९५ प्रतिशत काम सकिएका माथिल्लो तामकोसीको ७६ मेगावाटको एक युनिटसहित २४५ मेगावाट बिजुली उत्पादन पछि धकेलिएको विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहले बताए ।
उनले न्युनतम ५० देखि ९५ प्रतिशतसम्म काम सकिएका १ हजार ५०० आयोजना रहेको सुनाए । ८० देखि ९४ प्रतिशत काम सकिएका ९३० मेगावाट र ५० देखि ७९ प्रतिशत काम पुरा भएका २४७ मेगावाट रहेको उनले जानकारी दिए ।
यस्तै सोलु करिडोर १३२ केभी, २२० केभी कालिगण्डकी करिडोर, २२० केभीको दोर्दीकरिडोर, २२० केभी हेटौडादेखि नवलपरासीको वर्दघाट,१३२ केभीको सिंङटीदेखि लामोसाँघु र काठमाडौंदेखि मस्र्याङदीसम्मको प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेर रोकिएको घिसिङले जानकारी दिए । उनका अनुसार प्रसारणलाइनको पनि म्याद थप हुने छ । घिसिङका अनुसार तामाकोसी, सान्जेन र रसुवागढी आयोजनाको निर्माण भइरहेको छ ।
चालु आर्थिक वर्षभित्र बिजुली उत्पादनको काम अन्तिम चरणमा पुर्याएका दुई दर्जन आयोजना कोरोना भाइरसका कारणपछि धकेलिएका छन । आगामी असारसम्म माथिल्लो तामाकोसीको एउटा युनिटबाट ७६ मेगावाट, ४२ मेगावाटको मिस्त्रीखोला, २५ मेगावाटको माथिल्लो दोर्दीखोला, २० मेगावाटको तल्लोमोदी, २५ मेगावाटको सिङटीखोला, ११.८ मेगावाटको नमार्जुन मादी, ३० मेगावाटको न्यादी, १४ं८ मेगावाटको माथिल्लो सान्जेन र २७ मेगावाटको दोर्दीखोलालगायत २२ आयोजना सम्पन्न हुने अवस्थामा पुगेका थिए ।
चालु आर्थिक वर्षमा सरकारले १ हजार मेगावाट बिजुली थप्ने लक्ष्य लिएको छ । निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, मिस्त्रीखोला, दोर्दीखोलालगायत ४ दर्जन आयोजना सम्पन्न हुने अनुमान सरकारको थियो ।
माथिल्लो तामाकोसी र रसुवागढीलगायत प्रस्तावित धेरै आयोजना नआउने देखिएपछि विद्युत प्राधिकरण यो वर्ष दुई दर्जन आयोजना सम्पन्न भई ३८७ मेगावाट मात्र बिजुली थप हुने अनुमान गरेको थियो । कोरोना भाइरसले गर्दा यो लक्ष्य पनि पुरा नहुने अवस्था आएको छ ।
चालू आवमै निर्माण सम्पन्न भइ विद्युत उत्पादन हुने भनिएका केही आयोजनामा चीनबाट फैँलिएको कोरोना भाइरस प्रभाव परेको प्राधिकरणको भनाई छ । चीनियाँ लगानी, ठेकेदार, प्राविधिक र निर्माण सामग्री प्रयोग भएका आयोजना अहिले ठप्प छन । आयोजना साइटमा काम बन्द भएको छ ।
दशैं, तिहारअघि नै बिदा मनाउन चीन गएका कामदार तथा प्राविधिक आयोजनामा फर्किएका छैनन । जसका कारणले आयोजना मुख्य काम नै अघि बढ्न सकेको छैन । यस्तै इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकललगायत विज्ञ व्यक्ति आउन सकेका छैनन ।
चीनसँग जोडिएका उत्तरी नाका दुवै नाका अहिले बन्द छन । उता, चीनमा त्यस्ता मेसिन उत्पादक कम्पनी, उद्योग र कार्यालय अहिले बन्द छन । कोरोना भाइरस संकमणको सन्त्रास कहिलेसम्म रहने हो, त्यतिबेलासम्म जलविद्युतमा आयोजना त्यस्को असर देखिने गर्छ ।
यस्तै भारतसंगको सीमा नाका पनि बन्द भइसकेको छ । आउँदो दिनमा चीनिँया ठेकेदार र कामदार भएका आयोजनामा अझै अन्योलतमा थपिने देखिन्छ ।
१२३ मेगावाट थपियो
साउनयता सार्वजनिक र निजी लगानीका एक दर्जन बढी आयोजना सम्पन्न भई प्रणालीमा १२३ मेगावाट बिजुली थप भएको छ । विद्युत प्राधिकरणको लागानीमा १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना सम्पन्न भएको छ ।
यस्तै निजी क्षेत्रबाट २५ मेगावाटको कावेली बी–१, २२ मेगावाटको तल्लो हेवाखोला, ९.९ मेगावाटको इवाखोला, ७ मेगावाटको अपर मार्दीखोला, ८ मेगावाटको माथिल्लो नौगाड, २३.५ मेगावाटको सोलुखोलालगायत एक दर्जन आयोजनाहरु छन ।