काठमाडौं। पछिल्लो समय दुई पांग्रे विद्युतीय सवारी साधन (ईभी)प्रति ग्राहकको आकर्षण बढ्दै जाँदा पुराना र स्थापित ब्रान्डहरु धमाधम ईभी उत्पादन गर्न थालेका छन्। लामो समयदेखि इन्धन दुई पांग्रे बाइक तथा स्कुटर उत्पादन गर्दै आएका पुराना र स्थापित ब्राण्डहरूसमेत ईभी उत्पादनमा सिफ्ट भएका हुन्।
लामो समयदेखि इन्धन दुई पांग्रे ईभी उत्पादन गर्दै आएका लगभग सबै पुराना र स्थापित ब्रान्डले अहिले ईभी उत्पादन सुरु गरिसकेका छन्। उत्पादनसँगै धेरै नयाँ ब्रान्डका ईभी भने बन्द पनि भइसकेका छन्। दुई पांग्रे ईभी उत्पादन बन्द हुने क्रमले देखाएको छ कि ईभीमा रूपान्तरण सहज छैन। पुराना ब्रान्डका लागि यो अवसरसँगै ठूलो चुनौती पनि हो।
ईभीलाई दिएको सरकारी प्रोत्साहन र उपभोक्ताको चासोलाई मध्यनजर गर्दै यसअघि हिरो, टिभीएसलगायतका पुराना ब्राण्डले ईभी बाइक तथा स्कुटर उत्पादन पहिलेदेखि गर्दै आए पनि यामाहा होण्डा, बजाज, सुजुकी जस्ता पुराना ब्रान्डले ईभीमा हात हालेका थिएनन्। तर, गत वर्ष होण्डा, सुजुकी र बजाज जस्ता स्थापित कम्पनीले पनि ईभी स्कुटर उत्पादन गरे।
यामाहाले भने ईभी उत्पादन गरेको थिएन्। तर, अहिले यामाहाले पनि भारतीय बजारमा ईभी उत्पादन सुरु गरिसकेको छ। दिनप्रति दिन दुई पांग्रे ईभीको हिस्सा बढ्दै जाँदा र नयाँ ब्रान्डका ईभी आउँदा उपभोक्ताको विश्वास जित्न सफल पुराना ब्राण्डहरू पनि विद्युतीय प्रविधिमा आधारित बाइक र स्कुटर उत्पादन गर्न बाध्य भएका हुन्।
कुन-कुन मोडल बन्द भए?
दुई पांग्रे पुराना इन्धन ब्रान्डहरूले ईभीलाई भविष्यको सवारी साधनका रूपमा लिएर सबैले उत्पादन गरेका छन्। कम्पनीले भविष्यको रुपमा ईभीलाई अघि सारे पनि अपेक्षा गरेजस्तो सहज यात्रा भने देखिएको छैन।
उक्त मोडलका ईभी ६ महिनामै बन्द भएको खबरले दुई पांग्रे ईभी बजारलाई झस्काएको छ
बजारमा प्रवेश गरेको छोटो समयमै कतिपय प्रतिष्ठित ब्रान्डका ईभी मोडलहरूको उत्पादन बन्द भइसकेका छन्। त्यो बन्द हुनेमा होण्डा एक्टिभा ई र क्युसी १ र हिरोको पर्छन्। यी स्थापित ब्रान्डका ईभी मोडलको उत्पादन बन्द हुनु आफैँमा चुनौतीको विषय हो।
पुराना ब्रान्डमध्ये सुरुमा ईभी स्कुटर उत्पादन थाल्ने भारतीय ब्रान्डमध्येको एक हिरो इलेक्ट्रिक हो। भीडा मोडलबाट ईभीको उत्पादन सुरु गरे पनि केही समस्याका कारण कम्पनीले उक्त उत्पादन बन्द गरेको हो। त्यसपछि होन्डाले गत फेब्रुअरीमा लन्च गरेका दुई नयाँ इलेक्ट्रिक स्कुटर एक्टिभा ई र क्यूसी१ को उत्पादन पनि बन्द भइसकेको छ।
उक्त मोडलका ईभी ६ महिनामै बन्द भएको खबरले दुई पांग्रे ईभी बजारलाई झस्काएको छ। दशकौँदेखि विश्व बजारमा विश्वासिलो ब्रान्डको पहिचान बनाएको होन्डा जस्तो कम्पनीका लागि पनि ईभी क्षेत्रमा टिक्न गाह्रो भइरहेको संकेत यसले दिएको छ।
भारतीय बजारमा बलियो पकड बनाएको हिरो मोटोकर्प र होण्डा जस्ता स्थापित ब्रान्डले आफ्ना केही इलेक्ट्रिक स्कुटरहरूको उत्पादन बन्द गरिसकेको छ। बजारमा पछिल्ला वर्षहरूमा आएका नयाँ-नयाँ ईभी कम्पनीहरू बन्द हुने क्रम त निरन्तर नै देखिन्छ। धेरै नयाँ कम्पनी खुल्ने र बन्द हुने भइरहेका छन्।
यी घटनाक्रमले एउटा गहिरो प्रश्न उठाएको छ पुराना ब्रान्ड छविमा बलिया कम्पनीहरू ईभीमा टिक्न सकिरहेका छैनन् भने भर्खरै ईभी उत्पादन थालेका अन्य स्थापित ब्रान्डहरूको भविष्य कति सुरक्षित छ? भन्ने कुराले कम्पनीहरुलाई सोच्न बाध्य बनाएको छ।
उपभोक्ता अझै पनि ईभी किन्नुअघि हिच्किचाइरहेका छन्। ब्याट्रीको आयु, रिप्लेसमेन्ट खर्च, चार्जिङ स्टेशनको अभाव, पुनः बिक्री मूल्य र लामो यात्रामा प्रयोग गर्न नसकिने जस्ता प्रश्नहरू उपभोक्ताका लागि मुख्य चिन्ताका विषय बनेका छन्। ठूला ब्रान्डको नामले केही भरोसा दिलाए पनि, उत्पादन अपेक्षा अनुसार नबिक्दा कम्पनीहरूले घाटा व्यहोर्नु परेको अवस्था छ।
इन्धन स्कुटरको तुलनामा इलेक्ट्रिक स्कुटर अझै पनि महँगो छ। नयाँ स्टार्टअपहरूले आक्रामक मूल्य, आकर्षक फिचर र आधुनिक डिजाइनसहित बजारमा प्रवेश गर्दा परम्परागत ब्रान्डहरू दबाबमा परेका छन्। तर, ती नयाँ कम्पनीहरू आफैं पनि दीर्घकालीन रूपमा टिक्न सकेका छैनन्।
पुँजी अभाव, उत्पादन लागत, सीमित बिक्री र सेवा सुविधाको कमजोरीले धेरै ईभी स्टार्टअपहरू बन्द हुन बाध्य भएका छन्। यसले समग्र ईभी बजारप्रतिको उपभोक्ता विश्वासमा समेत असर पारेको छ।