काठमाडौं। सन् २०२५ मा भारतीय अटो बजारमा २३ लाख (२.३ मिलियन) युनिट विद्युतीय सवारी साधन (ईभी) बिक्री भएको छ। इन्डिया इनर्जी स्टोरेज एलायन्सले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार गत वर्ष भारतमा कुल २३ लाख (२.३ मिलियन) युनिट ईभी बिक्री भएका थिए। यो संख्या भारतमा दर्ता भएका कुल नयाँ सवारी साधनको ८ प्रतिशत हिस्सा हो।
भारतको अटोमोबाइल बजारमा सन् २०२५ मा २ करोड ८२ लाख सवारीसाधन दर्ता भएका थिए। यसमा दुई पांग्रे सवारीसाधनको वर्चस्व कायम रह्यो। कुल विद्युतीय सवारी बिक्रीमा दुईपांग्रे सवारी साधनको हिस्सा सबैभन्दा बढी देखिएको छ।
२०२५ मा दुई सवारीसाधन ईभी र इन्धन दुवै गरी २ करोड युनिटभन्दा बढी बिक्री भएका छन्। कुल बिक्रीमा ७२ प्रतिशत हिस्सा बाइक तथा स्कुटरको छ। प्यासेन्जर सेग्मेन्टका गाडी ४४ लाख युनिटभन्दा बढी बिक्री भएको छ।
इन्डिया इनर्जीको प्रतिवेदनअनुसार वर्षको पहिलो तीन त्रैमासिकमा बिक्री दर स्थिर रहे पनि चौथो त्रैमासिकमा उल्लेख्य वृद्धि भएको थियो। यस वृद्धिका पछाडि सरकारले दिएका विभिन्न सहुलियत र अनुदान, चाडपर्व प्रभाव, विद्युतीय सवारीमा उपलब्ध गराइएको कर सहुलियत रहेका छन्।
कुल बिक्रीमा दुईपांग्रेको हिस्सा ५७ प्रतिशत
भारतीय बजारमा विद्युतीय दुईपांग्रे सवारीसाधन ईभी अपनाउने क्रमलाई निरन्तरता दिएको छ। एक वर्षको अवधिमा दुई पांग्रे ईभी १२ लाख ८० हजार (१.२८ मिलिएन) युनिट बिक्री भएको छ। जुन कुल ईभी बिक्रीको ५७ प्रतिशत हो। तीन पांग्रे सवारीसाधनले ३५ प्रतिशत हिस्सा ओगटेका छन्। एक वर्षमा मात्र विद्युतीय चार पांग्रे सवारी साधनहरूले १ लाख ७५ हजार युनिट बिक्री रेकर्ड गरेका छन्।
भारतबाट दुई पांग्रे सवारीसाधन ठुलो मात्रामा नेपाली बजारमा भित्रिने गरेको छ। नेपाली बजारमा टिभिएस, बजाज, एथरलगायतका दुई पांग्रे ब्रान्डका ईभी तथा इन्धन सवारीसाधन आउने गरेका छन्।
सन् २०२५ मा भारतीय बजारमा टिभिएस अग्रणी बनेको छ भने ओलाको बिक्री तीव्र रूपमा घटेको छ। टिभिएस सन् २०२५ मा नेपाली बजारमा भने दोस्रो स्थानमा रहेको छ। टिभिएस मोटरले भारतीय बजारमा ३ लाखभन्दा बढी बिक्रीसहित ३०.५ प्रतिशत वृद्धिका साथ बजारको शीर्ष स्थानमा रहेको छ।
दोस्रो स्थानमा बजाज अटो रहेको छ। बजाजको चेतक नेपाली बजारमा पनि लोकप्रिय बनेको छ। तेस्रो स्थानमा इलेक्ट्रिक कम्पनी एथर रहेको छ, जसले ७२.८ प्रतिशतको बलियो बिक्री वृद्धि हासिल गरेको छ र अझै पनि ४० प्रतिशत उत्पादन क्षमता प्रयोग नभएको अवस्था छ।
चौथो स्थानमा ओला ईभी रहेको छ, जसको शेयर बजारमा सूचीकृत भएको एक वर्षमै बिक्री ४८.७ प्रतिशतले घट्दै गम्भीर संकटमा परेको छ। पाँचौँ स्थानमा हिरो रहेको छ।
चार पांग्रेको ईभीको बिक्री
सन् २०२५ मा भारतीय बजारमा प्यासेन्जर सेग्मेन्ट ईभी गाडी १ लाख ७६ हजारभन्दा बढी बिक्री भई उच्च रेकर्ड कायम गरेको छ। यो बिक्री २०२४ को तुलनामा ७७ प्रतिशतले बढी हो। २०२५ मा विभिन्न क्षेत्रहरूमा वर्षभरि प्रस्तुत गरिएका सबै नयाँ मोडेलहरूको ४० प्रतिशतभन्दा बढी ईभीले ओगटेका छन्।
टाटा मोटर्सले २०२५ मा भारतको सबैभन्दा ठूलो ईभी निर्माताको रूपमा आफ्नो स्थान कायम राख्यो। यस अवधिमा कम्पनीले ७० हजारभन्दा बढी युनिट बिक्री गरी शिर्ष स्थानमा रहेको छ। २०२४ मा ६१ हजार ७९९ युनिट बिक्री भएको टाटा २०२५ मा यसको बिक्री १३ प्रतिशतले बढेर ७० हजार बढी भएको हो।
दोस्रो स्थानमा एमजी मोटर्स रहेको छ। २०२४ मा २१ हजार ८१४ युनिट बिक्री भएको थियो यस्तो बिक्री २०२५ मा ५१ हजार ३८७ युनिट भएको छ। महिन्द्रा ३३ हजार ५१३ युनिट ईभी बिक्री गरी तेस्रो स्थानमा उक्लियो। २०२४ मा महिन्द्राले ७ हजार १३९ यु्निट बिक्री गरेको थियो। २०२५ मा महिन्द्राले बिई–६ र एक्सईभी–९ सार्वजनिक गर्याे। यसले महिन्द्रा ईभीको बिक्री ह्वातै बढेको हो।
ईभी बिक्रीको चौथो स्थानमा हुन्डाई रहेको छ। २०२५ मा हुन्डाई ईभी ६ हजार ७२६ युनिट बिक्री भएको छ। कम्पनीले जनवरी २०२५ मा क्रेटा ईभी सार्वजनिक गरेको थियो। भारतीय बजारमा यसयुभी सेग्मेन्टमा धेरै बिक्री हुने मोडल क्रेटा ईभी हो।