काठमाडौं । चालु आर्थिक वर्षमा बिजुली उत्पादनमा लिएको लक्ष्य पुरा नहुने सरकारले स्वीकार गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणमा ल्याउन गरिएको बन्दावन्दी (लकडाउन) का कारण जलविद्युत आयोजनाहरुको काम ठप्प भएपछि लक्ष्यमा लिएको योजना पुरा नहुने अवस्था आएको ऊर्जासचिव दिनेशकुमार घिमिरेले बताए ।
उनले यो वर्ष पुरा नभएका आयोजनाहरु आगामी आर्थिक वर्षको लक्ष्यमा राखिने स्पष्टपारे । ‘धेरै आयोजना पुरा हुने अवस्थामा थिए, तर लकडाउनले गर्दा सम्पन्न हुन सकेनन’ उनले भने ‘बाँकी रहेका आयोजना आगामी वर्ष पुरा हुने छन ।’
सरकारले चालु आर्थिक वर्षमा १ हजार मेगावाट बिजुली थप गरेर जडित क्षमता २ हजार २०० मेगावाट पुर्याउने लक्ष्य लिएको छ । हालसम्म सार्वजनिक र निजी क्षेत्रबाट गरी १२३ मेगावाट बिजुली थप भएको छ ।
निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, ४२ मेगावाटका मिस्त्रीखोला, २५ मेगावाटको दोर्दीखोला,२० मेगावाटको तल्लोमोदी, २५ मेगावाटको सिङटीखोला, ११.८ मेगावाटको नमार्जुन मादी, ३० मेगावाटको न्यादी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र २७ मेगावाटको दोर्दीखोलालगायत २२ आयोजना सम्पन्न हुने अवस्थामा पुगेका थिए ।
आगामी असारसम्म पुरा हुने ९५ प्रतिशत काम सकिएका आयोजना पनि लकडाउनले गर्दा पछि धकेलिएका छन । सरकारले लिएका आयोजनाहरु पुरा नहुने भएपछि नेपाल विद्युत प्राधिकरणले यो वर्ष ३८७ मेगावाट मात्र पुरा हुने अनुमान दिएको थियो ।
त्यो मध्य माथिल्लो तामाकोसीबाट एउटा युनिटबाट ७६ मेगावाट बिजुली उत्पादनको लक्ष्य थियो । प्राधिकरणको पछल्लो संशोधित अनुमान पनि लकडाउनले पुरा नहुने बनाएको छ ।
लकडाउनअघि ९५ प्रतिशत काम सकिएका २१५ मेगावाट बिजुली थप हुने अवस्था थियो । न्युनतम ५० देखि ९५ प्रतिशतसम्म काम सकिएका १ हजार ५०० आयोजना रहेको छन । ८० देखि ९४ प्रतिशत काम सकिएका ९३० मेगावाट र ५० देखि ७९ प्रतिशत काम पुरा भएका २४७ मेगावाट रहेको छन ।
लकडाउनका कारण आयोजनाहरुको काम ठप्प भएपछि सरकारले अनुमतिपत्र (लाइसेन्स)को म्याद थप गर्ने सचिव अधिकारीले जानकारी दिए । असरको अध्ययन गरेर म्याद थप गरिने उनले स्पष्टपारे ।
यस्तै विद्युत प्राधिकरणले पनि व्यवसायिक बिजुली उत्पादन मिति (आरसीओडी) को समय थप गर्ने भएको छ । लकडाउनले आयोजनाहरुको काम ठप्प भएपछि आरसीओडीको म्याद थप हुन लागेको हो ।
लकडाउनको प्रभाव हेरेर आरसीओडीको म्याद चाँडै थप्ने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन । उनले लकडाउन खुलेपछि प्रभाव हेरेर लगानीकर्तासंगको छलफलपछि आरसीओडीको म्याद थपको निर्णय गर्ने उनले स्पष्ट पारेका छन ।
यस्तै प्रसारण लाइनतिर सोलु करिडोर १३२ केभी, २२० केभी कालिगण्डकी करिडोर, २२० केभीको दोर्दीकरिडोर, २२० केभी हेटौडादेखि नवलपरासीको वर्दघाट,१३२ केभीको सिंङटीदेखि लामोसाँघु र काठमाडौंदेखि मस्र्याङदीसम्मको प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेर रोकिएका छन । सार्वजनिक लगानीमा निर्माणधिन माथिल्लो तामाकोसी, सान्जेन र रसुवागढी आयोजनाको निर्माण भइरहेको छ ।
साउनयता सार्वजनिक र निजी लगानीका एक दर्जन बढी आयोजना सम्पन्न भई प्रणालीमा १२३ मेगावाट बिजुली थप भएको छ । विद्युत प्राधिकरणको लागानीमा १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना सम्पन्न भएको छ ।
यस्तै निजी क्षेत्रबाट २५ मेगावाटको कावेली बी–१, २२ मेगावाटको तल्लो हेवाखोला, ९.९ मेगावाटको इवाखोला, ७ मेगावाटको अपर मार्दीखोला, ८ मेगावाटको माथिल्लो नौगाड, २३.५ मेगावाटको सोलुखोलालगायत एक दर्जन आयोजनाहरु छन ।