काठमाडौं। सन् २०२५ को अन्त्यमा भएको सुस्त बिक्रीले यस वर्ष पनि चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्मातामा मूल्य कटौती गर्नुपर्ने दबाबमा देखिएका छन्। ‘ट्रेड इन’ अनुदान संयन्त्रले कम मूल्यका कार निर्माताहरू थप मूल्य कटौती गर्नुपर्ने दबाबमा परेका हुन्।
गत वर्ष चीनका प्रमुख ईभी निर्माता कम्पनी बिवाईडी, एक्सपेङ, साओमीलगायत ब्राण्डले आफ्नो गाडीको मूल्यमा ठूलो छुट दिएका थिए। गत वर्ष पनि ठूलो संख्यामा स्टक थुप्रिएकाले ईभी निर्मातालाई ‘छुटको स्किम’ सार्वजनिक गर्नु परेको थियो।
यस वर्ष पनि उक्त मूल्य कटौती निरन्तर नहुँदा वर्षको अन्यको बिक्रीले जनाएको छ। विगत एक दशकमा चीनको कार बजारमा धेरै नयाँ स्टार्टअप कम्पनी आएका छन्। बढ्दो प्रतिस्पर्धा र मूल्य कटौती प्रतिस्पर्धाले धेरैजसो कम्पनीले भारी घाटा बेहोरिरहेका छन्।
सांघाईस्थित डिलर ‘वान झुओ अटो’का सेल्स डाइरेक्टर झाओ झेन अपेक्षाअनुसार डेलिभरी नभएपछि, सबै प्रमुख ईभी निर्माताहरुले २०२६ मा पनि सवारी साधनको मूल्य कटौती गर्नुपर्ने बताउँछन्। नयाँ कारको माग एकदमै कमजोर भएकाले यस वर्ष प्रतिस्पर्धा अझ तीव्र बन्ने छ।
डिसेम्बरमा विश्वकै ठूलो ईभी निर्माता बिवाईडीले ४ लाख २० हजार ३९८ युनिट ईभी डेलिभरी गरेको रिपोर्ट सार्वजनिक गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १८.३ प्रतिशतले कम हो। बिवाईडीको बिक्री लगातार चौथो महिना घटेको छ।
प्रिमियम ईभी निर्माता लि अटोले गत महिना ४४ हजार २४६ युनिट गाडी ग्राहकलाई हस्तान्तरण ग¥यो, जुन २०२४ को सोही अवधिको तुलनामा २४.४ प्रतिशतले कम हो। यी दुवै कम्पनी चीनका थोरै नाफामूलक कार निर्मातामध्ये पर्छन्।
डिसेम्बरमा ईभी डेलिभरीमा तीव्र वृद्धि हुने अपेक्षा गरिएको थियो।
डिसेम्बरमा ईभी डेलिभरीमा तीव्र वृद्धि हुने अपेक्षा गरिएको थियो। किनकी बेइजिङले २०२६ मा कर प्रोत्साहन र अनुदान कटौती गर्न लागेकाले उपभोक्ताहरू त्यसअघि खरिद सम्पन्न गर्न हतारिने अनुमान थियो। तर, प्रारम्भिक नतिजाहरूले बिक्री कार निर्माता र विश्लेषकहरूको पूर्वानुमानभन्दा निकै कम रहेको देखाएका छ।
चाइना प्यासेन्जर कार एसोसिएसनका अनुसार डिसेम्बर १ देखि २८ सम्म ईभी र प्लगइन हाइब्रिड गाडीको बिक्री ११ लाख ९० हजार (१.१९ मिलियन) युनिट भएको छ। जुन वार्षिक रूपमा ५ प्रतिशत मात्र बढी हो। मूल्य कटौतीका कारण विश्लेषकले ३० प्रतिशत वृद्धिको अनुमान गरेका थिए। तुलनात्मक रूपमा २०२४ को अन्तिम महिनामा ईभीको बिक्री ३२.२ प्रतिशतले बढेर १४.६ लाख युनिट पुगेको थियो।
चीनमा डिसेम्बर ३१ सम्म १० प्रतिशत सवारी खरिद कर छुट थियो। जनवरी १ देखि २०२७ को अन्त्यसम्म यो कर ५ प्रतिशत तोकिएको छ। सन् २०२८ देखि पुनः १० प्रतिशत पुग्नेछ। यस योजनाअन्तर्गत पेट्रोल वा विद्युतीय कार साटेर नयाँ सवारी खरिद गर्ने उपभोक्ताले प्रतियुनिट अधिकतम २० हजार युआन (२,८५८ अमेरिकी डलर) नगद अनुदान पाउन सक्छन्।
चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र अर्थ मन्त्रालयद्वारा संयुक्त रूपमा जारी परिपत्रअनुसार, ईभी खरिदकर्ताले नयाँ कारको मूल्यको १२ प्रतिशत बराबरको ‘सब्सिडी’ पाउनेछन्। जुन अधिकतम २० हजार युआनमा सीमित हुनेछ। पेट्रोल कार खरिदकर्ताले १० प्रतिशत सब्सिडी पाउने छन्। उनीहरुले अधिकतम १५ हजार युआन पाउने छन्। यसअघि यो अनुदान रकम निश्चित थियो। अब प्रतिशतमा आधारित भएकाले सस्ता मोडल किन्नेहरूले गत वर्षको तुलनामा कम सहयोग पाउने छन्।
ड्युच बैंकका विश्लेषक वाङ बिनका अनुसार, परिमार्जित अनुदान संयन्त्रले बिवाईडी, लिपमोटर, जिलीजस्ता कम मूल्यका गाडी निर्माताहरूलाई प्रभाव पर्ने बताएका छन्। ड्युच बैंकले २०२६ मा चीनको प्यासेन्जर कार बिक्री ५ प्रतिशतले घट्ने अनुमान गरेको छ।
बेइजिङले मे महिनाको अन्त्यतिर आक्रामक छुटको नेतृत्व गर्ने कार निर्मातालाई कारबाही गर्ने चेतावनी दिएको थियो।
सन् २०२५ मा चीनको ईभी बादशाह बिवाईडीले ४.६ मिलियन सवारी बिक्री ग¥यो। जुन वार्षिक रुपमा ७.७ प्रतिशत बढी हो। भने सन् २०२० यताकै सबैभन्दा सुस्त वृद्धि हो।
सांघाईस्थित कन्सल्टेन्सी ‘सुओलेई’का सिनियर म्यानेजर एरिक हान भन्छन्, ‘बजार हिस्सा जोगाउन कार निर्माता विशेषगरी ईभी निर्माताबीच यस वर्ष पनि फेरि मूल्य कटौतीमा प्रतिस्पर्धामा उत्रिनु लगभग अपरिहार्य देखिन्छ।’
बेइजिङले मे महिनाको अन्त्यतिर आक्रामक छुटको नेतृत्व गर्ने कार निर्मातालाई कारबाही गर्ने चेतावनी दिएको थियो। यस चेतावनीपछि प्रमुख कम्पनीहरूले ठूलो मूल्य कटौती र ऋण सहुलियतहरू कम गरेका थिए।
तथापि, विश्लेषकका अनुसार उद्योग एकीकरण तीव्र हुनेछ। ओभरक्यापासिटी र सरकारी सहयोगमा कमी आएका कारण आगामी पाँच वर्षमा करिब ५० वटा घाटामा रहेका ईभी निर्माताहरू बन्द हुन वा खुम्चिन बाध्य हुन सक्छन्।